ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुनसरी–मोरङ औद्योगिक कोरिडोर : मजदूरमा कोरोना संक्रमणको पुष्टिसँगै उद्योगहरूको उत्पादन ४० प्रतिशत घट्यो

२०७७ सावन, २९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । सुनसरी–मोरङ औद्योगिक कोरिडोरस्थित उद्योगमा कार्यरत मजदूरमा कोरोना संक्रमण पुष्टि भएसँगै उद्योगहरूको उत्पादन क्षमता ४० प्रतिशत घटेको छ । कोरोना सन्त्रासकै कारण सञ्चालनमा रहेका उद्योगमा मजदूर नआउँदा उत्पादनमा असर पर्न थालेको उद्योगी व्यवसायीले बताएका छन् । बढ्दो संक्रमणका कारण कोरिडोरका उद्योगहरूले आफ्नो उत्पादन क्षमता ६० प्रतिशतमा झारेका छन् ।

साउन २५ मा आफ्ना २० जनाभन्दा बढी मजदूरमा कोरोना संक्रमण पुष्टि भएपछि बहुराष्ट्रिय कम्पनी आरती स्ट्रिपले केही दिनका लागि आफ्नो उत्पादन नै बन्द गरेको छ । करीब ५ सय मजदूर कर्मचारी कार्यरत यस उद्योगमा शुरूमा दुई जनामा संक्रमण देखिएको थियो । दोस्रो परीक्षणबाट उद्योगका प्रशासन प्रमुख दिवस नेपालसहित २० जनामा कोरोना संक्रमण देखिएसँगै बूढीगंगा गाउँपालिकाले उद्योग सिल गर्न निर्देशन दिएको छ ।

नेपालमा कर्कट पाता र फलामे डन्डी उत्पादन गरी भारतलगायत मुलुकमा निर्यात गर्दै आएको यो उद्योग कर्कट पाता र फलामे डन्डीको मुख्य निर्यातकर्ता हो । कारखानाभित्रै कोरोना संक्रमण फैलिएपछि उद्योगको उत्पादन बन्द गरिएको उद्योग प्रशासन प्रमुख नेपालले बताए । ‘अहिले उद्योग बन्द छ, हामी उद्योगभित्रै आइसोलेशनमा छौं,’ नेपालले भने ।

समुदायस्तरमै कोरोना संक्रमण फैलिएपछि औद्योगिक कोरिडोरका कामदार र उद्योगीहरू नै त्रासमा रहेको नेपाल उद्योग वाणिज्य संघ प्रदेश १ का अध्यक्ष राजेन्द्र राउत बताउँछन् । त्यसैले यस कोरिडोरका उद्योगहरूले उत्पादन घटाएको राउतले बताए । ‘महामारीकै कारण कोरिडोरका उद्योगमा सञ्चालित २५ प्रतिशत मजदूरले रोजगारी गुमाइसकेका छन्,’ राउत भन्छन् ।

उद्योगमा कार्यरत मजदूरलाई आआफ्ना क्षेत्रभित्रका स्थानीय तहले सामूहिक रूपमा पीसीआर सुविधा उपलब्ध गराउनुपर्ने माग उद्योगीहरूको छ । स्थानीय सरकारहरूले उद्योगहरूमा कार्यरत मजदूरको समूहगत पीसीआर परीक्षण गरी निर्बाध उद्योग सञ्चालनमा सहयोग गर्नुको साटो त्यो नगर्दा त्रास बढेको उनको भनाइ छ । ‘एकातिर बजार बन्द भएको अवस्थामा उत्पादन गरेर गोदाममै उत्पादित वस्तु थन्क्याउनुपर्ने अवस्था छ भने अर्कोतिर कोरोना त्रासबीच काम गर्नुपर्ने अवस्था निरन्तर रहे उद्योग बन्द गर्नुको विकल्प देखिँदैन,’ राउतले भने ।

यसअघि बूढीगंगा गाउँपालिकास्थित स्वस्तिक जुट मिलमा पनि दुई कामदारमा कोरोना संक्रमण पुष्टि भएको थियो । कारखानाभित्रै संक्रमित पाइएपछि उद्योगले पीसीआर गरेर सञ्चालन गरिरहेको छ । संक्रमितसमेत निको भई काममा फर्किसकेका छन् ।

उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष सुयश प्याकुरेल उद्योगमा कुनै एक मजदूरलाई संक्रमण भए पूरै उद्योग नै सिल गर्ने व्यवस्था गलत भएको बताउँछन् । संक्रमितलाई उपचारमा पठाएपछि उद्योगलाई निर्मलीकरण गरेर सञ्चालनमा ल्याउनुपर्ने उनको भनाइ छ । ‘उद्योगलाई उद्योगीको मात्र नाफा कमाउने थलोका रूपमा बुुझिएकाले समस्या भइरहेको छ । उद्योगले रोजगारी दिन्छ, सरकारलाई कर बुुझाउँछ र बजारलाई चलायमान बनाउँछ,’ प्याकुरेल भन्छन् ।

समुदायमा कोरोना फैलिसकेपछि उद्योगभित्र पनि पुुग्नुुलाई अस्वाभाविक नभएको मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष नवीन रिजालको भनाइ छ । ‘तर, उद्योग बन्द गरेर हुँदैन, अर्थतन्त्र चलायमान बनाउन पनि उद्योग चल्नैपर्छ,’ रिजालले भने ।

विराटनगरको गुदरी बजार सिल
विराटनगर महानगरको वडा नं ९ मा सबभन्दा बढी संक्रमित भेटिएका छन् । हालसम्म विराटनगर–९ मा ५० जनामा संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये सोही वडाका दुई जनाको मृत्यु भइसकेको छ । प्रदेश १ मा बुधवार मात्रै ४८ जनामा कोरोना संक्रमण देखिएको छ । मंगलवार यो संख्या ९८ थियो । विराटनगरमा बुधवार १२ जनामा संक्रमण भेटिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)