ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बढ्दो कोरोना संक्रमण : हवाई उडान तथा लामो दूरीको यातायात १५ दिनपछि सार्न प्रस्ताव

२०७७ सावन, २६  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar टीपी भुसाल

काठमाडौं । मुलुकभर कोरोना संक्रमण बढ्दै गएपछि भदौ १ बाट सुचारु गर्ने भनिएको आन्तरिक तथा अन्तरराष्ट्रिय उडान र लामो दूरीको यातायात सो मितिमा नखुल्ने भएको छ ।  

आइतवार बसेको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को बैठकले हवाई उडान तथा लामो दूरीको यातायात सुचारु गर्ने मिति सार्न मन्त्रिपरिषद्मा प्रस्ताव गर्ने निर्णय गरेको छ । सीसीएमसी बैठकले उडान तथा यातायात सुचारु गर्ने मिति १५ दिन सार्न प्रस्ताव गरेपछि अब भदौ १५ सम्म यी दुवै क्षेत्र नखोलिने भएको हो । यसअघि मन्त्रिपरिषद्को साउन ५ को बैठकले अन्तरजिल्ला यातायात, अन्तरराष्ट्रिय तथा आन्तरिक उडान तथा विद्यालय भर्नालगायत भदौ १ गतेदेखि खुला गर्ने निर्णय गरेको थियो ।

पछिल्लो समय कोरोना संक्रमण समुदाय स्तरमै फैलिँदै गई  १४ भन्दा बढी जिल्लामा निषेधाज्ञा जारी हँुदा उडान खोल्ने विषयमा प्रश्न उठेको थियो । आइतवार बसेको सीसीएमसी बैठकले उपत्यकालगायत देशका अधिकांश जिल्लामा संक्रमितको संख्या बढ्दै गएकाले आइसोलेशनको अभाव देखिएको ठहर गर्दै थप व्यवस्था गर्ने निर्णय गरेको छ ।  

बैठकले अन्तरराष्ट्रिय सीमा नाकामा थप कडाइ गर्न सिफारिश गरेको छ । साथै, भारतबाट आउने नेपालीहरूका लागि तोकिएको प्रवेश बिन्दु आधा घटाएर १० मा राख्नसमेत सिफारिश गरिएको छ ।

त्यस्तै, बैंक तथा वित्तीय संस्थामा ५० प्रतिशत मात्र कर्मचारी काममा बोलाउन र ५० प्रतिशतलाई घरमा राखेर ७ वा १५ दिन आलोपालो गर्न प्रस्तावसमेत गरिएको छ ।

त्यसो त, नेपाल राष्ट्र बैंकले आइतवार नै सूचना जारी गर्दै काठमाडौं उपत्यका तथा अन्य स्थानका बैंक तथा वित्तीय संस्थालाई आफ्ना कर्मचारीलाई सम्भव भएसम्म घरबाटै वा आलोपालो कार्यालयमा काम गराउन निर्देशन दिइसकेको छ ।

सरकारले भदौ १ गतेदेखि उडान गर्न दिने निर्णय गरेपछि वायु सेवा कम्पनीहरूले कर्मचारीहरूलाई तालीम दिएर उडानको तयारी थालेका थिए । त्यस्तै कतिपय कम्पनीहरूले भाडादर तय गरी टिकट बुकिङसमेत शुरू गरेका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘सीमित नियमित हवाईसम्बन्धी मापदण्ड–२०७७’ मस्यौदा तयार पारेर कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई पेश गरेको थियो । हवाई उडानसम्बन्धी मस्यौदा सीसीएमसीमा पेश गरेकाले त्यहाँबाट निर्णय भएर मन्त्रिपरिषद्ले पारित गरेपछि मात्र लागू हुनेछ ।

भदौ १ गतेबाटै सीमित उडान गर्नेगरी मापदण्ड बनाए पनि पछिल्लो समयमा कोरोना संक्रमण बढेकाले पुनर्विचार हुनसक्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहप्रवक्ता राजन पौडेलले बताए । मन्त्रालयले मापदण्डमा पीसीआर रिपोर्ट नेगेटिभ भएको प्रमाणपत्र पेश गरे नेपाल आउन दिने, नियमित उडानमार्पmत नेपाल आइसकेपछि शुरूको ७ दिन होटेल क्वारेन्टाइनमा र १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने निर्देशिका बनाएको छ । विदेशबाट नेपालीलाई आउन दिए पनि पर्यटकलाई भने भिसा नदिने गरी मापदण्ड बनाइएको छ ।

आन्तरिक तथा अन्तरराष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीहरूको तालिका प्रमाणित गरी सबै तयारी भए पनि पछिल्लो समय कोरोना संक्रमित बढेकाले अहिले पर्ख र हेरकै अवस्था रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए । ‘प्राधिकरण सबै दृष्टिले तयार नै छ । विमान सेवा कम्पनीहरू पनि आवश्यक सबै मापदण्ड पालना गर्ने गरी तयारी अवस्थामै रहेका छन् । तर, अवस्था के हुन्छ त्यो आधारमा मात्रै अघि बढ्न सकिनेछ,’ उनले भने ।

विदेशी पर्यटकलाई तत्काल अनअराइभल भिसा दिँदा थप जोखिम बढ्ने भएकाले यस्तो भिसा नदिने विषयमा पर्यटन, परराष्ट्र, गृह र स्वास्थ्य मन्त्रालयबीच छलफलसमेत भएको थियो । पोखरा र हिमाली जिल्लाबाहेक तराईका जिल्लामा उडान नगर्ने बारेमा छलफल भएको थियो ।

सीसीएमसीको बैठकले सरकारले तोकेका स्वास्थ्य प्रोटोकल प्रयोग नगर्दा संक्रमणको जोखिमसँगै मृत्युदर बढेको निष्कर्ष निकाल्दै अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन र निस्कनै परे स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्न आग्रह गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

Nishant Pun Magar

[Aug 9, 2020 10:13pm]

आफ्नो देशको नागरिकलाई सहज हुने गरी international flight त खोलने काम गरनुस date सारेको सारै त नगरनूहोस महोदय ज्यूँ हरु भदौ १ देखी सरेर १५ पुगेको छ अझै कती पुग्ने हो



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)