ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महाकालीमा लक्ष्यभन्दा करीब १ अर्ब कम राजस्व संकलन

२०७७ सावन, २३  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मदन गिरी

महेन्द्रनगर । कञ्चनपुरस्थित आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले गत आर्थिक वर्षमा रू. २ अर्ब ६ करोड ९४ लाख ८ हजार राजस्व संकलन गरेको छ । साविकको महाकाली अञ्चल कार्यक्षेत्र रहेको महेन्द्रनगर राजस्व कार्यालयले आर्थिक वर्ष २०७६÷७७ मा उक्त राजस्व संकलन गरेको हो । आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरका कर अधिकृत विष्णुबहादुर रावतले गत आवमा रू. ३ अर्ब ६ करोड ६५ लाख ४७ हजार राजस्व संकलन गर्ने लक्ष्य लिइएकोमा करीब ६७ प्रतिशत राजस्व संकलन भएको बताए ।

उनका अनुसार राजस्व कार्यालयले गत आर्थिक वर्षमा आय करबाट ५३ करोड ४७ लाख २ हजार, मूल्य अभिवृद्धि करबाट ७४ करोड ६५ लाख ७३ हजार, अन्तःशुल्क करबाट ७३ करोड ७६ लाख ६४ हजार र ब्याजमार्फत १ करोड ४४ लाख १ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

त्यस्तै स्वास्थ्य सेवा करमार्फत ५९ हजार, शिक्षा कर ५ लाख ३९ हजार र घरबहाल कर ३ करोड ५४ लाख ७१ हजार रुपैयाँ संकलन गरेको राजस्व कार्यालयले मूल्य अभिवृद्धि कर लक्ष्यभन्दा ३ प्रतिशत बढी संकलन गरेको छ भने अन्य करमा लक्ष्य पूरा हुन सकेको छैन । आय कर ६७ प्रतिशत, घरबहाल कर ३५ प्रतिशत, ब्याज कर ४०, अन्तःशुल्क ५२ प्रतिशत र शिक्षा कर १२ प्रतिशत मात्रै संकलन भएको छ ।

‘कोरोना संक्रमण रोकथामका लागि गरिएको लकडाउनको कारण राजस्व संकलन प्रभावित भयो,’ कर अधिकृत रावतले भने, ‘गत आवमा उद्योगहरूले उत्पादन सप्लाई गर्न नसकेपछि न्यून अन्तःशुल्क कर संकलन भएको छ ।’

कार्यालयमा करदाताको भीड
आन्तरिक राजस्व कार्यालयमा कर दाताको भीड लागेको छ । लकडाउनपछि कार्यालयको काम शुरू भएसँगै करदाताहरू बढेका हुन् । कर कार्यालयमा विशेषगरी नयाँ फर्म दर्ता तथा नवीकरण गर्ने, व्यक्तिगत प्यान लिन आउने सेवाग्राही र मदिरा व्यवसायीको चाप बढेको छ ।

राजस्व विभागले साउनभित्र कर तिर्न परिपत्र गरेपछि मदिरा व्यवसायीको घुइँचो देखिएको कार्यालयका कर्मचारी बताउँछन् । साथै कार्यात्रलयमा दरबन्दी अनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको कर अधिकृत रावतले बताए । तीनजना कर अधिकृतको दरबन्दी रहेको सेवा शाखामा उनी एकजना मात्र कार्यरत छन् । समयमै सेवा प्रवाह नहुँदा सेवाग्राही लामो समयसम्म लाइनमा बस्न बाध्य भएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)