ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सरकारी अव्यवस्थाले उद्धार उडान प्रभावित भएको व्यवसायीको आरोप

क्वारेन्टाइनका लागि ३५ सय कोठा तयारी अवस्थामै रहेको हानको भनाइ

२०७७ भदौ, ४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । सरकारले होटल क्वारेन्टाइनको कारण देखाउँदै भदौ २ गतेदेखि चार्टर्ड उडान बन्द गरे पनि सरकारी अव्यवस्थाकै कारण उडान प्रभावित भएको व्यवसायीले आरोप लगाएका छन् । विदेशबाट आउने नेपालीलाई राख्न होटलको क्वारेन्टाइनका लागि कोठाहरू सुनिश्चितता नभएको भन्दै सरकारले भदौ १ गते चार्टर्ड उडान बन्द गर्ने निर्णय गरेको थियो ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति (सीसीएमसी)ले व्यवस्थापनको कारण देखाउँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई चार्टर्ड उडान उडान रोक्न आग्रह गरेपछि नेपाल आउन चाहेका नेपालीहरू अलपत्र परेका छन् । सरकारले एकाएक चार्टर्ड उडान बन्द गर्ने निर्णय गरेपछि नेपाल आउने आशामा दुबई एयरपोर्ट पुगेका ३०० नेपाली निराश भएर फर्किएका छन् । यद्यपि, मंगलवार यूरोपबाट टर्किस एयरमार्फत २९० जना नेपाली स्वदेश फर्किएका छन् ।

सीसीएमसीले नेपालमा पछिल्लो समय कोरोना संक्रमण र विभिन्न स्थानीय तहहरूले निषेधित क्षेत्र घोषणा गर्ने क्रम बढेको अवस्थामा थप तयारी पछिमात्र उडान गर्न उपयुक्त ठानेर चार्टर्ड उडान बन्द गरिएको पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए । ‘विदेशमा रहेका नेपालीहरू स्वदेश ल्याउनु सरकारको दायित्व हो । तर, काठमाडौंमा संक्रमण बढेको अवस्थामा थप व्यवस्थापन गरेर मात्र ल्याउनुपर्छ भन्ने धारणा छ । उडान बन्द नै होइन, केही व्यवस्थापनपछि उडान पुनः शुरू हुन्छ,’ उनले भने । मानिस ल्याउनु मात्र भन्दा पनि त्यसको व्यवस्थापन महŒवपूर्ण भएकाले त्यसबारे छिट्टै थप निर्णय हुने उनले बताए ।

सीसीएमसीले क्वारेन्टाइनका लागि होटल व्यवस्थापनको सुनिश्चितता भएपछि मात्रै उडान स्वीकृति दिने भने पनि होटल व्यवसायीले पनि आफ्नो अव्यवस्था छोप्न होटल क्वारेन्टाइनको कुरा उठाएको आरोप लगाएका छन् । दैनिक ५०० नेपाली उद्धार गर्ने गरी यसअघि तय भएको चार्टर्ड उडान एक्कासि स्थगित गरिँदा स्वदेश फर्कने तयारीमा रहेका हजारौं नेपाली कामदार अलपत्र परेका छन् ।

होटल व्यवसायि हरूले क्वारेन्टाइनका लागि करीब ३ हजार ५०० कोठा तयारी गरेको भए पनि सरकारले होटलहरूले नै तयारी नगरेर बन्द गर्नुपरेको भन्ने धारणा गैर जिम्मेवार भएको होटल संघ नेपाल (हान)का वरिष्ठ उपाध्यक्ष विनायक शाहले टिप्पणी गरे । ‘क्वारेन्टाइनका लागि होटल प्रयोग गर्ने सहमतिअनुसार व्यवसायीले स्वास्थ्य प्रोटोकल पूरा गरी बिदामा रहेका कर्मचारीलाई बोलाएर आवश्यक तयारी गरेका थियौं । सरकारकै अनुरोधमा ३ हजार ५०० कोठा क्वारेन्टाइनका लागि तयार थिए । तर, अन्तिममा उल्टै हामीलाई आरोप लगाएर सरकार पानीमाथिको ओभानो बनेको छ,’ उनले भने ।

उपाध्यक्ष शाहले विदेशबाट आएकाहरूलाई सकेसम्म सहुलियत गराउन सकियोस् भनेर न्यूनतम रू. १ हजार ८०० सयमै कोठा उपलब्ध गराइएको भए पनि कम मानिसले मात्र होटलको क्वारेन्टाइन प्रयोग गरेको जानकारी दिए । शाहका अनुसार भदौ १ गते नेपाल आएका करीब ४०० नेपालीमध्ये १७ जनाले मात्र होटलको क्वारेन्टाइन प्रयोग गरेका थिए । बाँकी सरकारी क्वारेन्टाइनमा गएका थिए ।

विदेशमा रहेका नेपाली उद्धार गर्ने योजना अनुसार सरकारले पहिलो चरणमा साउन ३१ गतेसम्म ५१ हजार ४४१ जना नेपाली स्वदेश फर्किएका थिए । त्यतिबेला करीब १० प्रतिशत मात्र होटल क्वारेन्टाइनमा बसेका थिए भने बाँकी सबै ‘होम क्वारेन्टाइन’मा बस्ने भन्दै आआफ्नो घरमा गएका थिए । विदेशबाट फर्किएका नेपालीहरूले अनिवार्य रूपमा सात दिनसम्म होटल क्वारेन्टाइनमा बस्नु पर्ने प्रावधान बनाइएको थियो । त्यही अनुरूप काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा रहेका होटल व्यवसायीले क्वारेन्टाइनका लागि ३ हजार ५०० कोठा तयारी अवस्थामा राखेका थिए । दोस्रो चरणको उद्धारअन्तर्गत सोमवार ४०० जना नेपाली विदेशबाट फर्किएका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)