ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कालीगण्डकीको खोँचमा स्काई साइक्लिङ शुरु

२०७७ सावन, २१  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी

पर्वत । कालीगण्डकी नदीको खोँचमा रहेको भीरमा स्काई साइक्लिङ शुरू गरिएको छ । द क्लिफ प्रालिले कालीगण्डकीको खोँचमा डोरीमा साइकल चलाउने प्रविधिको साहसिक खेल शुरू गरेको हो । एशियाकै नमूना बञ्जीजम्प सञ्चालन गरेको उक्त कम्पनीले शुरू गरेको स्काई साइक्लिङमा रमाउनेहरूले भीड लाग्न थालेको छ ।

पर्वत–बागलुङ बञ्जीजम्पमा लगानी गरेका युवाले स्काई साइक्लिङ शुरू गरेका हुन् । स्टिल कोर केबल प्रयोग गरी स्काई साइक्लिङ तयार गरेको हो । बागलुङको बलेवा र पर्वतको कुश्माबीच कालीगण्डकी खोँचमा निर्माण गरिएको स्काई साइक्लिङको उचाइ २२८ मिटर छ भने लम्बाइ ३०० मिटर छ ।

उक्त रूटमा एकपटकमा दुई जनाले साइक्लिङ गर्न मिल्ने द क्लिफ प्रालिका अध्यक्ष राजु कार्कीले बताए । अन्तरराष्ट्रिय मापदण्ड अनुसार स्काई साइक्लिङ तयार गरिएको र सञ्चालनमा सुरक्षा सावधानीको उच्च सतर्कता अपनाइने कार्कीले जानकारी दिए । ‘साइक्लिङका लागि आवश्यक साइकल र अन्य सुरक्षा उपकरण कम्पनीले नै प्रदान गर्नेछ,’ कार्कीले भने, ‘साइकल र यात्री दुवैलाई सुरक्षा डोरीले अड्काइएको हुन्छ । लिकमा रेल गुडेझैं फिक्स ह्याण्डल भएको साइकललाई डोरीमा कुदाइन्छ ।’

विश्वकै दोस्रो अग्लो बन्जी, विश्वकै अग्लो स्विङ, गुलेली शैलीको नेपालकै नमूना पिङ समेत निर्माण गरेको दाबी गरेको कम्पनीले सो क्षेत्रलाई ‘एड्भेञ्चर हब’को रूपमा विकास गर्ने योजना रहेको र भविष्यमा अन्य गतिविधि समेत थपिने बताएको छ । कम्पनीका प्रतिनिधि युवराज जोशीले कोरोनाका कारण बञ्जीजम्प आशिंक रूपमा मात्र खुला भएको जानकारी दिए ।

बञ्जीजम्प पूर्ण रूपमा सञ्चालनमा आएपछि पर्वतमा पर्यटकको भीड लाग्ने अपेक्षा गरिएको जोशीले बताए । उनका अनुसार बञ्जीजम्प, स्काई साइक्लिङ, गुलेली पीङ, रिसोर्ट लगायत संरचनामा २५ करोड रुपैयाँ लगानी गरिएको छ । यहाँका सबै साहसिक खेल खेल्दा पर्यटकले कम्तीमा १० हजारदेखि १५ हजार रुपैयाँसम्म खर्चने अनुमान छ । पोखरा र काठमाडौंबाट १ दिनदेखि ५ दिनसम्मको प्याकेजमा पर्यटक भित्र्याउन व्यवस्थापनको तयारी गरिएको छ । पोखरामा कार्यालय समेत खोलेर सम्पर्क बढाइएको कम्पनीले बताएको छ । यहाँ साहसिक खेल खेल्न आउने पर्यटक वर्षेनि २० हजारभन्दा बढी थपिने पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदार शर्माको अनुमान छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)