ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल–भारत सीमा बन्द हुँदा स्थानीय उत्पादनले बजार पायो

प्रदेश १ बाट मासिक १५० करोड नेपाली रुपैयाँ भारतीय बजार जान रोकियो

२०७७ भदौ, २  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वेदराज पौडेल

विराटनगर । प्रदेश १ का विराटनगर र काँकडभिट्टालगायत नाकाबाट सीमावर्ती भारतीय बजारमा गएर किनमेल गर्ने चलन कोरोना महामारीका कारण ४ महीनादेखि रोकिँदा नेपाली उत्पादनको बजार बढेको छ ।

चार महीनायता नेपाल भारत सिमानामा दुवैतर्फबाट आवतजावतमा पूर्ण बन्देज गरिएपछि भारतबाट हुने किनमेल रोकिँदा नेपाली उत्पादनको खपत बढेको व्यवसायीहरू बताउँछन् ।

बन्दाबन्दीअघि यी नाकाबाट दैनिक ५ करोड नेपाली रुपैयाँ भारतीय बजारमा पुग्ने गर्थ्यो । दैनिक उपभोग्य वस्तु किन्ने क्रममा बन्दाबन्दीअघि मासिक १५० करोड नेपाली रुपैयाँ सीमापारिका भारतीय बजारमा पुग्ने गरेको थियो । विराटनगर–४ कञ्चनबारीमा रहेको अमित किरानाका सञ्चालक अमित शर्माले नेपालकै मात्र उत्पादन विक्री गर्न थालेको ४ महीना भएको बताए । बन्दाबन्दीसँगै सीमानाका बन्द भएपछि सीमापारिबाट क्यारियरवालाले ल्याउने भारतीय सामान आउन ठप्प हुँदा उनले आफ्नो पसलमा नेपालकै उत्पादन राखेका छन् ।

‘अहिले नेपाली उद्योगहरूले उत्पादन नै पठाउन सकेका छैनन्, बिस्कुट चाउचाउ, तेल, दाल, चामलको खपत सबैभन्दा राम्रो छ,’ शर्मा भन्छन् । पहिले दैनिक २० हजारसम्मको सामान विक्री गर्ने आफूले बन्दाबन्दीको अवधिमा ४० हजारको विक्री गरिरहेको उनले बताए ।

विराट व्यापार संघका अध्यक्ष सुजन थापाका अनुसार अहिले नेपालमै उत्पादन भएको चिनी, तेल, दाल, तरकारी, माछा, मासु, चामल, बिस्कुट, मैदा, आटाको माग बढेको छ ।

विराटनगरमा रहेको भाटभटेनी सुपरस्टोरले पछिल्लो समय ९८ प्रतिशत तरकारी नेपालकै उत्पादन विक्री गरिरहेको छ । आलु र प्याजबाहेकका तरकारी प्रदेश १ कै किसानबाट किनेर भाटभटेनीले विक्री गरिरहेको हो । बन्दाबन्दीमा विराटनगरमा भारतबाट निर्बाध चोरीको बाटो भएर तरकारी भित्रिने गरे पनि अहिले नाका बन्द भएका कारण नेपाली किसानको उत्पादनले बजार र मूल्य दुवै पाएको भाटभटेनीका प्रबन्धक विनोद भट्टराईले बताए ।

भट्टराईका अनुसार भाटभटेनीमा बन्दाबन्दीको अवधिमा नेपाली उद्योगका उत्पादनको विक्री ५० प्रतिशतले बढेको छ । प्रदेश १ का स्थानीय उत्पादन रमपम चाउचाउ, सेन्चुरी मसलाका उत्पादन, गुडलाइफका बिस्कुटलाई प्राथमिकता दिएको उनले बताए ।

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा कोरोना महामारीका कारण नेपाल भारत सीमा बन्द गरिएपछि त्यसको सकारात्मक असर नेपाली उत्पादनको खपतमा देखिएको बताउँछन् ।

मुन्दडाका अनुसार बन्दाबन्दी अघिसम्म नेपाली उपभोक्ता भारतीय बजारबाट चिनी, दाल, तेल, बिस्कुट, चाउचाउ, चकलेट, भाडाकुँडा र कपडासमेत किनेर ल्याउँथे । अहिले सीमा बन्द हुँदा नेपालमै उत्पादित सामान किनिरहेका छन् जसले स्थानीय अर्थतन्त्रलाई सकारात्मक प्रभाव पारेकोछ । ‘प्रदेश १ बाट भारतीय बजारमा मासिक रूपमा पुग्ने १५० करोडको खपत नेपाली बजारमै हुन थालेको यो सुखद पक्ष हो । ४ महीनामा ६०० करोड भारत पुग्नबाट जोगिएको छ,’ मुन्दडाले भने ।

उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष सुयश प्याकुरेलले बन्दाबन्दीको अवधिभर सीमा नाकाबाट अवैध रूपमा नेपाल भित्रने दैनिक उपभोग्य सामान, मेशिनरी, लुब्रिकेन्ट, जुत्ताचप्पल, कपडा र कृषि उत्पादनहरू बन्द भएपछि नेपाली बजारमा स्वदेशी उत्पादनले राम्रो बजार पाएको बताए । भारतबाट भन्सार तिरेर आउने उत्पादनसँग यहाँका उत्पादनले प्रतिस्पर्धा गर्न सके पनि अवैध बाटोबाट आउने सामग्रीसँग भने नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न सकेको थिएन ।

नेपालका उद्योगहरूले कच्चा पदार्थ, मेशिनरी, दक्ष जनशक्ति समेतमा भारतसँग निर्भर रहनु परेकाले भारतीय उत्पादनभन्दा नेपाली उद्योगको उत्पादन महँगो परिरहेको प्याकुरेलको भनाइ छ ।

‘बन्दाबन्दी खुले पनि नाका भने अहिलेझैं शिल नै हुनुपर्छ, जसले अवैध कारोबारलाई रोक्छ र नेपाली उद्योग र व्यवसायीलाई निकै ठूलो राहत हुन्छ,’ प्याकुरेलले भने । यसरी नाकामा कडाइ भइरहे राजस्व र उत्पादनमा समेत वृद्धि हुने उनको ठम्याइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)