काठमाडौं । पर्वतारोहण सिजनमै कोरोना संक्रमणको असर पर्दा यो वर्ष नेपालको पर्वतारोहण क्षेत्रले करीब १० अर्ब रुपैयाँभन्दा बढीको नोक्सानी बेहोरेको छ ।
कोरोना महामारीका कारण पर्वतीय पर्यटन (ट्रेकिङ र पर्वतारोहण) क्षेत्रमा आबद्ध डेढ लाखभन्दा बढी श्रमशक्ति बेरोजगार बनेको ट्रेकिङ तथा पर्वतारोहण सम्बद्ध संस्थाहरू बताउँछन् ।
नेपाल माउन्टेनियरिङ एशोसिएशन (एनएमए) का अनुसार पर्वतारोहण क्षेत्रमा मात्रै प्रत्यक्ष र अप्रत्यक्ष गरी करीब १ लाख २५ हजारभन्दा बढी जनशक्ति आबद्ध छन् । टे«किङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का अनुसार ट्रेकिङ क्षेत्रमा २५ हजारभन्दा बढी जनशक्ति आबद्ध छन् ।
कोरोनाकै कारण पर्यटकीय गतिविधि ठप्प हुँदा यो जनशक्ति पूर्ण बेरोजगार बनेको एनएमएका महासचिव कुलबहादुर गुरुङ बताउँछन् । ‘अहिले यो क्षेत्र शून्य आय, शून्य रोजगारीको अवस्थामा छ,’ उनले भने ।
सन् २०१९ मा करीब २ लाख पर्यटक टे«किङ तथा पर्वतारोहणका लागि नेपाल आएको नेपाल पर्यटन बोर्डको तथ्यांकले देखाउँछ । नेपाल भ्रमणमा आउने कुल पर्यटकमध्ये १६ प्रतिशत ट्रेकिङ तथा पर्वतारोहणका लागि आउने गर्छन् ।
पर्वतीय पर्यटनका लागि आउने संख्या प्रतिशतमा थोरै देखिए पनि उनीहरूको बसाइ अवधि र खर्च अन्य पर्यटकको तुलनामा बढी हुने गर्छ । नेपालको पर्यटन क्षेत्रमा पर्वतारोहण तथा ट्रेकिङबाट प्राप्त आम्दानीको ठूलो अंश रहेको टानका अध्यक्ष खुम सुवेदी बताउँछन् ।
‘ट्रेकिङका लागि आएका पर्यटक कम्तीमा ३ साता नेपालमा बस्ने गर्छन् । ट्रेकिङको तुलनामा पर्वतारोहणमा जाने पर्यटकको नेपाल बसाइ र खर्च झनै बढी हुन्छ । अहिले यो सबै कोरोनाका कारण गुमेको छ,’ सुवेदीले भने ।
यो सिजनको पर्वतीय पर्यटन ठप्प हुँदा समग्रमा १० अर्ब रुपैयाँभन्दा बढीको नोक्सानी पर्यटन क्षेत्रले बेहोर्नु परेको एनएमए तथा टानको आकलन छ ।
पर्यटन विभागका अनुसार आर्थिक वर्ष २०७६/७७ मा पर्वतारोहण अनुमतिबापत ६८ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । त्यस्तै, नेपाल पर्यटन बोर्डमार्फत टिम्स कार्डबाट पदयात्राबापत २० करोड रुपैयाँ संकलन भएको थियो ।
पर्यटन विभागका अनुसार नेपाल आउने पर्यटकको औसत बसाइ अवधि १३ दिन र उनीहरूको औसत दैनिक खर्च ४८ अमेरिकी डलर छ । टानकी महासचिव सरिता लामाका अनुसार संस्थामा झन्डै ११ सय ट्रेकिङ कम्पनी आबद्ध छन् । कोरोनाका कारण पर्यटन क्षेत्रमा असर परेसँगै अहिले यी कम्पनी पूर्ण रूपमा बन्द हुँदा यस क्षेत्रमा आबद्ध सबै बेरोजगार भएको उनले बताइन् । ‘पर्वतीय पर्यटन पूर्ववत् अवस्थामा फर्किन कम्तीमा २ देखि ३ वर्ष लाग्न सक्छ,’ लामा भन्छिन् ।
सरकारले असंगठित क्षेत्रका कामदार तथा मजदूरलाई राहत दिने घोषणा गरे पनि उक्त राहत वितरण प्रक्रियामै अन्योल रहेकाले रोजगारी गुमाउनेहरूले राहत पाउन नसकेको टुरिस्ट गाइड एशोसिएशनका अध्यक्ष केदार तामाङले बताए । बेरोजगार श्रमिकहरूको हकमा हिमाल तथा ट्रेकिङ ट्रेल सरसफाइ, साइनेज निर्माण आदिमा लगाउने भनिए पनि त्यसको कार्ययोजना नबन्दा उनीहरू थप समस्यामा परेको उनको भनाइ छ ।
पर्यटन मन्त्रालयले बन्दाबन्दी खुलेसँगै तत्कालै रोजगारी सृजना गर्न सकिने क्षेत्रहरू पहिचान गरी ३० दिनका लागि करीब ४ हजार रोजगारी सृजना गर्ने योजना बनाएको छ । तर, अवस्था सहज नबन्दा उक्त योजना कार्यान्वयन हुने अवस्था भने अन्योलमै रहेको पर्यटन सचिव केदारबहादुर अधिकारी बताउँछन् ।