ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निर्यातको शीर्षस्थानमा रहेको पाम आयलको उत्पादन ८० प्रतिशतले घट्यो

कर्मचारी कटौती गर्ने तयारीमा उद्योग

२०७७ सावन, २५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar काशीराम बजगाईं

काठमाडौं । नेपालबाट निर्यात हुने वस्तुमध्ये शीर्षस्थानमा रहेको पाम आयलको उत्पादन ८० प्रतिशतले घटेको छ । भारतले पाम आयलको आयातमा पुनः प्रतिबन्ध लगाएपछि बजार अभावका कारण व्यवसायीले उत्पादन घटाएका हुन् ।

भारतको वैदेशिक व्यापार महानिर्देशनालय (डीडीएएफटी)ले पुस अन्तिम साता पाम आयलको आयातमा प्रतिबन्ध लगाएको थियो । तर, त्यसको १ महीनापछि भारतले आयातकर्तालाई आयात अनुमतिपत्र (लाइसेन्स) दिएर आयात खुलाएको थियो । प्रतिबन्ध खुलेपछि व्यवसायीहरूले पाम आयात वृद्धि गरेका थिए । चैत दोस्रो सातादेखि कोरोना जोखिमलाई रोक्न नेपालले देशव्यापी बन्दाबन्दी ग¥यो । बन्दाबन्दीकै बीचमा भारतमा डीडीएएफटीले वैशाख अन्तिम साता पाम आयल आयातकर्ताको लाइसेन्स खारेज गरी पुनः पाम आयलको आयातमा प्रतिबन्ध लगायो । नेपालमा असारदेखि बन्दाबन्दी खुकुलो गरी उद्योग सञ्चालन गर्ने निर्णय सरकारले गरेकोमा त्यसयता उद्योगमा भरपूर कच्चा पाम र श्रमिक भए पनि बजार नभएपछि व्यवसायीले उत्पादन घटाएका हुन् ।

वीरगञ्ज र विराटनगरमा मात्र पाम आयल उत्पादन गर्ने १८ ओटा उद्योग छन् । ती उद्योगमा हाल करीब १ लाख मेट्रिक टनभन्दा बढी कच्चा पाम आयल स्टक रहेको छ । पाम आयलको आन्तरिक माग १५ देखि २० प्रतिशत मात्र रहेको छ । त्यसैले बाँकी सबै पाम आयल भारतमा निर्यात हुने गरेको थियो । अहिले बजार अभावका कारण उत्पादन घटाइएको व्यवसायी प्रदीप मुरारकाले बताए । ‘उत्पादित तेल स्टकमा छ, बजार छैन त्यसैले उद्योग खुले पनि उद्योगमा काम भइरहेको छैन,’ उनले भने ।

उनका अनुसार पाम आयल प्रशोधन उद्योगमा करीब ३ हजार कर्मचारी कार्यरत रहेका छन् । काम नै बन्द भएकाले कर्मचारीलाई पारिश्रमिक दिन सकिएको छैन । ‘काम बन्द भएकाले कर्मचारीलाई पारिश्रमिक दिने आम्दानी पनि नभएकाले कर्मचारी कटौती गर्नुपर्ने अवस्थामा हामी पुगेका छौं,’ उनले भने ।

कोरोना महामारीको जोखिमलाई हेरेर बन्दाबन्दीदेखि हालसम्मको पारिश्रमिक कर्मचारीलाई उपलब्ध गराएको ओसीडी फुड्सका सञ्चालक सुरेश रुङ्गटा बताउँछन् । ‘सरकारले गरेको बन्दाबन्दीका कारण काम बन्द छ तर स्थानीय निकायले कर्मचारीलाई तलब दिए÷नदिएको र यस्तो बेला कर्मचारी कटौती गर्न नपाउने बताउँदै आएको छ,’ उनले भने, ‘तर, काम नै नभएपछि कर्मचारी कसरी पाल्ने ? कटौती गर्ने तयारी गरिरहेका छौं ।’

यी उद्योगमा कुल रू. २५ अर्बभन्दा बढी लगानी रहेको छ । पाम आयलको निकासी रोकिए उद्योगमा यसको प्रभाव पार्ने व्यवसायीहरू बताउँछन् । उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोती दुगडले प्रतिबन्ध खुलाउन पहल भइरहेको बताए । ‘यसअघिको प्रतिबन्धमा दुईपक्षीय छलफलद्वारा फुकुवा गरियो । यसपालि केही समय लागेको छ,’ उनले भने । उनका अनुसार प्रतिबन्ध फुकाउन देशबीच वाणिज्य सचिवस्तरीय छलफल भएकोमा भारतले कोरोनाका कारण आर्थिक अभाव भएकाले प्रतिबन्ध लगाएको बताएको थियो । सचिवस्तरीय बैठकले पाम आयल निकासीको विषयमा कुनै निष्कर्ष निकाल्न सकेन । प्रतिबन्ध फुकुवाका लागि भारतसँग छलफल गर्ने तयारी गरिरहेको उनले बताए ।

भन्सार विभागको तथ्यांकअनुुसार विगत २ वर्षमा नेपालबाट सबैभन्दा बढी निर्यात भएको वस्तु पाम आयल हो । आर्थिक वर्ष २०७६/७७ को तथ्यांकअनुसार नेपालबाट रू. ९७ अर्ब ७० करोडको कुल सामान निर्यात भएकोमा रू. १८ अर्बको पाम आयल निर्यात भएको छ । जुन कुल निर्यातको १९ प्रतिशत हो । भारतमा पाम आयलको माग बढ्दै गएपछि व्यवसायीहरूले मलेसिया, इन्डोशियालगायत तेस्रो मुलुकबाट कच्चा पामको आयात गरी प्रशोधनपछि निर्यात गर्ने गरेका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)