ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

२०२० मा नेपाल आउने विप्रेषण २९% ले घट्ने : एडीबी

कोरोना महामारीका कारण विप्रेषण आप्रवाह उच्च दरले घट्ने पाँच एशियाली मुलुकमध्ये नेपाल एक

२०७७ सावन, २३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । कोरोना महामारीका कारण विश्व अर्थतन्त्रमा आएको संकुचनले नेपाललगायत एशियाली मुलुकहरूमा आउने विप्रेषण आप्रवाह उच्च दरले घट्ने एशियाली विकास बैंक (एडीबी) को पछिल्लो अध्ययनले देखाएको छ ।

सन् २०२० मा एशियाली मुलुकहरूमध्ये नेपालमा सबैभन्दा बढी झन्डै २९ प्रतिशतले भित्रने विप्रेषणमा गिरावट आउने एडीबीको आकलन छ ।

एडीबीको ‘कोभिड–१९ इम्प्याक्ट अन इन्टरनेशनल माइग्रेसन, रेमिटेन्सेस, एन्ड रिसिपियन्ट हाउस होल्ड इन डेभलपिङ एशिया’ नामक अध्ययनले यस्तो देखाएको हो । एडीबीको प्रक्षेपण आउनुअघि विश्व बैंकले सन् २०२० मा नेपाल आउने विप्रेषण १४ प्रतिशतले घट्ने अनुमान गरेको थियो ।

दक्षिण एशियाली मुलुकहरूमध्ये सबैभन्दा बढी कमी नेपाल भित्रने विप्रेषणमा हुने एडीबीको निचोड छ । बंगलादेश, पाकिस्तान, भारत, श्रीलंकाको विप्रेषण आप्रवाह क्रमशः २७ दशमलव ८ प्रतिशत, २६ दशमलव ८ प्रतिशत, २३ दशमलव ५ प्रतिशत तथा २१ दशमलव ९ प्रतिशतले घट्ने एडीबीको प्रक्षेपण छ ।

एडीबीका अनुसार कोरोना महामारीबाट सृजित विप्रेषण गिरावट ती देशमा बढी पर्ने देखिएको छ, जसको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) विप्रेषणको अंश उच्च छ । यस्ता मुलुकमा नेपाल तथा फिलिपिन्सजस्ता आप्रवासी कामदारका मुख्य स्रोत मुलुकहरू तथा टोंगा, सामोआ, ताजिकिस्तान, अर्मेनियालगायत पर्छन् ।

विप्रेषणको मुख्य स्रोत वैदेशिक रोजगारमा गएका कामदार रहेका तर कोरोना नियन्त्रण गर्न लगाइएको बन्दाबन्दीका कारण अधिकांश श्रम गन्तव्य मुलुकको अर्थतन्त्र प्रभावित भएको छ । श्रम गन्तव्यहरूमा कामदारले रोजगारी गुमाउँदा विप्रेषण आप्रवाहमा कमी आउने एडीबीको भनाइ छ ।

छुट्टीमा घर फर्किएका तथा नयाँ श्रम स्वीकृति लिई श्रम गन्तव्यमा जान तयार भएका कामदारहरूको रोजगारी गुम्ने खतरा रहेको एडीबीले बताएको छ । दक्षिण कोरिया तथा कतारजस्ता मुलुकले अर्काे सूचना नआएसम्मका नेपाली कामदार आफ्नो मुलुकमा प्रवेशमाथि बन्देज लगाएका छन् ।

एडीबीका अनुसार सन् २०२० मा विश्वव्यापी विप्रषेण १८ दशमलव ८ प्रतिशत अर्थात् १ खर्ब ८ अर्ब अमेरिकी डलरले घट्न सक्छ । यसमा पनि एशियामा आउने विपे्रषण ५४ अर्ब अमेरिकी डलरले कम हुने आकलन छ ।

दक्षिण एशियाको विप्रेषण आप्रवाहमा सबैभन्दा ठूलो गिरावट आउने एडीबीको प्रक्षेपण छ । सन् २०२० मा दक्षिण एशियामा विप्रेषण आप्रवाह २८ अर्ब ६० करोड डलरले घट्न सक्ने एडीबीको अध्ययनको आकलन छ ।

एडीबीले नेपाल आउने विप्रेषणमा उच्च कमी हुने आकलन गरिरहँदा नेपालका रेमिट कम्पनी तथा सरोकारवालाहरू सन् २०२० मा त्यसरी विप्रेषणमा कमी नआउने दाबी गर्छन् । सन् २०२० मा ८ प्रतिशतको हारहारीमा विप्रेषणमा कमी आउन सक्ने उनीहरूको आकलन छ । नेपालको सबैभन्दा ठूलो रेमिट कम्पनी आईएमई रेमिटका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले डिसेम्बर अन्त्यसम्म पुग्दा विप्रेषण आप्रवाहमा ७/८ प्रतिशतको गिरावट हुनसक्ने बताउँछन् । ‘कोरोना महामारीको अवस्था कस्तो हुन्छ भन्नेले आगामी दिनमा विप्रेषण आप्रवाहको आकार निर्धारण गर्नेछ । तर, ७/८ प्रतिशतभन्दा बढीले ह्रास हुँदैन जस्तो लाग्छ,’ पोखरेल भने ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता डा गुणाकर भट्टले भर्खरै सकिएको आर्थिक वर्ष (२०७६/७७) मा विप्रेषण आप्रवाहमा ठूलो कमी नदेखिएको बताए । तर, २०२० को अन्त्यसम्मको अवस्थालाई अहिल्यै विश्लेषण गर्न नसकिने उनको भनाइ छ । ‘एडीबीले एक किसिमको प्रक्षेपण गरेको हो,’ उनले भने ।

राष्ट्र बैंकको आँकडालाई आधार मान्दा सन् २०१९ मा ८ खर्ब ८३ अर्ब रुपैयाँ बराबरको विप्रषेण नेपाल भित्रिएको देखिन्छ । त्यस आधारमा एडीबीको प्रक्षेषण दृष्टिगत गर्ने हो भने सन् २०२० मा ६ खर्ब २९ अर्ब रुपैयाँ बराबरको विप्रेषण नेपाल भित्रने अनुमान गर्न सकिन्छ ।

सन् २०२० को पहिलो ५ महीनामा नै करीब ८ प्रतिशतले विप्रेषण घटेको देखिन्छ । २०१९ को पहिलो ५ महीनामा ३ खर्ब ५५ अर्ब रुपैयाँ विप्रेषण आएकोमा सन् २०२० को पहिलो ५ महीनामा भने ३ खर्ब २७ अर्ब रुपैयाँ विप्रेषण भित्रिएको देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)