ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ट्र्याक खोलेको १० वर्षसम्म पनि चलेनन् यातायातका साधन

२०७७ भदौ, ३  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाभित्र बेनी–भकुण्डे मोटरबाटोको ट्र्याक खुलेको १० वर्ष बितिसक्दा पनि यातायाताका साधनहरू चल्न सकेका छैनन् । २०६७ सालमा ट्र्याक खुलेको साढे ७ किलोमिटर दूरीको बेनी–भकुण्डे सडकको मर्मतका लागि अहिलेसम्म लाखौं खर्च गरिएको भए पनि न त्यो सडकमा यातायातका साधनहरू सञ्चालन हुन सकेका छन् न सडक मर्मत कार्यप्रति स्थानीय र जनप्रतिनिधिहरू नै सन्तुष्ट हुन सकेका छन् । सडक मर्मतका नाममा खर्च भएको लाखौं रकम बालुवामा पानी हालेजस्तै भएको स्थानीयको गुनासो छ । पटक–पटक सडक मर्मतका लागि ठूलो रकम खर्च गरिए पनि उपभोक्ता समितिले सडकमा नाली निर्माण नगरी सामान्य रूपमा डोजरमात्र घुमाएर बजेट सक्ने प्रवृत्तिले गर्दा सो मोटरबाटोमा यातायातका साधनहरू सञ्चालन हुन नसकेका स्थानीय बासिन्दाहरूको भनाइ छ ।

‘नगरपालिकाको गेटदेखि वडा नं. २ को कार्यालयसम्म पुग्ने यो बाटोको स्तरोन्नति र दीगो विकासका लागि जनप्रतिनिधि र सरोकारवाला कसैले ध्यान दिएनन्, खाली बजेट सक्ने काममात्र भयो बाटोको स्थायित्व भएन’, साविकको ज्यामरुककोट गाविस–८ का भूतपूर्व वडाअध्यक्ष समेत रहेका कृष्णबहादुर सुवेदीले भने ।

सुवेदीका अनुसार बेनीदेखि भकुण्डेसम्म जान सल्लेरीधारासम्म ४ ओटा बाटा बनाइएको भए पनि कुनै पनि काम लाग्ने अवस्थामा छैनन् । बेनी–ठूलोगैरा–रोहोटेपानी हुँदै भकुण्डे जोड्ने सडकको सल्लेरीधारा, कन्थराजको थान नजिकको पहरो र ठूलोगैरामा सामान्य वर्षा हुँदा समेत बाटो बिग्रिने गरेको छ ।

२०६७ सालयता बेनी भकुण्डे सडकमा करिव ७० लाखको हाराहारीमा बजेट खर्च भैसकेको छ । बजेट त सकियो तर सडकको अवस्था भने ज्यूँको त्यूँ रहनाले स्थानीयहरू सरोकारवालाहरूसँग यो सडकको अवस्था कहिले सुध्रन्छ भनेर प्रश्न गरिरहेका छन् ।

गत आर्थिक वर्षमा बेनी–वौर–ठूलोगैरा–खवरा (विरायचौर)–भकुण्डे सडक उपभोक्ता समिति, बांगघरा–पिपलडाँडा–भीरकुना–भकुण्डे सडक उपभोक्ता समिति र ठूलोगैरा–खवरा–भकुण्डे सडक उपभोक्ता समितिको गरी कुल रू. २६ लाख ५० हजार खर्च गरी मर्मत गरिएको बेनी–खवरा–भकुण्डे सडकमा यातायातका साधनहरू सञ्चालन हुन सकेका छैनन् । सामान्य पानी पर्दा पनि सडक पानीले बगाउने गरेको छ ।

‘कुखुरालाई चारो हाले जस्तो गरी वर्षैपिच्छे थोरै–थोरै मात्र बजेट आउने र सो बजेटले सडक मर्मतको थोरै पनि काम नहुने समस्याले गर्दा पनि सडक सवारीसाधन चल्न लायक बन्न नसकेको हो’, बेनी नगरपालिका–२ भकुण्डेका समाजसेवी भीमबहादुर पौडेलले भने ।

बेनीदेखि भकुण्डे वडा कार्यालयसम्म जोड्ने मोटरबाटोसँगै अन्य २ ओटा मोटरबाटोको अवस्था पनि फरक नभएको पाइएको छ । बेनी–ठूलोगैरा–विरायचौर–भकुण्डे, बांगेघरा–पिपलडाँडा–भीरकुना–भकुण्डे र ठूलोगैरा–खवरा मोटरबाटो उपभोक्ता समितिमार्फत बेनी–खवरा–भकुण्डे मोटरबाटो मर्मतको काम हुने गरेको छ । नगर कार्यपालिकादेखि वडा कार्यपालिका जोड्ने यो मोटरबाटोको अवस्था अत्यन्त दयनीय रहेको र यसमा जनप्रतिनिधि तथा सरोकारवालाहरूको चरम लापरवाही देखिएको स्थानीयले बताएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)