ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जीवन बीमामा बन्दाबन्दीको असर : मुनाफा र बीमा शुल्क संकलनको वृद्धिदर घट्यो

२०७७ भदौ, १  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । कोरोना भाइरस नियन्त्रण गर्न झन्डै ४ महीनासम्म लगाइएको बन्दाबन्दीको असर जीवन बीमा क्षेत्रमा पनि देखिएको छ । आर्थिक वर्ष २०७६/७७ मा जीवन बीमा कम्पनीहरूको नाफा वृद्धिदरमा कमी आएको छ ।

आर्थिक वर्ष २०७५/७६ मा १६ प्रतिशतले मुनाफा वृद्धि भएकोमा गत आवमा जीवन बीमा कम्पनीहरूको औसत नाफा करीब ५ प्रतिशतमात्रै रहेको छ ।

१९ जीवन बीमा कम्पनीमध्ये आइतवार निजीक्षेत्रका १८ कम्पनीले गत आवको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

प्रकाशित विवरणहरूअनुसार अघिल्लो आव २०७५/७६ मा १८ कम्पनीले ३ अर्ब १९ करोड रुपैयाँ खुद नाफा कमाएका थिए । गत आवमा यस्तो नाफा ३ अर्ब ३४ करोड रुपैयाँ थियो ।

गत आवमा ४ कम्पनीको नाफा घटेको छ । वित्तीय विवरणअनुसार मेट लाइफको नाफा ४१ दशमलव २४ प्रतिशतले घटेको छ । त्यसैगरी प्राइम लाइफको ४ दशमलव ६३ प्रतिशत, एलआईसीको २५ दशमलव ८८ प्रतिशत र सानिमा लाइफको ४ दशमलव २६ प्रतिशतले नाफा घटेको छ ।

गत आवमा नाफा कमाउने मामलामा नेपाल लाइफ अगाडि देखिएको छ । यस कम्पनीले गत आवमा ५३ करोड ३ लाख रुपैयाँ नाफा कमाएको छ ।

जीवन बीमा कम्पनीको बीमाशुल्क संकलनको वृद्धिदर पनि प्रभावित भएको छ । आव २०७६/७७ मा बीमाशुल्क संकलन २१ दशमलव २८ प्रतिशतले बढेको छ जबकि आव २०७५/७६ मा यो ४६ प्रतिशतले बढेको थियो ।

अन्य कम्पनीको बीमाशुल्क संकलन बढ्दा मेट लाइफको भने १ दशमलव ६८ प्रतिशतले घटेको छ । अघिल्लो आवमा कम्पनीले रू. ४ अर्ब २१ करोड बीमाशुल्क संकलन गरेको थियो । तर, गत आवमा त्यो भन्दा कम अर्थात् ४ अर्ब १४ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

बीमाशुल्क संकलन गर्ने मामलामा पनि नेपाल लाइफ नै अगाडि देखिएको छ । समीक्षा वर्षमा उक्त कम्पनीले रू. २७ अर्ब ६२ करोड बीमाशुल्क संकलन गरेको छ ।

सरकारले कोरोना नियन्त्रण गर्न चैत ११ गतेदेखि जेठ मसान्तसम्म पूर्णरूपमा बन्दाबन्दी लगाएको थियो । तर, असारमा आएर भने केही खुला गर्‍यो । यस अवधिमा नै जीवन बीमा कम्पनीहरूको व्यवसाय उच्च मात्रामा बढेको थियो । फलस्वरूप गत आवको वित्तीय विवरणमा कोरोना महामारीको असर सोचेभन्दा कम देखिएको बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले बताए । ‘बन्दाबन्दी हुनुभन्दा पहिला जीवन बीमा कम्पनीहरूको व्यवसाय उत्साहजनक नै थियो । बीचमा ३ महीना पूर्ण रूपमा बन्दाबन्दी हुँदा व्यवसायमा ठूलै मात्रामा असर पुग्ने अनुमान थियो,’ उनले भने, ‘तर, त्यस्तो देखिएन ।’

त्यस्तै, जीवन बीमक संघका अध्यक्ष शिवनाथ पाण्डेले पनि जीवन बीमाको मुनाफा घटे पनि ठूलो असर भने नदेखिएको बताए । ‘असर परेको छ । बन्दाबन्दीको कारणले नै हामीले अघिल्लो आवहरूको वृद्धिदर कायम गर्न सकेनौं,’ उनले भने ।

जीवन बीमा कम्पनीहरूले दीर्घकालीन रूपमा लगानी गरेकाले तत्काल ठूलो असर नदेखिएको उनी बताउँछन् । तर, जीवन बीमा व्यवसायका लागि अबका दिन भने चुनौती पूर्ण नै हुने कम्पनीहरूको भनाइ छ ।

जीवन बीमा गर्न अभिकर्ताहरू भौतिक रूपमा नै आम ग्राहकको घरसम्म पुग्नुपर्ने बाध्यता छ । यसरी कोरोना भाइरस फैलिएको अवस्थामा जीवन बीमा व्यवसाय गर्न चुनौती हुने समितिका कार्यकारी निर्देशक पौडेल बताउँछन् ।

‘अभिकर्ताहरू घरघर गएर व्यवसाय ल्याउन पर्छ,’ उनले भने, ‘तर, कोरोनाका कारण घरघर जान सम्भव छैन । त्यसले व्यवसायमा असर गर्छ,’ उनले भने ।

संघका अध्यक्ष पाण्डेले पनि अबका दिन चुनौतीपूर्ण रहेको स्वीकार्छन् । ‘हाम्रो आम्दानीको मुख्य स्रोत नै बैंकको ब्याजदर हो । हामीले बैंकहरूमा करीब ३ खर्ब पैसा राखेका छौं । तर, बैंकहरूले ब्याजदर घटाइसकेको अवस्था छ,’ उनले भने, ‘यस अवस्थामा अबका दिनमा हामीलाई नाफा कमाउन चुनौती नै छ ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)