काठमाडौं । अर्बौं रुपैयाँ लागतमा किनिएका चिनियाँ जहाजको उडान हालै बन्द गरेको नेपाल वायुसेवा निगमले आन्तरिक उडानका लागि पाँचओटा नयाँ जहाज किन्ने प्रक्रिया अघि बढाएको छ । आन्तरिक उडानमा बलियो उपस्थिति जनाउने भन्दै निगमले व्यापारिक योजना (बिजनेश प्लान) तयार पारेर सरोकारवाला पर्यटन मन्त्रालयमा पेश गर्ने तयारी गरेको छ ।
आन्तरिक उडानमा बलियो उपस्थिति जनाउने उद्देश्यसहित पर्यटन मन्त्रालयमा बिजनेश प्लानसहितको प्रस्ताव पेश गर्ने तयारी भएको निगमले जानकारी दिए पनि ग्राउन्डेड चिनियाँ विमान के गर्ने भन्ने टुंगो उक्त योजनामा समेटिएको छैन ।
यसबारे मन्त्रालय र निगमका उच्च अधिकारीहरू आन्तरिक उडानमा बलियो उपस्थिति जनाउन नयाँ विमान किन्न लागिएको स्पष्टीकरण मात्र दिन्छन् । पहिलो चरणमा पाँचओटा नयाँ विमान किन्ने बिजनेश प्लानसहित मन्त्रालयसँग करीब रू.७ अर्ब बजेटको प्रस्ताव लैजाने तयारी भएको निगमका कार्यकारी अध्यक्ष घिमिरेले बताए । यसअघि किनिएका चिनियाँ विमानका कारण निगमलाई आर्थिक रूपमा घाटा लागेपछि नयाँ विमान किन्ने बिजनेश प्लानसहित प्रक्रिया अगाडि बढाइएको घिमिरेले जानकारी दिए ।
पर्याप्त अध्ययनविनै राजनीतिक दबाबमा चीनको एभिक इन्टरनेशनलबाट किनिएका विमानका कारण आलोचित हुँदै आएको निगमको सञ्चालक समितिको बैठकले साउन १५ बाट यी जहाजको उडान सधैंका लागि बन्द गर्ने निर्णय गरेको थियो ।
निगमले आन्तरिक उडानमा प्रयोग गर्दै आएका चिनियाँ जहाजको उडान साउन १५ गतेबाट बन्द गर्ने निर्णय गरेको थियो । हाल निगमसँग चारओटा वाई–१२ र २ ओटा एमए–६० गरी ६ ओटा चिनियाँ जहाज छन् । अहिले निगमसँग आन्तरिक उडानका लागि दुईओटा ट्वीनअटर जहाज मात्रै उडान भर्नयोग्य छन् भने अर्को मर्मत मा रहको छ । मर्मतमा रहेको विमान बनेपछि निगमले तीनओटा ट्वीनअटरमार्फत आन्तरिक उडान गर्नेछ ।
आन्तरिक उडानमा निगमको उपस्थिति कमजोर रहेकाले थप विमान किनेर उपस्थिति बलियो बनाउन नयाँ योजना अगाडि सारिएको अध्यक्ष घिमिरेले बताए । ‘निजीक्षेत्रका विमान सेवा कम्पनीहरू जहाँ बढी नाफा देख्छन्, त्यहाँ सेवा दिन तयार हुन्छन् । त्यो स्वाभाविक पनि हो । उनले भने, ‘तर, निगमसँग सामाजिक उत्तरदायित्व पनि जोडिएको छ ।
दुर्गम क्षेत्रमा सेवा दिएर आन्तरिक उडानमा बलियो उपस्थिति देखाउन नयाँ जहाज खरीद आवश्यक छ ।’
अध्यक्ष घिमिरेका अनुसार बिजनेश प्लान बनाउन समिति गठन गरी आवश्यक कामहरू भइरहेका छन् । समितिले जहाजको मोडल, सीट क्षमता र रूटलगायत आवश्यक व्यावसायिक योजना तयार पारिरहेकाले छिट्टै मन्त्रालयमा बिजनेश प्लान पेश गरिने घिमिरेले जानकारी दिए ।
निगम सञ्चालक समितिले चिनियाँ विमान उडानबाट निरन्तर घाटा भएको भन्दै उडान बन्द गर्नुपर्ने सुझाव पर्यटन मन्त्रालयलाई दिएको थियो । तर, मन्त्रालयले चिनियाँ विमानको उडान सेवा बन्द गर्ने निर्णयबारे थप पुस्ट्याइ माग गरेको अध्यक्ष घिमिरेले बताए ।
चिनियाँ जहाज सञ्चालन गर्दा निगमले आर्थिक वर्ष २०७१/७२ देखि आव २०७६/७७ सम्म करीब २ अर्ब ३० करोड रुपैयाँभन्दा बढी घाटा बेहोर्नु परेको छ । ‘उडान बन्द गरिएका चिनियाँ विमान राज्यकै सम्पत्ति भएकाले यसबारे सरकारले नै निर्णय गर्नेछ,’ घिमिरेले भने ।
आन्तरिक उडानमा करीब ३ प्रतिशत मात्रै बजार अंश ओगटेको निगमले चिनियाँ जहाजको उडान पनि बन्द भएपछि त्यो अंशसमेत गुमाउनेछ ।
YO KHAREJ GARAU KI YESLAI PRIVATIZATION GARAU.KINA VHANE YO RAJNITI GARNE THOLO VHANEKO XA.CHINESE JAHAJ LYAYERA K PRAGATI GARE KHOE TA.JABA SAMMA SKILL MANPOWER HUDAINA IT NEVER GOES ON PROFIT. P/S NOTE:UHI BELA THAILAND KO EUTA JAHAJ HUDA HAMRO 2OTA THIYO HERNU THAILAND KO KATI WOTA JAHAJ XA RA NEPAL KO HERNUS TAPAI AAFNU JUDGE GARNU SAKNU HUN6.