ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रधानमन्त्री रोजगार कार्यक्रम : कञ्चनपुरबाट रू. २ करोडभन्दा बढी बजेट फिर्ता

२०७७ सावन, २६  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मदन गिरी

महेन्द्रनगर । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कञ्चनपुरका आठ स्थानीय तहले पाएको २ करोड रुपैयाँभन्दा बढी बजेट फिर्ता जाने भएको छ । कार्यक्रममार्फत जिल्लाका ९ स्थानीय तहमध्ये आठओटाले पाएको रकम पूर्ण कार्यान्वयन नभएको हो । जिल्लाका चार स्थानीय तहमा कार्यक्रम सञ्चालन नै हुन सकेन भने चार स्थानीय तहमा कार्यक्रम शुरू भए पनि पूर्णता पाएन ।

जिल्लाका भीमदत्त नगरपालिका, कृष्णपुर नगरपालिका, बेलडाँडी र लालझाडी गाउँपालिकामा आंशिक रूपमा कार्यक्रम सञ्चालन भएको छ भने बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका, महाकाली नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा उक्त कार्यक्रम सञ्चालन नै हुन सकेन । वेदकोट नगरपालिकामा भने आर्थिक वर्ष २०७६/७७ का लागि प्रधानमन्त्री रोजगार कार्यक्रम स्वीकृत भएको थिएन । कञ्चनपुरमा आठओटै स्थानीय तहलाई गरी कुल ३ करोड ४२ लाख ९५ हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो, जसमध्ये १ करोड ४० लाख ६१ हजार मात्र खर्च भएको छ ।

कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनका कारण प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावित हुँदा स्थानीय तहले पाएको अधिकांश बजेट फिर्ता हुने भएको हो । उक्त कार्यक्रमका लागि भीमदत्त नगरपालिकाले ७५ लाख रुपैयाँ प्राप्त गरेको थियो, जसमध्ये ६५ लाख मात्र खर्च भएको छ । नगरपालिकाका रोजगार संयोजक केशव विष्टले कोरोना भाइरसको संक्रमणका कारण गरिएको लकडाउनले बजेट कार्यान्वनमा समस्या भएको बताए । उनका अनुसार नगरपालिकाले वडास्तरबाट छनोट गरिएका सातओटा योजना सम्पन्न गरेको छ, जसबाट ५३२ जनाले रोजगारी पाएका थिए ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि भीमदत्तमा ११ हजार जनाले आवेदनमा दिएकोमा ८०८ जनाको फारम स्वीकृत भएको थियो । त्यस्तै कृष्णपुर नगरपालिकामा पनि कार्यक्रमको आंशिक बजेट मात्र कार्यान्वयन भएको छ । नगरपालिकाका रोजगार संयोजक रमेश भट्टले नगरका ५ वडामा मात्रै कार्यक्रम सञ्चालन भएकाले पूरै बजेट खर्च नभएको बताए । उनका अनुसार ७५ लाख बजेट पाएको कृष्णपुरले ३४ लाख रुपैयाँ मात्र खर्च गरेको छ ।

कृष्णपुरमा ७ हजार जनाले आवेदन दिएकोमा ७६४ जनाको आवेदन स्वीकृत भएको थियो । कृष्णपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत २९५ जनाले काम पाएका छन् । अधिकांश रकम सडक निर्माण खर्च भएको छ । त्यस्तै लालझाडी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको १० लाख बजेटमध्ये ७ लाख ६६ हजार रुपैयाँ खर्च भएको गाउँपालिकाका रोजगार संयोजक केशव पन्तले बताए । उनका अनुसार रोजगार कार्यक्रमबाट लालझाडीमा सडकको ट्र्याक खोल्ने तथा ग्राभेल हाल्ने काम भएको छ ।

बेलडाँडी गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ९ ओटा योजना सम्पन्न भएको रोजगार संयोजक कृष्ण चन्दले बताए । उनका अनुसार रोजगार कार्यक्रमबाट सडक, कल्भर्ट र मन्दिरको पर्खाल निर्माण गरिएको छ । महाकाली नगरपालिकाकी रोजगार संयोजक खुश्बु केसीले कोरोना भाइरसको संक्रमणका कारण कार्यक्रम सञ्चालन गर्न नसकिएको बताइन् । उनका अनुसार उक्त कार्यक्रका लागि नगरपालिकाले १६ लाख बजेट पाएको थियो । भारतसँग नगरपालिकाको सीमाक्षेत्र जाडिएकाले संक्रमणको जोखिम रहेका बताउँदै ‘रोजगार संयोजक केसीले भनिन्, ‘सीमासँग जोडिएको नगरपालिका भएकाले सबै जनशक्ति कोरोना संक्रमणको नियन्त्रण एवं व्यवस्थापनमै लागेकाले कार्यक्रम सञ्चालन गर्न सकिएन ।’

शुक्लाफाँटा नरगपालिकाका रोजगार संयोजक कृष्ण भट्टले गत आवमा कार्यक्रम सञ्चालन नै नभएको बताए । उनका अनुसार कार्यक्रमका लागि ७५ लाख बजेट प्राप्त भएपछि लकडाउनका कारण सञ्चालन नभएको हो । त्यस्तै पुनर्वास नगरपालिका र बेलौरी नगरपालिकामा पनि प्रधानमन्त्री रोजगार सञ्चालन नभएको त्यहाँका रोजगार संयोजकले बताएका छन् । पुनर्वास नगरपालिकाका रोजगार संयोजक दीपक चन्दले कार्यक्रमका ४२ लाख बजेट विनियोजन भएको बताए । त्यस्तै बेलौरी नगरपालिकाका रोजगार संयोजक नरेशप्रसाद भट्टले कार्यक्रमका लागि १६ लाख बजेट पाप्त भएको बताए । लकडाउनले कार्यक्रम सञ्चालनमा समस्या भएको उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)