ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बढ्यो निर्जीवन बीमा कम्पनीहरूको नाफा

बीमा शुल्क संकलन वृृद्धिदर भने घट्यो

२०७७ भदौ, ४  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मिलन विश्वकर्मा

काठमाडौं । कोरोना संक्रमणको महामारीका बीच पनि गत आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीहरूको औसत नाफामा वृद्धि भएको छ । आव २०७५/७६ मा ८ दशमलव ६० प्रतिशतले बढेको निर्जीवन बीमा कम्पनीहरूको नाफा आव २०७६/७७ मा १२ दशमलव ४१ प्रतिशत बढेको छ ।

बुधवारसम्म २० निर्जीवन बीमा कम्पनीमध्ये १८ कम्पनीले सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिक वित्तीय विवरणमा नाफा बढेको देखिएको हो । भारतीय स्वामित्वका नेशनल र द ओरियन्टल इस्योरेन्सले भने वित्तीय विवरण सार्वजनिक गरेका छैनन् ।

सार्वजनिक भएको वित्तीय विवरणअनुसार गत आवमा १८ कम्पनीले ४ अर्ब ३६ करोड रुपैयाँ खुद नाफा कमाएका छन्, जुन अघिल्लो आवको भन्दा ४१ करोड २१ लाख रुपैयाँले बढी हो । आव २०७५/७६ मा ती कम्पनीले ३ अर्ब ८८ करोड रुपैयाँ खुद नाफा कमाएका थिए ।

निर्जीवन बीमा कम्पनीहरूको व्यवसायमा सबभन्दा ठूलो अंश यातायात र उद्योग क्षेत्रको हुन्छ । तर, बन्दाबन्दीका कारण करीब ४ महीनासम्म सवारीसाधन र उद्योगहरूदेखि लिएर ट्रेकिङ, होटेल, हवाई क्षेत्र पनि बन्द रहेको र ती कम्पनीमा बीमा दाबी नआउँदा नाफा बढ्न गएको सम्बद्ध क्षेत्रका अधिकारीहरू बताउँछन् ।

एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनीलवल्लभ पन्त दाबी कम परेकाले नै नाफा बढेको बताउँछन् । ‘बन्दाबन्दीका कारण सवारीसाधन, उद्योगलगायत क्षेत्र ठप्प भए,’ उनले भने, ‘त्यसैको फलस्वरूप बीमा कम्पनीहरूमा पनि सामान्य अवस्थामा जस्तो दाबी आएन । सोही कारणले कम्पनीहरूको नाफामा कुनै असर परेन ।’

नाफा कमाउनेमा राष्ट्रिय बीमा कम्पनी नै अग्र स्थानमा देखिएको छ । गत आवमा उक्त कम्पनीले रू. ६३ करोड ८५ लाख खुद नाफा कमाएर पहिलो स्थान ओगटेको छ । तर, यस कम्पनीको नाफा आव २०७५/७६ को तुलनामा १८ दशमलव २६ प्रतिशत घटेको छ ।

बन्दाबन्दीले कम्पनीहरूको नाफा प्रभावित नभए पनि बीमाशुल्क संकलनमा भने ठूलै असर पुगेको देखिएको छ । गत आवमा निर्जीवन बीमा कम्पनीहरूको बीमाशुल्क संकलन वृद्धिदर नै खुम्चिएको तथ्यांकले देखाएको छ ।

आव २०७५/७६ मा निर्जीवन बीमा कम्पनीहरूको बीमाशुल्क संकलन १७ दशमलव ७९ प्रतिशतले बढेको थियो । तर, गत आवमा यस्तो बीमाशुल्क संकलन औसतमा ६ दशमलव ६५ प्रतिशतले मात्र बढेको छ ।

वित्तीय विवरणअनुसार आव २०७५/७६ मा १८ कम्पनीले २३ अर्ब ९२ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए । तर, गत आवमा त्यो भन्दा रू. १ अर्ब ५९ करोडले बढी अर्थात् रू. २५ अर्ब ५१ करोड बीमाशुल्क संकलन भएको छ ।

बन्दाबन्दी कारण नयाँ व्यवसाय सञ्चालन नहुनु र पुराना व्यवसाय नवीकरण नहुँदा बीमाशुल्क संकलन वृद्धिदरमा कमी आएको हो । युनाइटेड इन्स्योरेन्सका कामु सीईओ रमेशकुमार भट्टराईले गत आवको अन्त्यतिर बैंकमार्पmत गरिएको बीमाको मात्र नवीकरण भएको जानकारी दिए ।

‘यस अवधिमा नयाँ व्यवसाय लगभग शून्य नै थियो । नवीकरण पनि सोचेअनुरूप भएन,’ उनले भने, ‘यी कारणले गत आवमा बीमाशुल्क संकलन सन्तोषजक देखिएन ।’
गत आवमा बीमाशुल्क संकलनमा शिखर इन्स्योरेन्स पहिलो नम्बरमा र≈यो । शिखरले गत आवमा ३ अर्ब ५२ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यस्तै, दोस्रो नम्बरमा सगरमाथा इन्स्योरेन्सले २ अर्ब १९ करोड रुपैयाँ र तेस्रो स्थानमा रहेको सिद्धार्थ इन्स्योरेन्सले २ अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

गतवर्ष पाँच कम्पनीको बीमाशुल्क संकलन भने घटेको छ । तथ्यांकअनुसार हिमालयन जनरल इन्स्योरेन्सको ५ दशमलव ११ प्रतिशतले बीमाशुल्क घटेको छ । यस्तै, राष्ट्रिय बीमा कम्पनीको ५ दशमलव १७, लुम्बिनी जनरलको १० दशमलव ८७, नेपाल इन्स्योरेन्सको शून्य दशमलव १३ र प्रुडेन्सियल इन्स्योरेन्सको १७ दशमलव २१ प्रतिशतले बीमाशुल्क संकलन घटेको छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)