ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ब्याजदर घट्यो, बढेन नयाँ कर्जा प्रवाह

ऋणी तान्न ब्याजदरमा छूटको प्रतिस्पर्धा

२०७७ सावन, २०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

काठमाडौं । बन्दाबन्दी अन्त्य भएको करीब २ साता बितिसक्दा पनि बैंकबाट प्रवाह हुने नयाँ कर्जा बढ्न सकेको छैन । बैंकहरूले कर्जाको ब्याजदर घटाए पनि बैंकमा नयाँ कर्जा लिन ऋणीहरू खासै नआएको बैंकरहरू बताउँछन् ।

वाणिज्य बैंकहरूबाट गत असारमा थप ८६ अर्ब रुपैयाँको कर्जा प्रवाह भए पनि साउनको १६ दिनमा ३६ अर्ब ९५ करोड रुपैयाँमात्रै कर्जा प्रवाह भएको छ । गत असारसम्म २७ ओटा वाणिज्य बैंकबाट प्रवाहित कर्जाको उठ्न बाँकी रकम रू. २९ खर्ब ३ अर्ब रहेको छ । साउन १६ गतेसम्ममा यस्तो कर्जा २८ खर्ब ६६ अर्ब ५ करोड रुपैयाँ छ ।

थप कर्जा प्रवाह हुन नसक्दा वाणिज्य बैंकको कर्जा वैशाख र जेठमा ऋणात्मक देखिएको थियो । गत वैशाखमा कुल कर्जामा १६ अर्ब रुपैयाँले ऋणात्मक भएको थियो । गत जेठमा भने कुल कर्जामा १३ अर्ब रुपैयाँले नकारात्मक भएको थियो ।

बैंकबाट प्रवाहित कर्जामा संकुचन भए पनि निक्षेप भने बढेको छ । असारमा वाणिज्य बैंकहरूले १ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए भने साउन १६ सम्ममा थप ४९ करोड रुपैयाँ मात्र थप निक्षेप संकलन भएको छ । वैशाख मसान्तमा कुल निक्षेप ३२ खर्ब १९ अर्ब रुपैयाँ पुगेकोमा जेठमा बढेर ३२ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको थियो ।

पछिल्लो समय कर्जा प्रवाह बढाउन बैंकहरूले ब्याजदर घटाए र छूटसमेत दिए । बैंकहरूले असारदेखि एकल अंकमा आधार दर लागू गर्दा कर्जाको ब्याजदर करीब २ प्रतिशतको हाराहारीमा घटाएका थिए । कोभिडबाट प्रभावितलाई राहतस्वरूप कर्जाको ब्याजमा छूटको स्किमसमेत ल्याएका छन् । यसो गर्दा पनि अपेक्षा गरेअनुसारको नयाँ कर्जा थप हुन नसकेको बैंकरहरू बताउँछन् ।

सबै व्यवसाय पहिलाकै अवस्थामा नआइसकेकाले बजारमा कर्जाको माग अपेक्षाअनुसार बढ्न नसकेको ग्लोबल आईएमई बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल बताउँछन् । ‘बरु असारमा कर्जा प्रवाहमा अलिकति सुधार भएको थियो । तर, अहिले कर्जा वृद्धि ऋणात्मक छ । चाडपर्व आएपछि कर्जाको माग हुने अपेक्षा गरेका छौं,’ उनले भने । कर्जाको ब्याज घटाएर ऋणी तानातान गर्ने प्रतिस्पर्धा देखिएको उनको भनाइ छ ।

अधिकांश व्यवसायको कर्जाको किस्ता, साँवा तथा ब्याज तिरेकाले थपिएको र पुरानै कर्जा नवीकरण हुने गरेको तर नयाँ कर्जाको माग खासै नभएको नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले बताए । उनले भने, ‘अब दशैं नजिकिँदै छ । अलिअलि प्रतीतपत्र (एलसी) खुलिरहेको छ । यसैले एलसीको भुक्तानी गर्ने बेलामा पनि नयाँ कर्जा प्रवाहको स्थिति बढ्ने देखिन्छ ।’

पछिल्लो समय आयात कम भएको, असारमसान्तसम्म किस्ता, साँवा, ब्याज दिनुपर्ने र अभैm नयाँ कर्जा प्रवाह नभइसकेको कारणले वाणिज्य बैंकको कर्जा स्थिति ऋणात्मक रहेको अध्यक्ष दाहालले बताए ।

बैंक तथा वित्तीय संस्थामा निक्षेप थुप्रिरहँदा थप कर्जा प्रवाह नभएकाले बजारमा अधिक तरलताको स्थिति छ । करीब २ सय अर्बको तरलता अधिक हुने गरेको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्ट बताउँछन् । बैंकहरूलाई थप कर्जा प्रवाह गर्न सहज बनाउन ८० प्रतिशतको कर्जा–पूँजी–निक्षेप अनुपात (सीसीडी) बढाएर ८५ प्रतिशतसम्म पुर्‍याइयो । तर, कर्जाको माग न्यून हुँदा सीसीडी खुकुलो भएर औसत ७२ दशमलव शून्य ५ प्रतिशतमा रहेको बैंकर्स संघको तथ्यांकमा उल्लेख छ । सीसीडी खुकुलो अवस्थामा रहँदा बजारमा अधिक तरलताको स्थिति भएको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)