ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

साढे दुई दशकपछि भवन निर्माण संहिता परिमार्जन

२०७७ सावन, २७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । भूकम्पको उच्च जोखिममा रहेको नेपालमा भूकम्प प्रतिरोधी संरचना निर्माणका लागि २०५२ मा बनाइएको भूकम्प प्रतिरोधात्मक संरचना निर्माण संहिता साढे दुई दशकपछि हालै परिमार्जन गरिएको छ । २०४५ को भूकम्पपछि सरकारले भूकम्प प्रतिरोधी भवन निर्माणलाई प्राथमिकतामा राख्दै पहिलोपटक राष्ट्रिय भवन निर्माण संहिता जारी गरेको थियो । त्यसको २५ वर्षपछि सरकारले संहितालाई पहिलोपटक परिमार्जन गर्दै गत सोमवार सेस्मिक डिजाइन अफ बिल्डिङ कोड (संहिता) पारित गरेको छ । यो संहिता शहरी विकास मन्त्रालयले चाँडै नै लागू गर्ने तयारी गरेको छ ।

नेपालमा भवन निर्माणसम्बन्धी धेरै संहिता जारी भए पनि भूकम्प प्रतिरोधी संरचना कस्तो बनाउनुपर्छ भन्ने विषयमा धेरै गृहकार्य भने हुन नसकेका बेला यो संहिता परिमार्जन भएको हो । पुरानो कोडबाट अहिलेको अवस्था सम्बोधन गर्न कठिनाइ हुने भएकाले यसलाई परिमार्जन गरिएको शहरी विकास मन्त्रालयले बताएको छ । मन्त्रालयका सहसचिव नवराज प्याकुरेलले सानादेखि गगनचुम्बी भवनहरूलाई भूकम्प प्रतिरोधी बनाउन गर्नुपर्ने इन्जिनीयरिङ डिजाइनका लागि परिमार्जित संहिताले सहज बनाउने जानकारी दिए ।

उनले खानी तथा भूगर्भ विभागको समेत सहकार्यमा सेस्मिक हाजार्ड म्यापका आधारमा भूकम्पको असर जमीनमा कसरी पर्छ भन्ने विषयको सूक्ष्म अध्ययन तथा विश्लेषण गरी यो संहिता तयार पारिएको बताए । यससँगै अब नेपालले भूकम्प प्रतिरोधी घर तथा भवन बनाउँदा भारत तथा अन्य देशको सन्दर्भ सामग्री (रिप्mरेन्स) लिनुपर्ने बाध्यता हटेको छ । उक्त संहिताले डिजाइन गर्दादेखि नै डन्डीहरूको साइज, बीमको आकारलगायत प्रयोग र अन्य प्राविधिक विषय तोकेकाले अब ठूला भवन पनि भूकम्प प्रतिरोधी बनाउन मद्दत मिल्ने प्याकुरेलको भनाइ छ ।

नेपालमा २०७२ वैशाख १२ को भूकम्पपछि ठूला आवासीय भवनहरूमा समेत ठूलो क्षति भएको थियो । त्यति बेला क्षति पुगेका कतिपय अपार्टमेन्टहरू अहिलेसम्म पनि प्रयोग गरिएका छैनन् ।

हाल पारित संहिता राजपत्रमा प्रकाशित गरेर प्रदेश तथा स्थानीय तहसम्म नै लागू गर्ने तयारी गरिएको मन्त्रालयले जानकारी दिएको छ । परिमार्जित संहिताले भूकम्प प्रतिरोधी डिजाइन कसरी गर्ने भन्ने विषयमा स्पष्ट पारेकाले अबका भवन सुरक्षित तथा भूकम्प प्रतिरोधी बनाउन थप सहज हुने मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) का स्ट्रक्चरल इन्जिनीयर विपीन गौतमले भूकम्पीय जोखिम विश्लेषण गरी जोखिमका आधारमा ठाउँअनुसारको फरकफरक मानक राखिएको बताए । यो संहिता प्रयोग गरी जस्तोसुकै प्रविधि र सामग्री प्रयोग गरी ढुंगामाटोका एकतले भवनदेखि ठूला भवन बनाउन यो संहिता उपयोगी हुने उनले बताए । विकसित देशहरू तथा उच्च जोखिममा रहेका अन्य देशहरूमा ४÷५ वर्षमा संहिता अद्यावधिक हुने भए पनि नेपालमा ढिलै भए पनि संशोधनको थालनी भएको गौतमले बताए । ठाउँअनुसार भूकम्पीय भार कसरी मापन गर्ने भन्ने विषयमा यसले इन्जिनीयरहरूलाई मार्गदर्शन गर्नेछ ।

यसका साथै १०० औं वर्षदेखि नेपालमा गएका भूकम्प र आसपासमा रहेका देशहरूमा गएका भूकम्पहरू अध्ययन गरेर त्यसका आधारमा कुन स्थानमा कस्तो खालको भूकम्पको आधारमा ठाउँअनुसार घरलाई डिजाइन गर्न सकिने संहितामा उल्लेख गरिएको छ । पहिलेको संहितामा रहेका प्रावधान पूर्ण नहुँदा भूकम्प प्रतिरोधी भवन निर्माणमा असहज भएको बताइएको छ । उक्त संहिता बनाउन स्टक्चरल इन्जिनीयर, जिओलोजिस्ट, जिओटेक्निकल इन्जिनीयर, सिस्मोलोजिस्ट लगायत विज्ञहरूका फरकफरक उपसमितिहरू गठन गरिएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)