ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अन्तःशुल्क स्टीकर छपाइ १ महीनाभित्र शुरू हुने

२०७७ भदौ, ८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । मदिरा र चुरोटमा टाँसिने अन्तःशुल्क स्टीकर छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले १ महीनाभित्रै स्टीकर छपाइको काम शुरू गर्ने बताएको छ । स्टीकर छपाइका लागि आवश्यक कागज खरीदको सम्झौता जनक शिक्षाले कागज कोठीसँग गर्दै छ ।

कागज खरीदका लागि गरिएको टेन्डरमा सहभागी पाँच कम्पनीमध्ये सबैभन्दा सस्तोमा कबुल गरेको कागज कोठीलाई सम्झौताका लागि बोलाइएको जनक शिक्षाका एक उच्च अधिकारीले बताए ।

कागज कोठीका अध्यक्ष मनोहर दास मुलले सम्झौताका लागि छिट्टै जनक शिक्षा जाने तयारी गरेको अभियानलाई बताए । ‘हाम्रो कम्पनी छनोटमा परेको जानकारी आएको छ, निषेधाज्ञा सकिएलगत्तै सम्झौताका लागि जानेछौं,’ उनले भने ।

जनक शिक्षाका अनुसार कागज कोठीले ४० मेट्रिक टन कागज सम्झौता गरेको २० दिनभित्रै खरीद गरी ल्याउनुपर्नेछ । समयमै खरीद नगरे ठेक्का रद्दसम्म हुने जनक शिक्षाका महानिर्देशक महेशप्रसाद तिमिल्सिनाले बताए ।

तिमिल्सिनाका अनुसार १ महीनाभित्रै छपाइ थाल्न कागज खरीदसँगै स्टीकर छपाइका लागि आवश्यक अन्य उपकरणहरूको समेत बोलपत्र आह्वान गरिएको छ । ‘महीना दिनभित्रै काम शुरू हुन्छ, कुनै पनि बहानामा ढिलाइ हुनेछैन,’ तिमिल्सिनाले भने ।

उनका अनुसार शुरूमा ४० टन कागजको अन्तःशुल्क स्टीकर छपाइ हुनेछ । ‘पछि सरकारले माग गरेअनुसार छपाइ गरिनेछ,’ उनले भने ।

विभिन्न जिल्लामा लगाइएको निषेधाज्ञाका कारण कागज आपूर्तिमा केही समस्या आए सरकारले सहजीकरण गरिदिनुपर्ने मुलको भनाइ छ । ‘खरीदका बीच आपूर्तिमा समस्या आए सरकारले सम्बोधन गरिदिनुपर्नेछ, होइन भने सम्झौताअनुसार काम गर्न कठिन हुनेछ,’ उनले भने ।

अन्तःशुल्क स्टीकरको अभाव हटाउन केही समयअघि तत्कालका लागि छपाइको जिम्मा जनक शिक्षालाई दिने निर्णय केही साताअघि अर्थ मन्त्रालयले गरेको थियो । ग्लोबल टेन्डर आह्वान गर्दा मौज्दात सकिसक्ने र स्टीकरको चरम अभाव हुने अवस्था आउन सक्ने भएकाले स्वदेशमै छाप्नुपर्ने दबाबमा आन्तरिक राजस्व विभाग थियो ।

यसअघि स्टीकर खरीद प्रक्रियामा छनोट भएको इन्डोनेशियाली कम्पनी पेरुमपरुरीले ठेक्का सम्झौता गर्न नआएपछि सरकारले स्वदेशमै छपाइको विकल्प रोजेको हो । पेरुमपेरुरीले सबैभन्दा कम प्रस्ताव अर्थात् १ अर्ब ६५ करोड रुपैयाँमा स्टीकर छपाइ तथा आपूर्तिको प्रस्ताव गरेको थियो । अर्थ मन्त्रालय मातहतका निकायलाई आवश्यक पर्ने ४० प्रकारभन्दा बढीका स्टीकर सरकारले यसअघि ग्लोबल टेन्डरमार्पmत विदेशमा नै छाप्दै आएको छ । सरकारले आयकरबाहेक वार्षिक करीब ६५ अर्ब रुपैयाँ राजस्व मदिरा तथा सुर्तीजन्य वस्तुबाट प्राप्त गर्ने गर्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)