ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

म्याग्दीमा शतप्रतिशत रोपाइँ सम्पन्न

२०७७ भदौ, ३  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । म्याग्दीमा यस वर्ष शतप्रतिशत खेतमा रोपाइँ भएको छ । समयमै मनसुन शुरू भएकाले यस वर्ष गतवर्षको तुलनामा चाँडै रोपाइँ सकिएको हो । कृषिकर्मप्रति युवा पुस्ताको आकर्षणले यस वर्ष धानखेतीको क्षेत्रफल समेत बढेको छ । साथै अनुकूल मौसम, समयमै रोपाइँ हुनु, पर्याप्त पानी पर्नु जस्ता कारणले जिल्लामा यस वर्ष धान उत्पादन बढ्ने अनुमान गरिएको छ ।

यसपटक समयमै पानी परेकाले जेठ, असारमै रोपाइँ गर्न सहज भएको बेनी नगरपालिका २ का कृषक भीमबहादुर रिजालले बताए । रोपाइँका लागि उपयुक्त मानिने असार महीनामै अधिकांश ठाउँमा रोपाइँ भएकाले यसपटक जिल्लामा धान उत्पादन बढ्ने कृषि ज्ञान केन्द्र म्याग्दी प्रमुख गोविन्दराज कोइरालाले बताए ।

जिल्लामा गत हिउँददेखि नै पटकपटक हिमपात र वर्षा भएको थियो । साथै समयमै शुरू भएको मनसुनले पहाडी क्षेत्रमा खेत रोपाइँमा सहज भएको कृषकहरूले बताएका छन् । कोरोना महामारीका कारण गाउँ पर्किएका युवा समेत कृषिमै लागेकाले जिल्लामा यस वर्ष धानखेतीको क्षेत्र बढेको अनुमान गरिएको छ । जिल्लामा खेतीपाती लगाउने परम्परागत साधन हलगोरुका साथै पछिल्लोपटक भित्रिएको आधुनिक प्रविधि मिनी टिलरको समेत प्रयोग हुँदै आएको छ ।

म्याग्दीमा ३ हजार ८९८ हेक्टरमा धानखेती हुँदै आएको छ । गत आर्थिक वर्षसम्म कुल खेतीयोग्य जमीनको करीब ११ प्रतिशतमा मात्रै सिँचाइ सुविधा पुगेको कृषि ज्ञान केन्द्रको तथ्यांक छ । जिल्लाका सबै स्थानीय तहमा धानखेती हुन्छ । जिल्लाका रत्नेचौर, ज्यामरुककोट, अर्थुंगे, पुलाचौर, सिंगा, बराङ्जा, बाबियाचौर, कुहुँ, अर्मन, दरबाङ, ताकम, घतान, पात्लेखेत, राखुपिप्ले, भगवती, शिख, घार, भूरुङ–तातोपानी, नारच्याङ, दानालगायत ठाउँ धान खेतीका लागि पकेट क्षेत्र मानिन्छन् । जिल्लामा गौरिया, जेठोबुढो, छुम्रुङ, खुमल, गुडुरा, दर्माली, मार्सी, आङा, झिनुवा, ताकमारे, माछापुच्छ«े–३, लुम्ले–२ जस्ता लोकल जातका धान लगाउने गरिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)