ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जगन्नाथ भ्यु–टावर निर्माणमा ढिलाइ

२०७७ भदौ, ८  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । म्याग्दीमा पर्यटकीय सम्भावना बोकेको केभहिलमा ३ वर्षअघि निर्माण शुरू गरिएकोे भ्यु–टावरले अझै पूर्णता पाउन सकेको छैन । स्थानीय तहले पर्याप्त बजेट छुट्याउन नसक्नु, उपभोक्ता समितिले समयमा काम नगर्नु र पछिल्ला महिना कोरोना महामारीका कारण जगन्नाथ भ्यु–टावरको निर्माणमा ढिलाइ भएको हो । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको गाजनेस्थित केभहिलको डिलमा भ्यु–टावर निर्माणाधीन छ । आर्थिक वर्ष २०७४÷७५ देखि भ्यु–टावर निर्माण शुरू गरिए पनि अहिलेसम्म पूर्णता पाउन सकेको छैन । वडा र नगरपालिकाले समयमै पर्याप्त मात्रामा बजेट व्यवस्थापन गर्न र कार्यान्वयन गराउन नसक्नाले पनि भ्यु–टावर निर्माणमा ढिलाइ भएको स्थानीयको भनाइ छ ।

जगन्नाथ मन्दिरको प्रचार प्रसारसहित गाजनेमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले केभहिलमा भ्यु–टावर निर्माण अगाडि बढाइएको थियो । तर समयमै बन्न नसकेपछि स्थानीयवासी चिन्तित बनेका छन् । खासगरी वडा कार्यालय र बेनी नगरपालिकाले भ्यु–टावर बनाउन नसकेको स्थानीयवासीले बताएका छन् । बेनी नगरपालिकाले भन्दा पछि निर्माण शुरू गरेका मंगला गाउँपालिकाले पर्यटकीयस्थल बराङ्जाको झाँक्रीपानी र रघुगंगाले राखुभगवतीको रुइसेमा भ्यु–टावर निर्माण गरिसकेकोमा बेनी नगरपालिकाले भने अहिलेसम्म सम्पन्न गर्न सकेको छैन ।

गाजनेमा भ्यु–टावर निर्माणका लागि आर्थिक वर्ष २०७४/७५ मा बेनी नगरपालिकाबाट १ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । भ्यु–टावर निर्माणका लागि नगर प्रमुख, उपप्रमुख, तत्कालीन प्रजिअसहितको उपस्थितिमा शिलान्यास गरिए पनि थप काम हुन सकेन ।

यसैगरी २०७५/७६ मा ५ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा भ्यु–टावर निर्माण करीब ५० प्रतिशत सकिएपछि बजेट अपुग भएको थियो । गत आर्थिक वर्षमा १० लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा कोरोनाका कारण जारी लकडाउनले गर्दा समयमै जनशक्ति र निर्माण सामग्री पुर्‍याउन नसक्दा निर्माणमा समस्या भएको बताइएको छ । त्यस्तै भ्यु–टावर निर्माणको जिम्मेवारी लिएका व्यक्तिले पनि समयमै काम नगर्दा बजेट फ्रिज भएकाले काम नसकिएको जगन्नाथ भ्यु–टावर निर्माण समितिका अध्यक्ष यामबहादुर बानियाँले बताए । निर्माण व्यवसायी रवि बानियाँले भने उपभोक्ता समितिको ढिलाइ, नगरपालिकाले समयमै इस्टिमेट नबनाउनु र लकडाउनले गर्दा भ्यु–टावर निर्माणमा समस्या भएको जिकीर गरेका छन् । कुल ३६ फिट उचाइको भ्यु–टावरको १ सय ७६ दशमलव ७१ वर्गफिट क्षेत्रफल र ७ ओटा ल्याण्डिङ (उक्लने र ओर्लने) भाग छन् । एकपटकमा करिब २५ जनासम्म चढेर अवलोकन गर्न सकिने क्षमताको भ्यु–टावरका सबै संरचना स्टिल–निर्मित हुनेछ । भ्यु–टावर निर्माणको लागत इस्टिमेटअनुसार कुल २० लाख ६९ हजार ५५६ रुपैयाँ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)