ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हुन्डीमा कमी आउँदा विप्रेषण आप्रवाह बढ्यो

२०७७ सावन, २८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । कोरोना भाइरसको महामारीका बीच नेपाल भित्रने विप्रेषणमा ठूलो गिरावट हुने आकलन भइरहँदा लगातार २ महीना विप्रेषण औसतभन्दा बढी भित्रिएको छ । जेठमा झैं असार महीनामा पनि औसतभन्दा बढी विप्रेषण भित्रिएको नेपाल रेमिटर्स एशोसिएशनको प्रारम्भिक तथ्यांकले देखाएको छ ।

नेपालमा सामान्य अवस्थामा औसतमा मासिक ७३ अर्ब रुपैयाँ हाराहारीमा विप्रेषण भित्रिने गर्छ । असारमा भने करीब ८० अर्ब रुपैयाँ भित्रिएको प्रारम्भिक तथ्यांकले देखाएको छ । जेठमा ९४ अर्ब रुपैयाँ विप्रेषण भित्रिएको थियो ।

कोरोना महामारी नियन्त्रण गर्न नेपालसहित अधिकांश श्रम गन्तव्य मुलुकमा लगाइएको बन्दाबन्दीका कारण चैत र वैशाखमा विप्रेषण आप्रवाह निकै घटेको थियो । तर, जेठयता भने यसमा सुधार आएको रेमिट कम्पनीहरू बताउँछन् ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चैतमा ३४ अर्ब रुपैयाँ र वैशाखमा ५४ अर्ब रुपैयाँ बराबरको विप्रेषण भित्रिएको थियो, जुन औसतभन्दा कम हो । त्यसपछिका महीनामा भने विप्रेषण औसतभन्दा बढी नै आएको छ ।

बन्दाबन्दीका कारण हुन्डीजस्ता अनौपचारिक माध्यमको कारोबार हुन नसकेपछि औपचारिक माध्यमबाट विप्रेषण आप्रवाह बढेको एशोसिएशनका महासचिव रीतेश मित्तल बताउँछन् । ‘बन्दाबन्दीका कारण हुन्डीजस्ता अनौपचारिक कारोबार निरुत्साहित भएपछि विप्रेषण आप्रवाह बढेको हो,’ उनले भने ।

बेलायत, अस्ट्रेलिया, यूएई, कोरियाजस्ता मुलुकबाट आउने विप्रेषणको ठूलो अंश हुन्डीमार्फत नै आउने गर्छ । तर, पछिल्लो अवधिमा यी मुलुकबाट औपचारिक माध्यमबाट विप्रेषण आएको रेमिट कम्पनीहरूको भनाइ छ ।

‘मेरो कम्पनीको हकमा अघिल्ला महीनाको तुलनामा असारमा विप्रेषण १५ देखि २० प्रतिशतले बढेको छ । यसैगरी अन्य कम्पनीमार्फत भित्रिने रकममा पनि सुधार आएको हुन सक्छ,’ नेपाल रेमिटका प्रमुख कार्यकारी निर्देशकसमेत रहेका मित्तलले बताए ।

बन्दाबन्दीका बेला विदेशमा रोकिएको पैसा बन्दाबन्दी खुला भएपछि एकैचोटि नेपाल आउँदा विप्रेषण बढेको बताइएको छ । एशोसिएशनका अध्यक्ष सुमन पोखरेलले बन्दाबन्दीमा होल्ड भएको पैसा आउने क्रम अझै जारी रहेको बताए । ‘त्यसैले असार महीनाको विप्रेषण आप्रवाह राम्रो देखिएको हो,’ उनले भने ।

श्रम गन्तव्य मुुलुकहरूमा पूर्ण रूपमा बन्दाबन्दी हुँदा पैसा पठाउन सक्ने स्थिति थिएन । फलस्वरूप चैत र वैशाखमा विप्रेषण आप्रवाह घटेको उनको भनाइ छ ।

कोरोना महामारीका कारण विश्व श्रमबजार नै प्रभावित भएपछि विप्रेषण आप्रवाहमा धक्का लाग्ने अनुमान गरिएको थियो । तर, गत आर्थिक वर्षमा भने अनुमान गरेअनुसार प्रभावित नहुने देखिएको नेपाल राष्ट्र बैंक तथा रेमिट कम्पनीहरूको बुझाइ छ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले गत आवको विप्रेषण आप्रवाह त्यति प्रभावित नहुने बताए ।

‘जेठसम्मको विप्रेषण राम्रै छ । गत आवको विप्रेषण आप्रवाह त्यति प्रभावित नभएको देखियो,’ उनले भने, ‘तर, चालू आवमा विप्रेषण आप्रवाह कस्तो हुन्छ, त्यसबारे आकलन गर्न सक्ने अवस्था छैन ।’

कोरोनाले वैदेशिक रोजगारीमा पारेको प्रभावका करण गत आवमा विप्रेषण आप्रवाह १० प्रतिशतभन्दा बढीले घट्ने अनुमान थियो । तर, सोचेअनुरूप कमी नआएको रेमिट कम्पनीहरू बताउँछन् ।

अघिल्लो आव २०७५/७६ मा ८७९ अर्ब रुपैयाँ विप्रेषण आप्रवाह भएको थियो । गत आवको जेठसम्म यस्तो रकम ७७४ अर्ब रुपैयाँ रहेको थियो । त्यसमा असारको प्रारम्भिक विप्रेषण आप्रवाह (८० अर्ब) जोड्दा गत आवमा ८५४ अर्ब रुपैयाँ विप्रेषण आप्रवाह आएको देखिन्छ, जुन अघिल्लो आवको भन्दा २ दशमलव ७८ प्रतिशतले मात्र कम हो । आईएमई रेमिट्यान्सका सीईओ समेत रहेका पोखरेलले गतवर्षको विप्रेषण आप्रवाहमा सोचेजस्तो असर नदेखिएको बताए । ‘कोरोनाका कारण विप्रेषण आप्रवाह नमज्जाले खुम्चने आशंका थियो । तर, त्यस्तो देखिएन,’ उनले भने ।

चालू आवको दोस्रो त्रैमास् अर्थात् २०२० को अन्त्यसम्म नेपालको विप्रेषण आप्रवाह करीब २९ प्रतिशतले घट्ने प्रक्षेपण एशियाली विकास बैंकले गरेको छ । आगामी दिनमा विप्रेषण आप्रवाहको स्थिति चुनौतीपूर्ण पनि हुन सक्ने राष्ट्र बैंक तथा रेमिट कम्पनीहरूको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)