धनगढी । सुदूरपश्चिम प्रदेशमा वर्षेनि सवारी दुर्घटना बढ्दै गएको पाइएको छ । सवारी दुर्घनामा परी हरेक वर्ष डेढ सयभन्दा बढीले ज्यान गुमाउने गरेको ट्राफिक प्रहरीको तथ्यांकले देखाएको छ । सवारी दुर्घटना न्यूनीकरणका लागि सरकारले विभिन्न नीति अवलम्बन गरे पनि प्रभावकारी हुन सकेको छैन ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार सुदूरपश्चिममा गत आर्थिक वर्ष २०७६/७७ मा ३८४ ओटा सवारी दुर्घटना भएका छन्, जसमा १४३ जनाले ज्यान गुमाएका छन् भने २५४ जना घाइते भएका छन् ।
पहाडी जिल्लामा साघुँरा एवं गुणस्तरहीन सडक निर्माण गरिँदा दुर्घटनाको जोखिम बढेको भन्दै यस क्षेत्रको सामाजिक कार्यमा सक्रिय संस्था बोलन्या थलीले सडक निर्माणमा लापरबाही नगर्न सम्बद्ध निकायलाई आग्रह गरेको छ । यसैगरी क्षमताभन्दा बढी यात्रु बोक्ने, लाइसेन्सविना नै सवारीसाधन चलाउने जस्ता गतिविधि रोक्न ट्राफिक प्रहरीको सक्रिय भूमिका नदेखिँदा पनि सवारी दुर्घटना बढेको बोलन्या थलीका संयोजक यादव जोशीले बताए । यद्यपि प्रदेशमा सवारी दुर्घटना नियन्त्रणका लागि प्रहरीले छड्के चेकजाँचदेखि ‘रिफ्रेस रेन्टर’को अभ्यास गरिरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख लोकेन्द्र श्रेष्ठले बताए ।
सुदूरपश्चिममा गतवर्ष ३८४ सवारीसाधन दुर्घटनामा परेका थिए, जसमध्ये १७७ ओटा मोटरसाइकल मात्रै छन् । सवारी दुर्घटनामा हुनुमा सडकको दुरवस्था, सवारीसाधनको चाप र चालकको लापरबाही मुख्य कारण रहने गरेको प्रहरी अधिकारीहरू बताउँछन । दुर्घटना भएर धेरै जनाको ज्यान गएका घटनालगत्तै केही साता सवारी चेकजाँचमा कडाइ गरिने, तर स्थिति सामान्य हुँदै गएपछि सडकमा लापरबाही पुरानै अवस्थामा हुने गरेको सरोकारवालाहरू बताउँछन् ।
अत्तरियास्थित प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्यांक अनुसार आव २०७२/७३ देखि २०७६/७७ सम्मको अवधिमा मात्र सवारी दुर्घटनामा परेर ७६४ जनाको मृत्यु भएको छ । आव २०७५/७६ को ११ महीनामा सुदूरपश्चिममा २१६ सवारी दुर्घटना भएका थिए । ती घटनामा २०२ जनाको मृत्यु भएको थियो भने १९८ जना गम्भीर तथा २३८ जना सामान्य घाइते भएको तथ्यांक छ ।
२०७४/७५ मा सुदूरपश्चिममा २६४ सवारी दुर्घटनामा १६६ जनाले ज्यान गुमाएका थिए । यस्तै १३३ जना गम्भीर तथा २०५ जना सामान्य घाइते भएका थिए । कार्यालयका अनुसार २०७३/७४ मा भएका १८४ सवारी दुर्घटनामा १३२ जनाको मृत्यु भएको थियो भने २०६ जना गम्भीर र १०१ जना सामान्य घाइते भएका थिए । त्यसअघि आव २०७२/७३ मा १५५ सवारी दुर्घटनामा १२१ जनाको मृत्यु थियो । यस्तै १२७ जना गम्भीर तथा १०४ जना सामान्य घाइते भएका थिए ।
चालक र पैदल यात्रीहरू सजग नहुँदा पनि दुर्घटना न्यूनीकरण हुन नसकेको प्रदेश ट्राफिक प्रहरी प्रमुख श्रेष्ठले बताए । कतिपय घटनामा चालकको लापरबाही र कतिपयमा सडक तथा सवारीको अवस्थाले पनि दुर्घटना भएको उनको भनाइ छ । उनका अनुसार तीव्र गति, पैदलयात्रुको लापरबाही, गाडीको यान्त्रिक गडबडी, खराब मौसम र सडकमा छाएिका चौपाया पनि सवारी दुर्घटनाका कारण हुन् । ‘तराईका जिल्लामा बढ्दै गएको सवारीसाधनको चाप पनि दुर्घटनाको कारण देखिन्छ,’ उनले भने, ‘पहाडी जिल्लामा साँघुरा तथा असुरक्षित सडक र तीव्र गतिमा सवारी चलाउने प्रवृत्तिले सवारी दुर्घटना बढेका छन् ।’
दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको उनले बताए । ‘चालक सचेत भए मात्रै पनि दुर्घटना न्यूनीकरणमा सघाउ पुग्छ,’ उनले भने । ट्राफिक प्रहरीको मात्र प्रयासले सवारी दुर्घटना न्यूनीकरण हुन सम्भव नभएको कतिपयको विश्लेषण छ । अधिकांश दुर्घटनामा सवारी चालकको लापरबाही देखिने भएकाले चालक संवेदनशील हुनु जरुरी रहेको ट्राफिक प्रहरीको भनाइ छ ।