पर्वत । मकै छर्ने बेलामा सहकारीमार्फत रासायनिक मल पाएका किसानले धानखेतीका लागि भने मल पाएका छैनन् । लकडाउनलगायत समस्याका कारण सहकारीमा मल पाइन छाडेको छ । बजारमा किन्न जाँदा पनि मन नपाउने गरेको किसानहरूले बताएका छन् ।
फलेवास–५ खानीगाउँका हिरामणि सापकोटाले वैशाख, जेठ र असारमा किसानलाई मल वितरण गरेका थिए । उनको सहकारीले वर्षौंदेखि किसानलाई सहुलियतमा मल वितरण गर्दै आएको छ । साउन लागेपछि भने सहकारीमा मल आपूर्ती भएको छैन । अहिले किसान मल माग्दै आउँदा छैन भन्ने जवाफ दिएर फर्काउने गरेका छन् ।
मल अभावकै कारण शंकरपोखरीका कमल जैसीले मलविनै धान रोपे । रोपेपछि मल राख्ने उनको सोच थियो । गोड्ने बेला भइसक्दा पनि उनले मल पाएका छैनन् । ‘६ हलको मेलो रहेको खेतमा मलको गेडो हाल्न पाइएन’, जैसीले भने, ‘गावो पहेंलो भइसक्यो । बजारमा मल खोज्दा नपाएपछि धान मर्न थालेको छ ।’
कोरोनाका कारण बाली लगाउँदादेखि नै मलको समस्या भोग्दै आएका किसानले सलहको समस्या समेत भोगे । अहिले फेरि मलको समस्या शुरू भएको छ । ‘डीएपी मात्रै बजारमा पाइयो’, बिहादी–३ रानीपानीका रामप्रसाद पराजुलीले भने, ‘युरिया नभए बाली नसप्रिने रहेछ । कृषि सामग्री केन्द्रमा बुझ्दा मल आउँछ भन्छन् । तर, अहिलेसम्म आएन ।’ धानमा मल छर्न नपाएकाले किसान उत्पादन घट्ने चिन्तामा छन् ।
लकडाउनको बेला पनि किसानलाई मल आपूर्ती गर्दै आएको कृषि सामग्री केन्द्रमा अहिले युरिया नै छैन । केन्द्र प्रमुख नारायणप्रसाद शर्मा वीरगञ्जस्थित डिपोमै मल नभएका कारण पर्वतमा आपूर्ती हुन नसकेको बताउँछन् । उनले साउनदेखि नै निरन्तर रूपमा माग गरे पनि भारतबाटै आपूर्ति रोकिएकाले मुख्य डिपो रित्तिएको बताए । ‘यो वर्षको धानखेतीलाई मल उपलब्ध गराउन सक्ने अवस्था छैन’, कृषि सामग्री केन्द्रका प्रमुख शर्माले भने, ‘डीएपी पनि थोरै मात्रै स्टक छ । पर्वतमा मात्रै होइन देशभर नै अभाव छ ।’
पर्वतस्थित कृषि सामग्री केन्द्रले वैशाख, जेठ र असारमा ५४३ टन मल वितरण गरेको छ । यसमा युरिया ३३९.८ टन र डीएपी १४१.१५० टन वितरण गरेको थियो । विभिन्न कृषि सहकारीमार्फत केन्द्रले मल विक्रीवितरण गर्दै आएको छ ।
मल नपाएपछि कतिपय किसानले भारतीय सीमानाबाट समेत खरीद गरेर छरेका छन् । तर, अहिले नाकामा कडाई र पुनः बन्दाबन्दी शुरू भएपछि भारतीय बजारबाट समेत मल ल्याउन सहज नभएको उनीहरूको भनाइ छ । ‘सुनौलीबाट १० किलो मगाएर रोप्ने बेला पातलो पातलो छर्कियो’, पैयुँका धर्मप्रसाद शर्माले भने, ‘अहिले नाका सबै बन्द भएकाले भारत जाने अवस्था छैन ।’ धान नरोप्दै खेतमा डीएपी छर्ने र रोपिसकेपछि युरिया छर्ने चलन छ ।
बजारमा युरिया अभाव भइरहेको बेला अमुनियम सल्फेट प्रयोग गर्न थालिएको छ । बजारमा एग्रोभेटहरूले युरिया नपाइएपछि अमुनियम सल्फेट किसानलाई विक्री गर्न थालेका हुन् । कृषि प्राविधिकका अनुसार युरियामा भन्दा आमुनियम सल्फेटमा नाइट्रोजनको मात्रा आधा कम हुन्छ । युरिया भन्दा यो महँगो समेत पर्छ । मात्रा मिलाएर छर्न नजान्दा कतिपय किसानको लगानी खेर गएको कृषि ज्ञान केन्द्रका प्रमुख बासुदेव रेग्मीले बताए ।
जिल्लामा करीब २८ हजार हेक्टर खेतीयोग्य जमीनमध्ये २० हजार हेक्टर जमीनमा धानखेती हुने गरेको छ ।