ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोना संक्रमणले बढायो स्यानिटाइजरको बजार

४० उद्योगले लिए अनुमति, ३० ओटा व्यावसायिक उत्पादनमा

२०७७ भदौ, ३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । कोरोना संक्रमणको प्रभावले समग्र उद्योग व्यवसाय शिथिल भइरहेका बेला स्यानिटाइजरको बजार भने ह्वात्तै बढेको छ । कोरोनाको विषाणु निष्क्रिय पार्न प्रयोग गरिने स्यानिटाइजरको माग बढेपछि अधिकांश स्वदेशी औषधि उद्योगले यसको उत्पादन थालेका छन् ।

नेपाल औषधि उत्पादक संघका निवर्तमान अध्यक्ष दीपक दाहालका अनुसार अहिले ३० ओटा औषधि उद्योगले स्यानिटाइजरको व्यावसायिक उत्पादन गरिरहेका छन् । ‘कोरोना संक्रमण फैलिएपछि यसको प्रयोग बढ्यो । बजारमा माग बढेपछि औषधि अधिकांश उद्योगले उत्पादन थालेका छन्,’ दाहालले भने ।

औषधि ऐनले स्यानिटाइजरलाई औषधिको रूपमा व्याख्या गरे पनि उत्पादनमा चासो राखिएको थिएन । सरकारले २०७४ जेठमा प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणसम्बन्धी निर्देशिका बनाएर स्यानिटाइजर उत्पादनको बाटो खोलेको थियो ।

निर्देशिकाले स्यानिटाइजरको उत्पादन मापदण्ड र गुणस्तर नियमनको जिम्मा औषधि व्यवस्था विभागलाई दिएको छ । कोरोना संक्रमण नियन्त्रणका लागि गत चैत ११ गते देशभरि बन्दाबन्दी लागू भएपछि विभागले औषधि उद्योगलाई स्यानिटाइजर बनाउन दिने निर्णय गरेको हो ।

कोरोनाको संक्रमण बढेसँगै चीन र भारतले अन्य उपचार सामग्रीसहित स्यानिटाइजरको निर्यातमा रोक लगाएपछि नेपालमा उत्पादन थलिएको हो । अहिले ती देशले निकासी खोलिसकेका छन् । ‘कोरोना महामारीसँगै स्यानिटाइजरको आयात बन्द भयो । आन्तरिक बजारमा माग बढ्न थालेपछि औषधि उद्योगहरू उत्पादनमा अग्रसर भएका छन्,’ दाहालले आर्थिक अभियानलाई भने ।

त्यसअघि बजारमा खासै माग नभएकाले औषधि उद्योगले पनि उत्पादनमा चासो लिएका थिएनन् ।

गत चैतयता स्वदेशका ४० ओटा उद्योगले स्यानिटाइजर उत्पादनको अनुमति लिइसकेको औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले जानकारी दिए ।

त्यसअघि प्रायः अस्पतालहरूमा मात्र उपयोग हुने स्यानिटाइजर अहिले प्रत्येक कार्यस्थलदेखि घरघरमा प्रयोग हुन थालेकाले बजार बढेको क्वेस्ट फर्मास्युटिकल्सका सञ्चालक पृथ्वीराज राजभण्डारीले बताए । कोरोना संक्रमण शुरू भएयता नेपालमा स्यानिटाइजर बजार ५० करोड रुपैयाँ बराबर पुगिसकेको उद्योगीहरूको अनुमान छ । स्यानिटाइजरको माग अझ बढ्ने अपेक्षा उनीहरूको छ । गत आर्थिक वर्ष २०७६/७७ मा भारत र चीनबाट रू. २४ करोड ५४ लाख बराबरको ५ लाख ३० हजार लिटर स्यानिटाइजर आयात भएको तथ्यांक भन्सार विभागसित छ । नेपालमा स्यानिटाइजर निर्यात गर्ने कम्पनीलाई दर्ता हुन विभागले सूचना गरेको र आठओटा कम्पनीले दर्ताका लागि आवेदन दिएको प्रवक्ता केसीले बताए ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)