ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

म्याग्दीमा विप्रेषण : जीवनस्तर बदलियो, दीर्घकालीन विकासमा लगानी भएन

२०७७ भदौ, ५  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । म्याग्दीका जनताको जीवनस्तर सुधार हुनुमा सरकारी बजेट भन्दा विप्रेषणको प्रभाव बढी छ । म्याग्दीको समृद्धिका आधारहरू राज्यको नीति, योजना र विकाससँग सम्बन्धित भए पनि समृद्धिको जग भने रेमिट्यान्स नै हुने देखिन्छ । वार्षिक रू. ४ अर्बको हाराहारीमा विप्रेषण भित्रिने म्याग्दी वैदेशिक रोजगारीबाट धानिदै आएकाले ‘लाहुरेको जिल्ला’ भनेर पनि चिनिन्छ ।

वैदेशिक रोजागर, जलविद्युत्, पर्यटन, जडीबुटी, खनिज, पशुपालन र कृषिलाई अधिकतम सदुपयोग गर्न सक्ने हो भने जिल्लाको कायापलट हुन सक्ने प्रशस्त आधारहरू रहेको म्याग्दीका राजनीतिक दलका नेताहरू र उद्योगी व्यवसायीहरू समेत बताउँछन् ।

करीब ४ अर्बको हाराहारीमा रेमिट्यान्स भित्रिने म्याग्दीमा त्यो पैसालाई यहाँ रहेका प्राकृतिक श्रोतहरूको उपयोग गर्ने उद्यममा लगानी गर्ने हो भने १० वर्षमा नै म्याग्दी सबै कुराबाट समृद्ध बन्न सक्ने उनीहरूको भनाइ छ । अहिलेसम्म वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्स जिल्लाबाहिर घरघडेरी जोड्ने र जिल्लाभित्र अनुत्पादक क्षेत्रमा नै खर्च हुने गरेको छ ।
सदरमुकाम बेनीमा अवस्थित गरिमा विकास बैंकको बेनी शाखामा मात्रै वार्षिक रू. ३५ करोड भन्दा बढी रेमिट्यान्स भित्रिने गरेको शाखा प्रमुख कमल ढुंगानाले बताए । त्यसैगरी नेपाल बैंक लिमिटेड म्याग्दी शाखाबाट गत आर्थिक वर्षमा रू. ६२ लाख विप्रेषण वितरण भएको बैंकका शाखा प्रमुख मोहन पौडेलले जानकारी दिए ।

त्यसैगरी नेपाल क्रेडिट एन्ड कमर्स बैंक म्याग्दीले गत आर्थिक वर्षमा मात्रै रू. ३ करोड २५ लाख भन्दा बढी रेमिट्यान्स वितरण भएको शाखा प्रमुख लक्ष्मण शर्माले बताए । म्याग्दीमा रहेका तीन दर्जन बढी बैंक तथा वित्तीय संस्थाहरूमा यही अनुपातमा नै विप्रेषण भित्रिने र वितरण हुने गरेको पाइएको छ ।

‘करीब ५ वर्षसम्म म्याग्देली युवाहरूले विदेशमा कमाएर पठाएको पैसालाई अन्यत्र लगानी नगरी जिल्ला भित्रका प्राकृतिक श्रोतहरू जलविद्युत्, खानी सञ्चालन, पशुपालन, कृषि र जडिबुटी क्षेत्रमा लगानी गरी त्यसबाट व्यावसायिक लाभ लिन सक्ने वातावरण सरकारले बनाउन सक्यो भने १० वर्षमा म्याग्दी समृद्ध जिल्ला बन्छ’, म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष सुविन श्रेष्ठले भने ।

समृद्ध र उज्यालो म्याग्दीको भविष्य यहाँ रहेका जलविद्युत् आयोजनाहरूको भविष्यसँग जोडिएको छ । ‘कालीगण्डकी, म्याग्दी, रघुगंगाजस्ता नदीहरूबाट म्याग्दीमा २ हजार २०० मेगावाट जलविद्युत् उत्पादन गर्न सकिने भए पनि राज्यको नीतिगत व्यवस्था झन्झटिलो हुनका साथै लगानीमैत्री वातावरण बन्न नसक्दा समस्या उत्पन्न भएको श्रेष्ठको भनाइ छ ।
अनुत्पादक काममा रेमिट्यान्स खर्च

जिल्लामा धेरै विप्रेषण रकम भित्रिने भए पनि त्यसबाट दीर्घकालीन विकास र समृद्धिका कामहरू भने हुन सकेका छैनन् । नेपाल बैंक लिमिटेड म्याग्दी शाखाका प्रमुख मोहन पौडेलका अनुसार जिल्लामा भित्रिएको रेमिट्यान्सको अधिकांश हिस्सा घरघडेरी र मनोरञ्जनका क्षेत्रमा नै खर्च हुने गरेको पाइएको छ ।
शाखा प्रमुख पौडेलका अनुसार विप्रेषणको ठूलो हिस्सा खाडी मुलुकमा गएका म्याग्देलीबाट आउने गरेको छ । तर, त्यो रकम उत्पादनमुखी क्षेत्रमा भन्दा अनुत्पादक क्षेत्रमा नै खर्च भइरहेको छ ।

प्राकृतिक स्रोतसँग जोडिन सकेन विप्रेषण
समृद्ध म्याग्दीको पहिलो आधार रेमिट्यान्स भए पनि यो अस्थायी भएकाले यसलाई प्राकृतिक स्रोतसँग जोडेर दीर्घकालीन आम्दानीको स्रोत बनाउन सकिन्छ । तर, अहिलेसम्म त्यतातिर कसैले सोच्न नसकेको सरोकारवालाहरूले बताएका छन् ।

२ हजार २०० मेगावाट विद्युत् उत्पादनको स्रोत रहेको म्याग्दीका खोला तथा नदीहरू लगानीको प्रतिक्षामा छन् । म्याग्दीको विकास र समृद्धिको ढोका मानिएको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर निर्माणले तीव्रता पाएसँगै म्याग्दीमा उज्यालो भविष्यको आशा गर्नेहरूको संख्या बढेको छ ।

भारतसँग सीमाना जोडिएको सुनौलीदेखि हिमाली जिल्ला मुस्ताङ हुँदै तिब्बती नाका कोरला जोड्ने कालिगण्डकी कोरिडोरको निर्माणसँगै प्राचिन समयमा भारत र भोट (तिब्बत)को प्रमुख व्यापारिक नाका मानिएको बेनीबजारको भविष्य पुनः चम्किलो बन्न सक्ने आशामा स्थानीय व्यापारी, व्यवसायीहरू छन् ।

वार्षिक ५० हजार भन्दा बढी विदेशी पर्यटकहरू भित्रिने म्याग्दीमा समृद्धिको भरपर्दो आयस्रोत पर्यटन व्यवसाय पनि हो । तर, पर्यटकका लागि आवश्यक पूर्वाधारहरूको निर्माणमा कसैको ध्यान पुगेको छैन । पछिल्लो एक तथ्यांक अनुसार पर्यटनबाट म्याग्दीमा वार्षिक रू. डेढ अर्ब भन्दा बढी रकम भित्रिएको देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)