धनगढी । सुदूरपश्चिममा वर्षेनि डेढ अर्ब रुपैयाँ बराबरको चामल आयात हुने गरेको छ । सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले संकलन गरेको चामल आयातसम्बन्धी तथ्यांकले यस्तो देखाएको हो ।
प्रदेशको प्रमुख भन्सार नाका कैलाली भन्सार नाका हुँदै छिमेकी भारतबाट आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब ४८ करोड मूल्य बराबरको चामल आयात भएको छ । लामो समयको लकडाउनका कारण २०७६ चैत ११ देखि २०७७ असारसम्म चामल आयातमा केही कमी देखिएको छ । तर, बाँकी समय भने आयात बढ्दो क्रममा रहेको देखिन्छ ।
कैलाली भन्सार हुँदै सुदूरपश्चिममा आव २०७५÷७६ मा २५ हजार १२१ मेट्रिकटन चामल आयात भएको छ । उक्त अवधिमा आयात गरिएको चामलको मूल्य १ अर्ब २८ करोड ५५ लाख रुपैयाँ रहेको प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जानकारी दिएको छ । गत आव २०७६/७७ मा लकडाउन शुरू भएपछि ६१ करोड मूल्य बराबरको ११ हजार ३१७ मेट्रिक टन चामल आयात भएको मन्त्रालयका वरिष्ठ बागवानी विकास अधिकृत खगेन्द्रप्रसाद शर्माले बताए ।
सुदूरपश्चिम प्रदेशका कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी नाका, दार्चुला र बैतडीबाट समेत वैध/अवैध रूपमा चामल आयात हुने गरेको भन्सार कार्यालयका अधिकारीहरू नै स्वीकार्छन् । कैलालीको गौरीफन्टा नाकाबाट वैधानिक रूपमै ठूलो परिमाणमा चामल आयात हुने गरेको छ ।
सुदूरपश्चिम प्रदेशसँग जोडिएका सीमा नाकाहरूबाट विवाह, व्रतबन्धलगायत शुभ कार्यमा विनाभन्सार चामल आयात हुने गरेको स्थानीय सुरज विष्टले बताए । कैलाली, कञ्चनपुरमा सञ्चालित अधिकांश खाद्य उद्योग सञ्चालकले भारतबाट खुला चामल आयात गरेर आफ्नो उद्योगको नाम राखी विक्री गर्ने गरेकाले पनि वर्षेनि चामल आयातमा करोडौं रुपैयाँ बाहिरिने गरेको छ ।
सुदूरपश्चिम प्रदेशमा हरेक वर्ष धान उत्पादनमा वृद्धि हुँदै गएको मन्त्रालयले दाबी गर्दै आएको छ । तर भारतबाट आयातित चामललाई आफ्नो उद्योगको नाम राखेर नेपालमा बनेको लेख्ने क्रम बढिरहेको धनगढी उपमहानगर–१ का स्थानीय सहदेव चन्दले गुनासो पोखे । मन्त्रालयका अनुसार आव २०७५÷७६ मा प्रदेशमा ६ लाख ५ हजार मेट्रिकटन धान उत्पादन भएको थियो भने आव २०७६/७७ मा ६ दशमलव ७ प्रतिशतले धान उत्पादन बढेको छ । आव २०७६÷७७ मा ६ लाख ४६ हजार मेट्रिकटन धान उत्पादन भएको मन्त्रालयले बताएको छ ।
यस वर्ष किसानले समयमै धान रोप्न पाएकाले उत्पादन बढ्ने अपेक्षा गरिएको खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवद्र्धन महाशाखा प्रमुखसमेत रहेका शर्माले जानकारी दिए । तर मल नपाउँदा सोचेअनुरूप उत्पादन बढाउन नसकिएको गुनासो कतिपय अगुवा कृषकहरूको छ ।
सुदूरपश्चिममा डीएपी ७ हजार ५० मेट्रिकटन, युरिया ८ हजार मेट्रिकटन र पोटास २ सय ७५ मेट्रिकटन मात्र भण्डार क्षमता रहेको कृषि सामग्री कम्पनी लिमिटेड धनगढीले बताएको छ । ‘मागअनुसार मल आउँदैन । समयमै मल नआउँदा यहाँका अधिकांश किसान मलविनै खेतीकिसानी गर्न बाध्य हुनु परेको गुनासो गर्छन्,’ कम्पनीका धनगढी शाखा प्रमुख नवलसिंह बोगटीले भने ।
यो वर्ष सुदूरपश्चिम प्रदेशमा १ लाख ८१ हजार ६०४ हेक्टरमा धान रोपाइँ भएको मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार अछाममा १६ हजार ५८०, डोटीमा १० हजार ८९८, कैलालीमा ७१ हजार ७१५ र कञ्चनपुरमा ४८ हजार ३७५ हेक्टरमा धान खेती गरिएको छ । त्यस्तै, डँडेलधुरामा ६ हजार २२६ हेक्टर, दार्चुलामा ४ हजार ४८० हेक्टर, बाजुरामा ७ हजार २२० हेक्टर, बझाङमा ७ हजार ११० हेक्टर र बैतडीमा ९ हजार हेक्टरमा धान खेती हुने गरेको छ । प्रदेशभित्र कुल खेतीयोग्य जमीनमध्ये करीब ५५ प्रतिशतमा मात्र सिँचाइ सुविधा रहेको कृषि निर्देशनालयले बताएको छ । निर्देशनालयका अनुसार कुल खेतीयोग्य जमीनमध्ये १ लाख ६९ हजार ७८५ हेक्टरमा सिँचाइ सुविधा पुगेको छ । यस्तै १ लाख १३ हजार ३०२ हेक्टरमा वर्षैभरि सिँचाइ सुविधा छ भने ५६ हजार ४८३ हेक्टरमा आंशिक सिँचाइ सुविधा पुगेको छ ।