ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महासंघ चुनावका लागि तीन मोडालिटी प्रस्ताव

२०७७ भदौ, ४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar काशीराम बजगाईं

काठमाडौं । नेपालका उद्योगी व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको चुनावका लागि मोडालिटी तयार गर्न गठित समितिले महासंघलाई तीनओटा मोडालिटीमा चुनाव गर्न सकिने सुझाव दिएको छ । बुधवार मोडालिटी तयार गर्न बनेको समितिको औपचारिक छलफलले चुनावका लागि तीनओटा मोडालिटी तयार गरेर सुझाव दिने निर्णय गरेको हो ।

समितिले कोरोनाको जोखिम कम भएपछि तीन तहकै चुनाव काठमाडौंमै गर्न सकिने, दूरी कायम गरेर वस्तुगत एवम् एशोसिएटको चुनाव काठमाडौंमा तथा जिल्ला–नगरको चुनाव जिल्लामै गर्न सकिने तथा विद्युतीय मतदान गरी तीनओटा मोडालिटी तयार गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य मन्त्रालय, कोरोना रोकथाम, नियन्त्रण तथा उपचार केन्द्र (सीसीएमसी) लगायत विज्ञसँग सुझाव लिएर समितिले यी तीनओटा मोडालिटीमा चुनाव गर्न सकिने निष्कर्षसहितको प्रतिवेदन महासंघ कार्यसमितिलाई बुझाउने तयारी गरेको छ ।

समितिलाई मोडालिटी बनाउने जिम्मा दिएअनुरूप चुनाव गर्न तीनओटा मोडालिटी तयार गरिएको महासंघका सदस्य रञ्जित आचार्यले बताए । ‘कुन मोडालिटीमा चुनाव गर्ने र कहिले गर्ने भन्ने निर्णय महासंघ कार्यसमितिको आगामी बैठकले निर्णय गर्नेछ,’ उनले भने ।

गत चैत २८/२९ मा मिति तय भइसके पनि बढ्दो कोरोना संक्रमणका कारण सरकारले गरेको बन्दाबन्दीले पटकपटक चुनावको मिति तय भएर पनि स्थगन हुँदै आएको छ । यसले गर्दा महासंघभित्रै नेतृत्व हस्तान्तरणका लागि छिटो चुनाव गर्नुपर्ने दबाब परेको थियो । महासंघभित्र कोभिड–१९ को जोखिम कम भएपछि चुनाव गर्नुपर्ने र संक्रमणकै समय सामाजिक दूरी कायम गरी व्यवस्थित रूपमा चुनाव गर्नुपर्ने विषयमा दुई पक्षबीच आन्तरिक मतैक्य रहँदै आएको छ ।

साउन २२ मा बसेको महासंघ कार्यसमिति बैठकले नयाँ नेतृत्वका लागि हुने आसन्न चुनावको नयाँ मोडालिटी तयार गर्न कार्यसमिति सदस्यहरू रञ्जित आचार्य, भरत आचार्य, सुनील गोपाल श्रेष्ठ, अरुण सुमार्गी, विनोद ढकाल र डीबी बस्नेत सम्मिलित ६ सदस्यीय समिति गठन गरेको थियो ।

महासंघ कार्यसमिति बैठकले १५ दिनभित्र (आजसम्म) मोडालिटी तयार गरी कार्यसमितिमा बुझाउने अधिकार उक्त समितिलाई दिएको थियो ।

मोडालिटीमा छलफल भइसकेकामा सरकारले पुनः बिहीवारदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा गरेपछि उक्त मोडालिटी प्रतिवेदन कहिले बुझाउने भन्ने सहमति भइनसकेको समितिका सदस्य विनोद ढकालले जानकारी दिए ।

‘हामीलाई बिहीवारसम्म मोडालिटी तयार गरी बुझाउने कार्यभार सुम्पिएको थियो । ३ मोडालिटीमा छलफल भएकामा यसलाई कार्यसमितिमा कहिले बुझाउने भन्ने निर्णय आगामी छलफलबाट तय हुन्छ,’ उनले भने । चुनावसँगै हुने महासंघको ५४औं साधारणसभाले अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई महासंघ नेतृत्व हस्तान्तरण गर्नेछ ।

महासंघ अध्यक्षमा गोल्छा पक्का भए पनि वरिष्ठ उपाध्यक्ष र ३ उपाध्यक्ष चुनावमार्फत चयन हुनेछन् । त्यसका लागि उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधानले आआफ्ना प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । पूर्वअध्यक्षहरूले मिलाएर लग्ने पहल गरे पनि त्यसले सार्थकता पाउन नसक्दा महासंघभित्र अन्तरसंघर्ष चर्किएको छ ।

वरिष्ठ उपाध्यक्ष ढकालको टिममा वस्तुगततर्फ उमेशलाल श्रेष्ठ, एशोसिएटतर्फ रामचन्द्र संघाई र जिल्ला–नगरतर्फ गुणनिधि तिवारी चुनावी मैदानमा छन् भने प्रधानको टिममा वस्तुगततर्पm अञ्जन श्रेष्ठ, एशोसिएटतर्फ सौरभ ज्योति र जिल्ला–नगरतर्फ दिनेश श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)