ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

घट्यो नागरिक उड्डयन प्राधिकरणको बजेट : चार ठूला विमानस्थलका लागि २२.७७ अर्ब रुपैयाँ विनियोजन

२०७७ सावन, २५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । चालू आवका लागि अघिल्लो आर्थिक वर्र्षको तुलनामा कम आकारको बजेट पारित गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले यो वर्ष चार ठूला विमानस्थलका लागि २२ अर्ब ७७ करोड रुपैयाँ विनियोजन गरेको छ ।

कोरोना महामारीका कारण प्राधिकरणको बजेट गतवर्षको भन्दा ५ अर्ब ८५ रुपैयाँ करोड घटेको छ । प्राधिकरणले चालू आव २०७७/७८ का लागि ४१ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्राधिकरणले शुक्रवार सार्वजनिक गरेको चालू आवको बजेट र नीति तथा कार्यक्रममा नयाँ कार्यक्रमभन्दा निर्माणाधीन अन्तरराष्ट्रिय विमानस्थललाई प्राथमिकतामा राखेको छ । प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार विमानस्थल पूर्वाधारतर्फ प्राधिकरणले यस आर्थिक वर्षभित्रै गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने तथा पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । चार ठूला विमानस्थलका लागि विनियोजन गरिएको २२ अर्ब ७७ करोड रुपैयाँ अधिग्रहण गरेको जग्गाको मुआब्जा, भौतिक पूर्वाधार निर्माण तथा उपकरण खरीदमा खर्च हुनेछ ।

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका लागि यो वर्ष ६ अर्ब ४५ करोड रुपैयाँ विनियोजन गरिएको छ । यसमा जग्गा अधिग्रहण गर्न २ अर्ब १६ करोड रुपैयाँ, नयाँ टर्मिनल भवन तथा अन्य पूर्वाधारका लागि ३ अर्ब २८ करोड रुपैयाँ, उपकरणका लागि ६० करोड रुपैयाँ, अग्नि नियन्त्रण सवारीका लागि ४१ करोड रुपैयाँ र अन्य उपकरणका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । बन्दाबन्दीका कारण कार्यमा केही सुस्तता आए पनि हाल गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको विमानस्थलको भौतिक प्रगति ९१ प्रतिशत पुगेको प्राधिकरणले बताएको छ ।

पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलका लागि ११ अर्ब ३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । यसमा जग्गा अधिग्रहणका लागि ७८ करोड रुपैयाँ, टर्मिनल भवन तथा धावनमार्ग निर्माणका लागि १० अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । प्राधिकरणका अनुसार पोखरा अन्तरराष्ट्रिय विमानस्थलको भौतिक प्रगति ६१ प्रतिशत पुगेको छ ।

त्यस्तै, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका लागि यो वर्ष ५ अर्ब १ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । यसमा धावनमार्गको उत्तरतर्फ एप्रोन तथा समानान्तर ट्याक्सी वे निर्माणका लागि १ अर्ब ९१ करोड रुपैयाँ, दक्षिणतर्पm प्यारालाल ट्याक्सी वे निर्माणको लागि १ अर्ब ४६ करोड रुपैयाँ, टर्मिनल भवनका लागि ४० करोड रुपैयाँ, बुटिक विमानस्थलका लागि २८ करोड रुपैयाँ र जग्गा अधिग्रहण मुआब्जा वितरणका लागि ८० करोड रुपैयाँ विनियोजन गरिएको छ । उपकरणका लागि ५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको प्राधिकरणले बताएको छ । प्राधिकरणको कुल बजेट कम भए पनि ठूला आयोजनाहरूको काम भने प्रभावित नहुने प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्री बताउँछन् । ‘बजेटको अभावमा नयाँ आयोजनाहरू समावेश गर्न सकिएको छैन । तर, प्राधिकरणबाट सञ्चालित ठूला आयोजनाहरूको काममा असर गर्दैन,’ उनले भने । प्राधिकरणले यो वर्ष भइरहेकै कामहरूको निरन्तरता र ती आयोजना सम्पन्न गर्नेतर्पm ध्यान केन्द्रित गरेको क्षत्रीको भनाइ छ ।

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल एशियाली विकास बैंकको ऋण सहयोगमा तथा पोखरा विमानस्थल चीनको एक्जिम बैंकको ऋण सहयोगमा निर्माण भइरहेका आयोजना हुन् ।

चालू आर्थिक वर्षमा निजगढ अन्तरराष्ट्रिय विमानस्थलको गुरुयोजना तयार गर्ने प्राधिकरणको योजना छ । निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माणका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण तथा रूख कटानका लागि २८ करोड रुपैयाँ बजेटको व्यवस्था गरिएको छ । प्राधिकरणले चालू आवमा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलका रूपमा प्रमाणित गर्ने, अन्तरप्रदेश उडानमा प्रोत्साहन दिने, आईटी नीति तयार गर्ने, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई २४ घण्टा नै सञ्चालनयोग्य बनाउने योजना अघि सारेको छ । त्यस्तै आन्तरिक विमानस्थलहरूको क्षमता विस्तार, यन्त्र उपकरण थपका लागि पनि बजेट विनियोजन गरिएकोे छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)