धनगढी । गोदावरी नगरपालिकाका नगरप्रमुख हरिसिंह साउँदले स्थानीय स्तरमा सञ्चालित बैंक तथा वित्तीय संस्थाहरूले नगरपालिकालाई सहयोग गर्न आग्रह गरेका छन् । बुधवार नगरपालिकाभित्र सञ्चालित बैंक तथा वित्तीय संस्थाका शाखा प्रवन्धकहरूलाई बोलाएर उनले यस्तो आग्रह गरेका हुन् ।
नगरपालिकाभित्र दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएकाले पुनः लकडाउन गर्नुपर्ने अवस्था रहेको भन्दै नगरप्रमुख साउँदले त्यस्तो अवस्था आए सबै बैंक तथा वित्तीय संस्थाले आवश्यक सहयोग गर्नु पर्नेमा उनले जोड दिएका छन् ।
छलफलमा सहभागी बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरूले केन्द्रीय स्तरबाट संघ र प्रदेशस्तलाई आवश्यक सहयोग गरिसकिएको बताउँदै आफूहरूले केन्द्रीय कार्यालयको अनुमतिबिना थप संस्थागत सहयोग गर्न नसक्ने बताएका छन् । यसअघि संघ, प्रदेश एवं विभिन्न संघसंस्थाले गरेको सहयोग रकमको सही सदुपयोग नभएको नगरवासीको आरोप पनि छ ।
व्यक्तिगत रूपमा आफूहरू सहयोग गर्न तयार रहेको बताउँदै छलफलमा सहभागी शाखा प्रबन्धकहरूले संस्थागत रूपमा सहयोगका लागि केन्द्रको अनुमति चाहिने बताएका हुन् । तर, नगरप्रमुख साउँदले स्थानीय तहमा बैंक वित्तीय संस्था खोलिसकेपछि त्यसको सुरक्षाको जिम्मा पनि स्थानीय तहकै भएकाले जसरी पनि स्थानीय तहलाई सहयोग गर्नु पर्ने अडान राखेका छन् । उनले घुमाउरो पारामा सुरक्षा चुनौतीलाई इंगित गर्दै सहयोग गर्न भनेका छन् ।
छलफल कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले आफ्ना केन्द्रीय कार्यालयलाई आग्रह गरेर भए पनि सक्दो सहयोगको अपेक्षा गरेको बताए । ‘कोरोना कहर बढ्दै गएको छ, अहिलेकै अवस्थामा कोरोना संक्रमितको संख्या बढ्दै जाने हो भने पुनः लकडाउन गर्नु पर्ने देखिन्छ’, उनले भने ।
गोदावरी नगरपालिकाभित्र २ हजार ६८१ उद्योग व्यवसाय, १८ ओटा बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय सञ्चालनमा छन् । बैंक तथा वित्तीय संस्थाहरूले मात्र नभएर सहकारी र अन्य संघसंस्थाले पनि सक्दो सहयोग गर्नु पर्ने नगरप्रमुख साउँदको भनाइ छ ।
नगरपालिकाभित्र मंगलवार ५६ जना कोरोना संक्रमित थपिएसँगै कुल सक्रमितको संख्या ३९४ पुगेको छ । नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख वीरबहादुर कुँवरले १५ दिनका लागि भए पनि पुनः लकडाउन गर्नु पर्ने सुझाव दिएका छन् ।
समुदायस्तरसम्म कोरोना केहीहदसम्म फैलिसकेको बताउँदै उनले दुई साताका लागि भए पनि पुनः लकडाउनको विकल्प नभएको बताए । तर, नगरपालिकाले भने तत्काल लकडाउन गरे नगरवासीको दैनिक जीवनयापन नै कष्टर बन्ने भन्दै अहिले नै लकडाउन उपयुक्त नहुने बताउँदै आएको छ ।