ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हवाई तथा पर्यटन क्षेत्र खुला गर्न माग

स्वास्थ्य प्रोटोकल पालना नगरे कारबाही गर : व्यवसायी

२०७७ सावन, ३२  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar टीपी भुसाल

काठमाडौं । पर्यटन क्षेत्रसँग आबद्ध विभिन्न २१ ओटा संघसंस्थाले कार्ययोजना बनाई हवाई तथा पर्यटन क्षेत्रसँग सम्बद्ध विभिन्न क्षेत्र खुला गर्न सरकारसँग माग गरेका छन् । सरकारले साउन १५ गतेबाट होटेल तथा रेस्टुराँ सञ्चालन गर्न दिने र भदौ १ गतेबाट आन्तरिक र बाह्य हवाई उडान खुला गर्ने निर्णय गरेको भए पनि कोरोना महामारी बढेको भन्दै पुनः यी क्षेत्र बन्द गर्ने निर्णय गरेको थियो ।

अन्य व्यवसाय सञ्चालनमा आए पनि पर्यटनसँग सम्बद्ध व्यवसायहरू सञ्चालनमा आउन सकेका छैनन् । त्यसैले भदौ १६ बाट पर्यटन व्यवसाय सञ्चालनको वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् । सरकारले भदौ १ बाट सुचारु गर्ने भनेको आन्तरिक तथा अन्तरराष्ट्रिय उडान र लामो दूरीको यातायात भदौ १६ गतेपछि मात्र खोल्ने निर्णय गरेपछि व्यवसायीहरूले व्यवसाय नखुलाए आन्दोलन गर्न बाध्य हुनेसमेत बताएका छन् । व्यवसाय खुला गराउन होटेल एशोसिएशन नेपाल (हान) नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल, (टान), नेपाल पर्वतारोहण संघ (एनएमए) लगायत २१ ओटा संस्थाले सरकारको ध्यानाकर्षण गराएका हुन् । गत सोमवार बसेको मन्त्रिपरिषद् बैठकले हवाई उडान तथा लामो दूरीको यातायात सुचारु गर्ने मिति भदौ १६ पछि सार्ने निर्णय गरेको थियो । तर, पर्यटन व्यवसायीहरूले भने सबै प्रोटोकल पालना गर्दै व्यवसाय सञ्चालन गर्न खोज्दा पनि सरकार गम्भीर नभएको आरोप लगाएका छन् ।

सरकारले भदौ १६ पछि पनि हवाई सेवा सञ्चालनको वातावरण नबनाइए आन्दोलनमा जान बाध्य हुने वायुसेवा सञ्चालकहरूले यसअघि नै बताइसकेका छन् । मुलुकभर कोरोना संक्रमितहरूको संख्यामा बढेको भन्दै सरकारले आन्तरिक तथा बाह्य उडानमाथिको प्रतिबन्ध थप १५ दिन लम्ब्याएपछि बुधवार वायुसेवा सञ्चालक संघले यस्तो चेतावनी दिएको थियो ।

कोरोना नियन्त्रणका लागि २०७६ चैत १० गतेयता नेपालमा नियमित आन्तरिक र अन्तरराष्ट्रिय उडान बन्द छन् । भदौ १ बाट हवाई उडान सुचारु हुने बताएसँगै वायु सेवा कम्पनीले साउन ५ गतेबाटै बुकिङसमेत खोलेका थिए ।

महामारीको विषम परस्थितिमा पनि विश्व स्वास्थ्य संगठन तथा अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठनले निर्धारण गरेका मापदण्ड तथा नेपाल सरकारको निर्देशनबमोजिम सुरक्षित उडानमा जानुपर्ने आफूहरूको धारणा रहेको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज शर्मा कँडेलले बताए । ‘पछिल्लो समय कोरोना बढ्दै गएकाले सरकार डराएको होला । सुरक्षाको विषयमा संवेदलशील हुनैपर्छ तर आन्तरिक वायुसेवा प्रयोग गर्दैमा कोरोना संक्रमण फैलिन्छ भन्ने होइन । अब कहिलेसम्म कुर्ने ? त्यसैले सुरक्षाका मापदण्ड अपनाउँदै व्यवसाय शुरू गर्नुको विकल्प छैन,’ उनले भने । हवाई सेवा लामो समयसम्म बन्द हुँदा त्यसले यस क्षेत्रसँग सम्बद्ध हजारांैको रोजगारी प्रभावित पारेको छ । सरकारले कर तिर्नसमेत ताकेता गर्न थालिसकेकाले व्यवसाय चलाउनैपर्ने उनले बताए ।

भदौ १ गतेदेखि उडान गर्न दिने निर्णय गरेपछि वायुसेवा कम्पनीहरूले कर्मचारीहरूलाई तालीम दिएर उडानको तयारी थालेका थिए । त्यस्तै कतिपय कम्पनीहरूले भाडादर तय गरी टिकट बुकिङसमेत शुरू गरेका थिए । हवाई व्यवसायीहरूले चार्टर र उद्धारका नाममा नाममा दैनिक ७ देखि १० ओटासम्म उडान भइरहेको भन्दै यी उडानले मुलुकको अर्थतन्त्रमा खासै योगदान नगर्ने बताएका छन् ।

सुरक्षाका उपाय अपनाउँदै व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने होटेल संघ नेपाल (हान) का महासचिव साजन शाक्यले बताए । ‘स्वास्थ्य र सुरक्षा चासो सबैको पहिलो सरोकार हो । कतिपय होटेल रेस्टुराँले प्रोटोकल अनुसरण नगरेकाले सरकारले यो कदम चालेको होला तर बन्द नै समाधानको उपाय त होइन होला ?’ उनले प्रश्न गरे ।

व्यवसाय सञ्चालनका लागि बनाएको प्रोटोकलको कार्यान्वयन र अनुगमनमा जोड दिएर व्यवसाय सञ्चालन गर्न दिनुपर्ने रेस्टुराँ एन्ड बार एशोसिएशन (रेबान)का अध्यक्ष अरनिको राजभण्डारीले बताए । ‘पहिलो कुरा प्रोटोकल कार्यान्वयनको अवस्था के छ त्यो हेर्नुपर्‍यो । कसैले प्रोटोेकल पालना गरेको छैन भने कारबाही गर्नुपर्‍यो । प्रोटोकलको पालना गर्नेहरूलाई चलाउन दिनुपर्‍यो । राज्यले यसतर्फ ध्यान दिन जरुरी छ,’ उनले भने ।

चार्टर उडानका नाममा कमिशन खाने लोभले सरकारले नियमित उडान नखुलाएको नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष अच्युत गुरागाईंले आरोप लगाए । सरकारकै कमजोरीका कारण व्यवसाय धराशयी हुने तथा जनताले दुःख पाउने अवस्था सृजना भएको उनले बताए । ‘महँगो रकम तिरेर हजारौं नेपाली विदेशबाट स्वदेश फर्किए । चार्टरको नाममा केहीले कमाए तर त्यसको असर आम जनतालाई पर्‍यो,’ उनले भने, ‘आफूहरू राजनीतिक खिचातानीमा अलमलिने, व्यवसाय बन्द गर्न लगाएर अरूलाई बिचल्लीमा पार्ने ? त्यसैले हामीले सामूहिक रूपमा व्यवसाय सञ्चालनको वातावरण बनाउन आग्रह गरेका हौं ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)