ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बन्दाबन्दीको प्रभाव बैंकहरूको वित्तीय विवरणमा

पाँच बैंकको खुद नाफा औसतमा १३ दशमलव २१ प्रतिशतले घट्यो

२०७७ सावन, ३०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । कोरोना भाइरस नियन्त्रण गर्न झन्डै ४ महीनासम्म लगाइएको बन्दाबन्दीको असर वाणिज्य बैंकहरूको गत आर्थिक वर्षको समग्र वित्तीय विवरणमा देखिएको छ । बन्दाबन्दीले बैंकहरूको ब्याज आम्दानी, नाफा, वितरणयोग्य नाफादेखि प्रतिशेयर आम्दानी जस्ता परिसूचक प्रभावित भएका छन् ।

कोरोना भाइरस नियन्त्रण गर्न सरकारले गत चैत ११ गतेदेखि साउन ७ गतेसम्म बन्दाबन्दी लगाएको थिथो । यसअनुसार बैंकहरूले गत आवको तेस्रो त्रैमासमा २० दिन र चौथो त्रैमासभर बन्दाबन्दीको सामना गर्नुपर्‍यो । त्यस अवधिमा आर्थिक क्रियाकलाप तथा बैंकिङ गतिविधि चलायमान नहुँदा गत आवको समग्र वित्तीय विवरण नै प्रभावित भएको हो ।

बिहीवारसम्म २७ वाणिज्य बैंकमध्ये नबिल, नेपाल बैंक, सिटजन्स बैंक इन्टरनेशनल, सिद्धार्थ र बैंक अफ काठमाण्डुले गत आवको वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरणअनुसार गत आवमा उक्त पाँचओटै बैंकको खुद नाफा औसतमा १३ दशमलव २१ प्रतिशतले घटेको छ ।

उनीहरूको ब्याज आम्दानी, सञ्चालन मुनाफा र प्रतिशेयर आम्दानी घटेको छ । साथै, वितरणयोग्य नाफा पनि अघिल्लो आवको तुलनामा कम भएको बैंकहरू बताउँछन् ।

गत आवमा अघिल्लो आवको तुलनामा बैंक अफ काठमाण्डुको २२ दशमलव २१ प्रतिशत, सिटजन्सको २३ दशमलव ७२ प्रतिशत, नबिल बैंकको १५ दशमलव ८५ प्रतिशत, नेपाल बैंकको १ दशमलव ५५ प्रतिशत र सिद्धार्थ बैंकको ७ दशमलव ३० प्रतिशतले खुद नाफा घटेको छ ।

बैंकहरूको आम्दानीको मुख्य स्रोत नै कर्जाको ब्याज हो । तर, नेपाल राष्ट्र बैंकले बन्दाबन्दीका ऋणीहरूमा परेको असरलाई दृष्टिगत गर्दै ब्याज भुक्तानीको म्याद गत असारसम्म थप गरिदियो । साथै, कर्जाको ब्याजदर पनि २ प्रतिशत विन्दुले घटाउन बैंकहरूलाई निर्देशन दियो । फलतः शुरूका दिनहरूमा सोचेअनुरूप ब्याज आम्दानी हुन सकेन । ब्याजदर घटाइएकाले उठेको ब्याजदर पनि स्वतः कम भएको बैंकहरू बताउँछन् ।

बैंकहरूलाई असार मसान्तभित्र ब्याज आम्दानी हुने अपेक्षा थियो । तर, असार मसान्तअगाडि नै राष्ट्र बैंकले मौद्रिक नीतिमार्पmत कर्जा भुक्तानीको म्याद पुनः थप्ने आश्वासन दियो । त्यसपछि ऋणीहरूले असार मसान्तभित्र तिर्नुपर्ने ब्याज र साँवा तिरेनन् । फलस्वरूप गत आवमा ब्याज आम्दानीमा कमी हुँदा अन्य वित्तीय परिसूचक पनि प्रभावित भएको बैंकरहरूको भनाइ छ ।

बैंकहरूले अधिकांश रूपमा औद्योगिक क्षेत्रमा नै कर्जा प्रवाह गरेका हुन्छन् । भ्रमण वर्ष २०२० लाई लक्षित गरेर पर्यटन क्षेत्रमा पनि बैंकहरूले कर्जा बढाएका थिए । तर, बन्दाबन्दीका कारण बैंकहरूले कर्जा प्रवाह गरेका यस्ता क्षेत्र प्रभावित भएपछि कर्जा असुल गर्ने स्थिति नआएको बैंकरहरू बताउँछन् ।

त्यसमाथि प्रतीतपत्र (एलसी) कारोबार, वैदेशिक मुद्रा सटहीबाट हुने आय पनि न्यून छ । यी सबै कारणले बैंकको आम्दानी घटेको तर सञ्चालन खर्च भने यथावत् रहँदा नाफालगायत परिसूचक प्रभावित भएको बैंकरहरूको भनाइ छ ।

त्यसो त गत आवको शुरूदेखि नै बैंकहरूको नाफा वृद्धिदर त्यति सन्तोषजनक थिएन । अघिल्ला आवहरूमा दोहोरो अंकमा हुने बैंकहरूको नाफा वृद्धिदर गत आवको शुरूदेखि नै एक अंकमा खुम्चिएको थियो । तर, आवको अन्त्यसम्म आउँदा नाफा वृद्धिदर ऋणात्मक नै हुने बैंकहरूको टिप्पणी छ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाहले बन्दाबन्दीले बैंकिङ क्षेत्रलाई छोटै अवधिमा निकै प्रभावित बनाएको बताए । कर्जा भुक्तानीको म्याद थप र ब्याजदरमा छूट दिने नीतिले बैंकको आम्दानी घटेको उनको भनाइ छ ।

‘राष्ट्र बैंकले कर्जाको ब्याजदर घटाउन भन्यो तर, निक्षेपको ब्याजदर घटाउन भनेन । त्यसमाथि कर्मचारी तलब, सञ्चालनलगायत विषयमा हुने खर्च यथावत् थियो,’ उनले भने, ‘यसरी हाम्रो चोथौ त्रैमासमा पनि खर्च मात्र भयो, आम्दानी हुन सकेन । फलस्वरूप गत आवको वित्तीय विवरणमा केही प्रभावित भएको हो ।’ नाफा घटे पनि नबिल बैंकको वित्तीय विवरणलाई सकारात्मक रूपमा लिनुपर्ने उनको भनाइ छ ।

संकटको यस अवस्थामा बैंकहरूले नाफालाई भन्दा पनि वित्तीय विवरणलाई बलियो बनाउनेतर्फ ध्यान दिनुपर्ने उनी बताउँछन् । ‘अहिले नाफालाई नै केन्द्रित ग¥यौं भने पुनः अर्काे समस्या आउन सक्छ । त्यसैले अहिले सञ्चालन खर्च घटाउने, ग्राहकलाई जोगाउने जस्ता नीति लिएर अगाडि बढ्नुपर्छ,’ उनले भने ।

चालू आवको पहिलो त्रैमास पनि बैंकिङ क्षेत्रलाई जोगाउन नै बित्ने उनको भनाइ छ । चालू आवको दोस्रो त्रैमासदेखि भने बैंकिङ क्षेत्रलाई पुनर्जीवन दिन सकिने उनी बताउँछन् ।
वित्तीय विवरण सार्वजनिक गर्न बाँकी रहेका बैंकहरूको पनि खुद नाफा, वितरणयोग्य नाफा घट्ने बताइएको छ ।

कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र भण्डारीले आफ्नो बैंकको नाफा र वितरणयोग्य नाफा घटेको बताए ।

‘देव विकास बैंकलाई प्राप्ति गरेकाले कुमारी बैंकलाई त्यति प्रभावित बनाएको छैन, जति सोचेको थियौं,’ उनले भने, ‘तर, गत आवमा अधिकांश बैंकको नाफा घट्ने देखिन्छ । जुन हालसम्म वित्तीय विवरण सार्वजनिक गरेको बैंकहरूको वित्तीय अवस्थाले नै देखाउँछ । किनकि सबै बैंकले अहिले साझा समस्या नै भोग्दै आएका छौं ।’

राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले आगामी दिनमा आर्थिक क्रियाकलाप चलायमान भए बैंकिङ क्षेत्र छिट्टै पुनर्जीवित हुने बताए । ‘वास्तवमा नै अहिले बैंकहरूले ठूलै त्याग गरेका छन् । राष्ट्र बैंकले ल्याएका कतिपय नीतिले उनीहरूलाई सहजता प्रदान गरेको छ,’ उनले भने, ‘यस अवस्थामा आर्थिक क्षेत्र चलायमान हुँदै गयो भने बैंकहरूलाई रिभाइव हुन समय लाग्दैन ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)