धनगढी । कैलालीको गोदावरी नगरपालिकाभित्र १६ किलोमिटर सडक निर्माण गरिने भएको छ । आगामी २ वर्षभित्रै सम्पन्न गर्ने लक्ष्यसहित उक्त सडक बनाउन लागिएको हो । सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी समेत रहेको गोदावरीमा सडक निर्माणका लागि एशियाली विकास बैंक (एडीबी)को सहुलियत ऋण लगानीमा क्षेत्रीय सहरी विकास योजना कार्यालयले ४८ करोड १७ लाख ६७ हजार ३०८ रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । सडक सर्भेको काम अन्तिम चरणमा पुगेको निर्माण कम्पनी कालिका कन्ष्ट्रक्शनले बताएको छ । क्षेत्रीय शहरी विकास कार्यक्रम अन्तर्गत १६ किलोमिटर सडक, फोहोरमैला व्यवस्थापनका लागि ल्याण्डफिल साइट निर्माण, ढल व्यवस्थापन लगायत कार्यक्रम छन् । सोही कार्यक्रम मार्फत गोदावरी नगरपालिकाको कार्यालय समेत निर्माण भइरहेको छ । तर कालिका कन्ष्ट्रक्शनसँग भने १६ किलोमिटर सडकका निर्माणका लागि मात्र ठेक्का सम्झौता गरिएको हो ।
गोदावरी नगरपालिका–५ को गेटा मुख्य प्वाइन्ट रहनेगरी गेटा आँखा अस्पतालदेखि लालपुर चोकसम्म (५ दशमलव ३ किलोमिटर), लालपुरचोकदेख गौडीसम्म (९०० मिटर), गेटा आँखा अस्पतालदेखि जोनापुर जाने बाटोसम्म (५ दशमलव ५ किलोमिटर), राजमार्गदेखि कत्था फ्याक्ट्रीसम्म (१ दशमलव ३ किलोमिटर), अत्तरिया बसपार्कदेखि पश्चिमपट्टि (४२८ मिटर) र चौकीडाँडादेखि चाक्ले खोलासम्म (१ दशमलव ३ किलोमिटर) सडक सौर्यबत्ती, फुटपाथ, ढल निकास, मिड ड्रेन, साइड ड्रेन, डिभाइडर, सोलार सडक बत्ती, अण्डरग्राउण्ड विद्युतीकरण सहितको चार लेन र दुई लेनको सडक बन्नेछ । कालिका कन्ष्ट्रक्शनका प्रतिनिधि प्रकाश खरेलले सडक सर्भेको काम अन्तिम चरणमा पुगेको बताए । उनले सर्भेको काम अन्तिम चरणमा पुगे पनि तत्काल बाँकी काम अघि बढाउन समस्या भएको उनको भनाइ छ । ‘खोलानाला बन्द छन् । सरकारले अहिले नदीजन्य पदार्थ उठाउन दिएको छैन,’ उनले भने, ‘त्यसकारण नदीजन्य पदार्थको निकासीका लागि असोजमा मात्र टेण्डर हुने भएपछि बाँकी काम सोही समयमा शुरू गरिनेछ ।’ सडक निर्माणमा कहीँकतै अवरोध नआए निर्धारित मितिभन्दा अगाडि नै सम्पन्न गर्नेगरी निर्माणलाई तीव्रता दिइने निर्माण कम्पनीले बताएको छ ।