ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मुख्य औद्योगिक कोरिडोरमा कोरोना संकट : जोखिमका आधारमा उद्योग वर्गीकरण गर्न माग

२०७७ सावन, २७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । मुलुकको प्रमुख औद्योगिक कोरिडोर रहेको क्षेत्र नै कोरोना संक्रमणको केन्द्रबिन्दु बनेपछि बारा–पर्सा औद्योगिक कोरिडोरका उद्योगहरूको उत्पादन स्वात्तै घटेको छ । सरकारले बन्दाबन्दी खुकुलो बनाएसँगै पुरानै लयमा फर्किने क्रममा रहेका यस औद्योगिक कोरिडोरका उद्योगको उत्पादन कुल क्षमताको एक चौथाइमा खुम्चिएको छ ।

कोरोना संक्रमित र मृत्यु हुनेको संख्या बढ्न थालेपछि बारा र पर्सा जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेका छन् । यो कोरिडोरका करीब आधा दर्जन उद्योगमा संक्रमित भेटिएका छन् ।

गम्भीर लक्षणसहितका संक्रमित देखिन थालेपछि उद्योग सञ्चालक र कामदार कर्मचारी त्रस्त भएको नेपाल चामल तेल दाल संघका अध्यक्ष सुबोधकुमार गुप्ताले बताए । ‘बन्दाबन्दी हटेपछि क्षमताको ७० देखि ८० प्रतिशत क्षमतामा चल्न थालेका उद्योगहरू अहिले संक्रमण बढेपछि २५ प्रतिशतको हाराहारीमा झरेका छन्,’ गुप्ताले आर्थिक अभियानसँग भने ।
पीसीआर परीक्षणको दायरा बढाएर जोखिमका आधारमा उद्योगको वर्गीकरण गर्न उद्यमीको माग छ । उद्योगमा गरिने पीसीआरको खर्च बेहोर्न उद्यमीहरू तयार रहेको वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्षसमेत रहेका गुप्ताले बताए ।

जोखिम मूल्यांकन गरेर उद्योग सञ्चालनको वातावरण बनाउज सकिने उद्यमीहरूको सुझाव छ । कोरिडोरका प्रत्येक उद्योगमा ५ जनाको नमूना पीसीआर परीक्षण गरेर जोखिम मूल्यांकन गर्न सकिने गुप्ताको सुझाव छ । ‘नमूना परीक्षणबाट उद्योगलाई हरियो, पहेँलो र रातोमा वर्गीकरण गरेर जोखिम व्यवस्थापन गर्न सकिन्छ । जोखिम नभएका र कम जोखिमका उद्योगलाई सावधानीका उपाय अपनाएर चल्न दिनुपर्छ,’ उनले भने, ‘उच्च जोखिममा पर्ने उद्योगलाई तत्कालका लागि चल्न दिनु हुँदैन ।’

अहिले कोरिडोरका औषधि उद्योगमा बढी संक्रमित भेटिएका छन् । तीनओटा औषधि र फलाम उद्योगमा कोरोनाका संक्रमित फेला परेका हुन् ।

अहिले अधिकांश उद्योगले न्यून कामदार राखेर उद्योग चलाइरहेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का उपाध्यक्ष अशोककुमार वैदले बताए । ‘उद्योग व्यापार चलेमात्रै अर्थतन्त्र गतिशील हुन्छ । सरकारले उद्योग चलाउने वातावरण बनाउनुपर्छ,’ वैदले भने । उद्योगमा पीसीआर परीक्षण व्यापक बनाएर जोखिम विश्लेषण गरिनुपर्ने सुझाव उनको पनि छ ।

कोरोनाको त्रासका कारण उद्योग सञ्चालक र कामदारको मनोबल खस्किएको उद्यमीले बताए । तराईका अधिकांश जिल्लामा निषेधाज्ञा जारी भएकाले त्यसको प्रभाव उत्पादनमा परेको नारायणी सिमेन्ट उद्योगका महाप्रबन्धक उमेशचन्द्र ठाकुरको भनाइ छ । ‘एकातिर कोरोनाको डर, अर्कातिर निषेधाज्ञाले गर्दा आवागमन, ढुवानी र बजार बन्द हुँदा उत्पादन भए पनि विक्री हुने अवस्था छैन,’ महाप्रबन्धक ठाकुरले भने ।

वित्तीय प्रतिष्ठान बन्द हुँदा विक्री भएको उत्पादनको भुक्तानीसमेत अड्किएको छ । कोरोना त्रास र असहजताले उद्योगका कार्यालय पनि बन्द भएको ठाकुरले बताए ।

अहिले अधिकांश उद्योगले सीमित कामदारलाई उद्योग हाताभित्रै आवासीय व्यवस्था मिलाएर सञ्चालन गरेको गुप्ताको भनाइ छ । केही उद्योगले अहिले पनि दिनहुँ वीरगञ्जबाट कामदार ओसारपसार गरिरहेका छन् । ‘स्थानीय प्रशासनले उद्योगमै आवासको व्यवस्था मिलाएर चलाउन भने पनि यस्ता उद्योगले अटेरी गरेका छन् । प्रशासनले आफ्नै निर्णय कार्यान्वयन गराउन नसक्दा संक्रमणको जोखिम बढेको छ,’ एक उद्योगीले भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)