धनगढी । कैलालीको गोदावरी नगरपालिका–१ दुर्गामन्दिर पछाडि सुविधासम्पन्न पार्क निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार पारिएको छ । नगरपालिकाले तयार पारेको उक्त डीपीआर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेश गरिएको छ । शहरी सौन्दर्य बढाउन, पर्यटन प्रवद्र्धन गर्न र वातावरण संरक्षणका लागि पार्क बनाउन लागिएको हो ।
पार्क निर्माण सम्पन्न गर्न १० करोड रुपैयाँसम्म खर्च हुने नगरपालिकाले बताएको छ । गत आर्थिक वर्षदेखि नगरपालिकाले केही बजेट विनियोजन गरेर पार्क निर्माणस्थलमा पर्खाल लगाउने काम थालेको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले बताए । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले अत्तरिया बजारमा उक्त पार्क बनाउन लागिएको उनको भनाइ छ ।
सुविधासम्पन्न पार्क निर्माणका लागि डीपीआर तयार पारेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेश गरिसकिएको गोदावरी–१ का वडाध्यक्ष एवं नगरपालिका कार्यालयका प्रवक्ता शर्मानन्द भट्टले बताए । पार्कको लागत बढी भएकाले नगरपालिकाले पर्खाल लगायत स–साना निर्माणमा मात्र खर्च गर्न सक्ने अवस्था रहेको उनको भनाइ छ । पार्क निर्माणका लागि चालू आर्थिक वर्षमा शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयबाट १० लाख रुपैयाँ विनियोजन भएको उनले जानकारी दिए ।
नगरपालिकाले पार्कको पर्खाल निर्माण लगायत काममा अहिलेसम्म १५ लाख रुपैयाँ खर्च गरेको बताइएको छ । यद्यपि खर्चअनुरूप काम नदेखिएको गोदावरी नगरपालिका–१ का स्थानीय विन्दु जोशीले बताइन् । यसअघि ५ लाख रुपैयाँ खर्चेर वनस्पति अनुसन्धान केन्द्र कैलालीले पार्कभित्र पूmलहरू रोपेर हराभरा बनाएको दाबी गरे पनि पार्कभित्र केही पनि नदेखिने स्थानीयको भनाइ छ ।
१२ बिगाहा क्षेत्रफलमा बनाउन लागिएको पार्क सुरक्षा सामुदायिक वनभित्र पर्छ । पार्क सुरक्षाको जिम्मा सोही सामुदायिक वनलाई दिइए पनि सुरक्षामा सामुदायिक वन अनभिज्ञ जस्तै देखिएको छ । पार्कको घेराबार नहुँदा पार्कभित्र छाडा पशुचौपाया निर्बाध प्रवेश गर्ने गरेकाले यसअघि पार्कमा भएको लगानी बालुवा पानी सरह हुन पुगेको टिप्पणी अर्का स्थानीय महेश विश्वकर्माले गरे । निर्माण गरिएको पर्खालको संरक्षण नहुँदा केही भाग भत्किन पुगेको बताइएको छ ।
यद्यपि बढ्दो शहरीकरणले खुला सार्वजनिक स्थल खुम्चिँदै गएका बेला गोदावरीमा शुरू गरिएको पार्क निर्माण अभियान अन्य नगरपालिकाका लागि उदाहरणीय बन्न सक्ने देखिएको छ । ‘संसारका विकसित देशमा पार्क, म्युजियम, अनुसन्धान केन्द्रहरू बनेका छन् । त्यहाँ सबैलाई सहज रूपमा घुम्ने, खेल्ने, मनोरञ्जन गर्ने ठाउँ छन्,’ प्रमुख प्रशासकीय अधिकृत विष्टले भने, ‘हामीले अरू देशको अनुभव र आफ्नो आवश्यकता हेरेर पार्क निर्माणका लागि डीपीआर तयार पारेका हौं ।’
कोलाहल र व्यस्त दिनचर्याबाट फुर्सदको समय सही ठाउँमा व्यतीत गर्न र पर्यटक आकर्षित गरी आर्थिक क्रियाकलाप बढाउन पार्क निर्माणलाई प्राथमिकता दिने सके अत्तरिया क्षेत्रको विकासमा ठूलै मद्दत मिल्ने सरोकारवालाहरू बताउँछन् । पार्क निर्माणले शहरी सौन्दर्य बढाउन, पर्यटन प्रवद्र्धन गर्न र वातावरण संरक्षणमा महŒवपूर्ण टेवा पुग्ने अपेक्षा नगरपालिकाले राखेको छ ।