ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अलैंची निकासी : भारतीय भन्सारको बढी मूल्यांकनले किसान मर्कामा

२०७७ सावन, २१  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । पश्चिम बंगालको पानीटंकीस्थित भारतीय भन्सारले अलैंचीको मूल्यांकन बजार मूल्यभन्दा बढी गरेकाले भारत हुँदै तेस्रो मुलुक निकासी हुने अलैंचीमा किसानहरू मर्कामा परेका छन् ।

नेपाली बजारमा अलैंचीको मूल्य प्रतिकिलो ५५० रुपैयाँ रहे पनि भारतीय भन्सारले ५ सय भारू अर्थात् ८ सय रुपैयाँ नेपाली कायम गरेपछि किसानहरू समस्यामा परेका हुन् । नेपालको बजार मूल्यभन्दा २५० रुपैयाँ बढी मूल्यांकन हुँदा नेपाली किसानहरूले बढी जीएसटी तिर्नुपरेको अलैंची उत्पादक संघका अध्यक्ष राजकुमार कार्कीले बताए ।

उनका अनुसार नेपाली किसानहरूले जीएसटीबापत प्रतिकिलो १५ देखि २० रुपैयाँ बेहोर्नुपर्ने अवस्था आएको छ । भारतीय व्यापारीले अलैंचीबापत लाग्ने जीएसटी रकम नेपालीलाई तिर्न लगाएका छन् । कार्कीका अनुसार अलैंचीको भुक्तानी गर्दा भारतीय व्यापारीले जीएसटी कटाएर भुक्तानी गर्दा किसानहरू मर्कामा परेका हुन् ।

पश्चिम बंगालको सिलिगुडीबाट नेपालको अलैंची कोलकाता हुँदै अन्य मुलुकमा जाने गरेको छ । बन्दाबन्दीमा भारतको पानीटंकी नाका शिल गरिएका कारण ६० लाख किलो अलैंचीले बजार पाएको थिएन । २ महीना अघि नाका खुलेपछि अलैंचीको निकासीमा अन्य समस्या भने नभएको उनले बताए ।

कुनै बेला किसानले प्रतिमन (४० केजी) को १ लाख रुपैयाँ विक्री गरेको अलैंचीको मूल्य पछिल्लो समय निरन्तर ओरालो लागेको छ । ५ वर्षअघि प्रतिमन १ लाखका दरले विक्री भएको अलैंची हाल २० हजार प्रतिमनमा आइपुगेको छ ।

देशमै सबैभन्दा बढी अलैंची उत्पादन हुने जिल्ला इलाम हो । तर, यहाँ जति अलैंची उत्पादन बढ्दै गयो त्यति नै भाउ ओरालो लागेपछि किसान चिन्तित छन् । नगदेबालीमध्ये सबैभन्दा धेरै पैसा आउने अलैंची नै हो । तर, पछिल्लो समय निरन्तर भाउ घट्दा यसको खेती गरिरहेका किसानमा निराशा छाएको छ ।

‘अलैंचीको फसल तयार हुनै लाग्दा कोरोनाका कारण बजार नपाइएला भन्ने चिन्ता थपिएको छ,’ इलाम सन्दकपुरका किसान कोषराज खतिवडा भन्छन् ।

खोला, खोल्साका भीरपाखामा उत्पादन हुने अलैंचीलाई किसानले सबैभन्दा बढी आम्दानी दिने कालो सुनको खेतीको उपमा दिएका छन् ।  तर, भाउ निरन्तर ओरालो लागेपछि किसानहरू खेती गर्ने कि छाड्ने भन्ने दोधारमा पुगेको किसान खतिवडाले बताए ।

गत आर्थिक वर्ष २०७६/७७ मा मेची भन्सार कार्यालय काँकडभिट्टाबाट सबैभन्दा धेरै अलैंची निर्यात भएको छ । मेची भन्सारबाट ३ अर्ब ९० करोड ९२ लाख रुपैयाँ बराबरको अलैंची निर्यात भएको छ ।  अघिल्लो वर्ष ३ अर्ब ८२ करोड रुपैयाँको अलैंची निर्यात भएको थियो । कोरोनाको कारण मेची नाका र भारततर्पmको पानीटंकी नाका शिल हुँदा १५ प्रतिशत अलैंची निर्यात हुन बाँकी रहेको अलैंची व्यवसायी महासंघका महासचिव सुवास भट्टराईले जानकारी दिए ।

यो वर्ष चियाभन्दा बढी अलैंची निकासी भएको छ ।  मेची भन्सारबाट १ अर्ब ९४ करोड ७० लाख ५३ हजार १ सय ६० रुपैयाँको चिया निर्यात भएको छ । २ वर्षको तथ्यांक तुलना गर्दा मेची भन्सारबाट निकासीमा चियालाई अलैंचीले उछिनेको छ । आर्थिक वर्ष २०७४/७५ सम्ममा मेची भन्सारबाट सबैभन्दा धेरै निर्यात हुनेमा चिया थियो ।

नेपालबाट भारत, बंगालदेश र भुटान निर्यात हुने तेस्रो वस्तु मुसुरो दाल रहेको छ । मेची भन्सारबाट यो वर्ष ९१ करोड ३४ लाख ८३ हजार रुपैयाँ बराबरको मुसुरो निर्यात भएको छ । यस नाकाबाट आव २०७४/७५ मा १ अर्ब २४ करोड ३८ लाख रुपैयाँको दाल निर्यात भएको थियो । अघिल्ला वर्षहरूभन्दा यस वर्ष दालको निर्यात घटेको भन्सारको तथ्यांकले देखाएको छ ।

पूर्वी नाकाबाट बढी निर्यात हुने वस्तु अम्रिसोको कुचो रहेको छ । आव २०७६/७७ मा ४४ करोड ३ लाख १४ हजार रुपैयाँ बराबरको अम्रिसो निर्यात भएको छ । आव २०७४/७५ को तुलनामा गतवर्ष अम्रिसो निर्यात घटेको छ । अम्रिसो पहाडी भेगको नगदेबालीका रूपमा लिइन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)