ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोना बीमामा दाबी बढ्दै

२०७७ सावन, ३२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । कोभिड–१९ का संक्रमितको संख्या बढेसँगै कोरोना बीमामा दाबी गर्नेको संख्या बढ्दै गएको छ । कोरोना बीमा शुरू भएको लामो समयसम्म पनि दाबीको अवस्था लगभग शून्य नै थियो । तर, पछिल्लो समय दाबीका लागि आवेदन दिनेको संख्या बढ्दै गएको छ ।

हालसम्म ६ लाख ८९ हजारभन्दा बढी मानिसले कोरोना बीमा गरिसकेका छन् । तीमध्ये गत शुक्रवारसम्म १९७ बीमितले दाबी पेश गरेका छन् ।

नेपाल बीमक संघको पछिल्लो तथ्यांक अनुसार हालसम्म ५४ जनाले ५१ लाख रुपैयाँ बराबरको दाबी लिइसकेका छन् । १४३ जनाको निवेदनमा भुक्तानी दिने प्रक्रिया शुरू भइसकेको छ । उनीहरूले कुल १ करोड ४२ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी लिन बाँकी रहेको संघको भनाइ छ । तथ्यांक अनुसार २ जनाले रू. ५० हजारको दरले र १४१ जनाले रू. १ लाखको दरले दाबी पाउनेछन् ।

बीमक संघका महासचिव चंकी क्षेत्रीले आवश्यक प्रक्रिया पूरा गरेर बाँकीको दाबी पनि भुक्तानी गरिने बताए । उनले भने, ‘संक्रमितको संख्या बढेसँगै दाबी पनि आउन थालेको छ । हामीले आवश्यक प्रक्रिया पूरा गरेर दाबी भुक्तानी गर्दै आएका छौं ।’ संघका अनुसार बीमित व्यक्ति कोरोना संक्रमित भएको पुष्टि भएमा बीमांक रकम बराबरको भुक्तानी पाउनेछन् ।

कोरोना बीमामार्फत हालसम्म रू. ३८ करोड ७७ लाख ९३ हजार बीमाशुल्क संकलन भएको छ । ७१ हजार ३६१ ओटा पोलिसी मार्फत सो बराबरको बीमाशुल्क संकलन भएको हो । संघका महासचिव क्षेत्रीले कोरोना बीमामा आकर्षण बढ्न थालेको बताए ।

बीमाशुल्क संकलन गर्नेमा शिखर इन्स्योरेन्स सबैभन्दा अगाडि देखिएको छ । कम्पनीले रू. ७ करोड ४० लाख बीमाशुल्क संकलन गरेको छ । त्यसपछि सिद्धार्थ इन्स्योरेन्सले रू. ३ करोड २७ लाख बीमाशुल्क संकलन गरेको छ । सगरमाथा इन्स्योरेन्सले २ करोड ८७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

पुलमार्फत यो कारोबार गरिएको हुनाले यसबाट हुने व्यवसाय सबै निर्जीवन बीमा कम्पनीहरूलाई बाँडफाँट गरिनेछ । संघका अनुसार पुनर्बीमा मार्फत नेपाल पुनर्बीमा कम्पनीले २० प्रतिशत व्यवसाय पाउँछ । बाँकी रहेको ८० प्रतिशत जोखिम अर्थात् व्यवसाय भने २० निर्जीवन बीमा कम्पनीहरूलाई बराबर रूपमा विभाजन गरिने बताइएको छ ।

बीमालेख अनुसार आम मानिसले रू. १ लाख र रू. ५० हजारको बीमांकमा यस्तो बीमा गर्न सक्छन् । रू. १ लाख बीमांकमा बीमा गर्दा प्रतिव्यक्ति रू. १ हजार र रू. ५० हजारको बीमांकमा बीमा गर्दा प्रतिव्यक्ति रू. ५०० बीमाशुल्क लाग्छ । परिवारका सदस्य र संस्थाका कर्मचारीको संयुक्त रूपमा बीमा गर्दा प्रतिव्यक्ति ४० प्रतिशत छूट दिइने व्यवस्था पनि गरिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)