ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

राजस्व संकलनमा क्रमिक सुधार

२०७७ भदौ, ४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । कोरोना महामारी तथा बन्दाबन्दीका कारण गत आवमा प्रभावित सरकारको राजस्व संकलनमा पछिल्लो समय सुधार देखिएको छ ।

सरकारले साउनको पहिलो साताबाट बन्दाबन्दी हटाएसँगै राजस्व असुली लक्ष्य नजीक पुगेको सरकारी अधिकारीहरू बताउँछन् ।

सरकारी खर्चको हिसाब राख्ने महालेखा नियन्त्रकको कार्यालयका अनुसार साउन महीनामा सरकारले ५८ अर्ब ८१ करोड रुपैयाँ राजस्व उठाएको छ । भदौ २ सम्ममा यो ६१ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ ।

पछिल्लो १ सातामा मात्रै ३० अर्बभन्दा बढी राजस्व संकलन भएको तथ्यांकले देखाउँछ । महालेखा नियन्त्रकको तथ्यांकअनुसार साउन २५ गतेसम्म सरकारले ३१ अर्ब रुपैयाँ मात्रै राजस्व उठाउन सकेको थियो । तर, गत आर्थिक वर्षमा उठ्न बाँकी भ्याट र अन्तःशुल्कको रकम प्राप्त भएकाले पछिल्लो साता राजस्व असुलीमा सुधार भएको आन्तरिक राजस्व विभागका अधिकारीहरू बताउँछन् ।

विभागका उपमहानिर्देशक मुक्ति पाण्डेका अनुसार साउनमा विभागले करीब ३५ अर्ब रुपैयाँको लक्ष्य राखेकोमा ३४ अर्ब ७४ करोड रुपैयाँ राजस्व संकलन भएको छ । गत आवको पहिलो महीनाकै हाराहारीमा चालू आवको साउन महीनामा राजस्व संकलन भएको उनको भनाइ छ ।

विभागका अनुसार भ्याट र आयकर गरी साउनमा २९ अर्ब ३३ करोड रुपैयाँ संकलन भएको छ । अन्तःशुल्कतर्फ भने साउनमा ५ अर्ब ४१ करोड मात्रै उठेको छ । विशेषगरी अन्तःशुल्कतर्फ रक्सी र सुर्तीजन्य वस्तुबाट अपेक्षा गरेअनुरूप राजस्व उठ्न नसकेको अर्थ मन्त्रालयले बताएको छ । कोरोनाका कारण मदिराको बजार खस्किएको र उद्योगसमेत बन्द भएकाले अन्तःशुल्क तर्फको राजस्वमा गिरावट आएको विभागको निष्कर्ष छ ।

भन्सारतर्फको राजस्वमा भने सुधार आएको भन्सार विभागका निर्देशक शिशिर घिमिरेले बताए ।

उनका अनुसार साउनमा भन्सार राजस्व करीब २३ अर्ब रुपैयाँ उठेको छ । साउनमा १९ अर्ब ८९ करोडको लक्ष्य राखिएकोमा २२ अर्ब ८४ करोड रुपैयाँ असुली भएको निर्देशक घिमिरे बताउँछन् । बन्दाबन्दी खुलेयता खाद्यान्न, लत्ताकपडालगायत अत्यावश्यक सामग्रीका साथै डिजेल, पेट्रोल, मोटरसाइकलजस्ता वस्तुको आयात बढ्दा भन्सारतर्पm राजस्व संकलनमा सुधार आएको उनको भनाइ छ ।

राजस्व संकलनमा सुधार देखिएपछि अर्थमन्त्री डा. युवराज खतिवडाले समेत आफ्ना अधिकारीहरूलाई धन्यवाद दिएका छन् । बुधवार विभागीय अधिकारीहरूसँग साउन महीनाको समीक्षा गर्दै उनले वार्षिक लक्ष्यअनुसार तयार गरिएको कार्ययोजना अनुसार आगामी दिनमा समेत कार्यसम्पादन गर्न अधिकारीहरूलाई निर्देशन दिए । कोरोना नियन्त्रण तथा रोकथाममा सरकारले लगाएको निषेधाज्ञाका कारण बजारमा तरलताको अभाव हुनेतर्फ संकेत गर्दै मन्त्री खतिवडाले आन्तरिक ऋण उठाउनेतर्फ पनि गृहकार्य गर्न निर्देशन दिएको अर्थ मन्त्रालय स्रोतले बतायो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)