ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

द्विपक्षीय परियोजनालाई गति दिन सहमत

बजार खस्किँदा उत्पादन र आयात प्रभावित

२०७७ भदौ, २  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । नेपालमा भारतीय लगानीमा सञ्चालित परियोजनाहरूलाई गति दिन दुई देशका उच्च अधिकारीहरू सहमत भएका छन् । परियोजना अनुगमनका लागि गठित नेपाल–भारतबीच संयुक्त निरीक्षण संयन्त्र (ओभरसाइट मेकानिजम) को सोमवार सम्पन्न बैठकमा यस्तो सहमति जुटेको हो ।

नेपाल–भारत द्विपक्षीय सहयोगअन्तर्गत सीमापार रेलमार्ग, अरूण तेस्रो जलविद्युत् परियोजना, पेट्रोलियम पाइपलाइन, पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाजस्ता आयोजनालाई थप गति दिनुपर्नेमा दुवै देशका अधिकारीहरू सहमत भएका छन् ।

नक्सा विवादपछि नेपाल र भारतबीच संवादहीनता रहेकै बेला बसेको यो बैठकलाई महत्त्वका साथ हेरिएको थियो । भारतको स्वतन्त्रता दिवसका अवसरमा नेपालका प्रधानमन्त्री केपी ओलीको शुभकामना सन्देशसहित दुवै देशका प्रधानमन्त्रीबीच गत शनिवार टेलिफोन संवाद भएको थियो । सोमवारको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव शंकरदास बैरागी र भारतका तर्फबाट भारतीय राजदूत विनय मोहन क्वात्रा सहभागी भए । बैठकमा सीमाबारे भने कुनै छलफल नभएको परराष्ट्रका अधिकारीहरूले बताए ।

‘सीमाबारे छलफल गर्न सचिवस्तरीय अलग्गै संयन्त्र भएकाले यसमा कुरा भएन, दुईपक्षीय भर्चुअल बैठकमा भारतको सहयोग वा सहकार्यमा सञ्चालित विकास परियोजनाहरूका विषयमा छलफल भयो,’ बैठकमा सहभागी एक उच्च अधिकारीले भने ।

बैठकपछि परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा द्विपक्षीय सहयोगमा आयोजनाहरू कार्यान्वयनको गहन समीक्षा गरिएको बताएको छ । ‘नेपाल–भारत द्विपक्षीय सहयोगअन्तर्गत तराई सडक, सीमापार रेलमार्ग, अरूण तेस्रो जलविद्युत् परियोजना, पेट्रोलियम पाइपलाइन, पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, भूकम्पपश्चात् नेपाल–भारत द्विपक्षीय सहयोगमा चलिरहेका आयोजनाहरू कार्यान्वयनको स्थितिबारे छलफल भएको छ,’ परराष्ट्रले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सिँचाइ, विद्युत् र प्रसारण लाइन, नेपाल पुलिस एकेडेमी निर्माण, एकीकृत चेक पोस्ट, रामायण सर्किट, महाकाली नदीमा मोटरेबल पुल, कृषि र सांस्कृतिक सम्पदालगायत आयोजनाबारे पनि छलफल भएको छ ।

दुवै पक्षबीच परियोजना कार्यान्वयनको क्रममा देखिएका समस्या र अवरोध समयमै सम्बोधन गर्न आवश्यक कदम चाल्न सहमति जुटेको छ । नेपालस्थित भारतीय दूतावासका अनुसार सन् २०१९ को जुलाईमा भएको सातौं बैठकपछि द्विपक्षीय आर्थिक तथा विकास सहकार्यका परियोजनाबारे समीक्षा भएको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)