ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ब्याजदर घटाउँदै पुराना ऋणी तानातान

नयाँ माग नहुँदा कर्जा प्रवाह ऋणात्मक बन्दै

२०७७ भदौ, ८  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ममता थापा

काठमाडौं । बैंकहरूले नयाँ आधार मूल्य कायम गरी कर्जाको ब्याजदर घटाएर ऋण प्रवाह गर्न खोजे पनि नयाँ कर्जा प्रवाह हुन सकेको छैन । अधिक तरलताको स्थिति आएपछि बैंकका पुराना ऋणी कम ब्याजदर भएको बैंकमा ऋण सर्न थालेका छन् । बैंकले अहिले यस्ता पुराना ऋणीहरूलाई सस्तो ब्याजदर देखाउँदै तान्न प्रयास गरिरहेका छन् ।

पुराना ऋणीले आफ्नो ऋण तिर्ने अवधि बाँकी हुँदाहुँदै अर्को बैंकले कम ब्याजमा कर्जा ह्वात्तै घटाएर ऋणी तान्न आकर्षित गर्ने अस्वस्थ प्रतिस्पर्धा भएको बैंकरहरूले गुनासो गरेका छन् । केही ऋणीहरूले कर्जा अवधि पूरा नगरी बीचैमा अग्रिम भुक्तानी गरेर अर्को बैंकमा सार्ने अर्थात् ‘कर्जा स्वाप’ गर्ने प्रवृत्ति देखिएको केही बैंकरको दाबी छ । कोरोनाको महामारीका कारण नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि सेवा शुल्कसँगै पहिलो पटक कर्जा अग्रिम भुक्तानीको शुल्क तोकिदिएको छ ।

राष्ट्र बैंकले गत साउनमा एकीकृत निर्देशनबाट अग्रिम भुक्तानी तथा कर्जा स्वाप गर्दा वाणिज्य बैंकलाई शून्य दशमलव १५ प्रतिशत, विकास बैंकलाई शून्य दशमलव २ र वित्त कम्पनीलाई शून्य दशमलव ३ प्रतिशत शुल्क तिर्न सकिने व्यवस्था गरेको थियो ।

‘वाणिज्य, विकास बैंक र वित्त कम्पनीले कर्जा स्वीकृति गर्दा सेवा शुल्कबापत क्रमशः अधिकतम शून्य दशमलव ७५ प्रतिशत, १ प्रतिशत, १ दशमलव २५ प्रतिशतसम्म लिन पाइन्छ । तर, नवीकरण हुने प्रकृतिका चालू पूँजी कर्जामा नवीकरण शुल्क र प्रतिबद्धता शुल्क, अग्रिम भुक्तानी शुल्क तथा कर्जा स्वाप शुल्क अधिकतम २० प्रतिशतसम्म लिन सक्ने व्यवस्था गरिएको छ ।

बैंकहरूले लिइरहेको कर्जा स्वाप शुल्क राष्ट्र बैंकले घटाइदिएकाले पुराना ऋणीहरूलाई अर्को बैंकमा जान सहज भएको सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बताए । निक्षेपको ब्याजदर साना–ठूला बैंकमा एउटै दरमा थोरै छ, तर ठूला बैंकले स्किमसहित कर्जाको ब्याजदर ह्वात्तै घटाएर अर्को बैंकको पुरानै ऋणी तान्ने काम गरेको उनको भनाइ छ । ‘सबैतिर अधिक तरलता छ । नयाँ ऋणी आएका छैनन् । तर एउटा बैंकको ऋण अर्कोले तान्ने प्रवृत्ति बढेको छ,’ उनले अभियानसँग भने, ‘यसमा राष्ट्र बैंकले कर्जाको अग्रिम भुक्तानी शुल्क तथा कर्जा स्वाप शुल्क एकदम कम तोकिदियो । थोरै भएपछि ऋणीहरू कम ब्याज दिने बैंकमा सरेका हुन् ।’

यता, राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका अनुसार बजारमा सोचे अनुसार प्रतिस्पर्धा नभएकाले सेवा शुल्कदेखि कर्जा स्वाप शुल्कको निर्धारण गरेको हो । ‘प्रतिस्पर्धाको आधारमा शुल्क कम हुनुपर्ने देखियो । यस्तो शुल्क निर्धारणमा स्वतन्त्र भएका बैंकहरूलाई अहिले सीमा तोक्न जरुरी थियो,’ विभागका एक कर्मचारीले भने ।

पछिल्लो समय मेगा, एनआईसी एशिया, स्ट्यान्डर्ड  चार्टर्ड, सनराइज, हिमालयन, एभरेष्ट, ग्लोबल आईएमई, नबिल बैंक लगायतले नयाँ आधार दर वा सो दरमा न्यून थप गरेर घर कर्जा, साना तथा मझौला जस्ता कर्जाको ब्याजदर निर्धारण गरेका छन् । यसरी निर्धारित कर्जाको ब्याजदर ७ प्रतिशतदेखि ९ प्रतिशतसम्म छ । बजारमा लगानीयोग्य पूँजी अभाव हुँदा यस्ता कर्जाको ब्याज १४ प्रतिशतसम्म पुगेको थियो ।

साउन मसान्तसम्ममा नयाँ कर्जाको माग नभएको र पुराना ऋणीबाट कर्जा ब्याज तथा किस्ता असुली भएपछि वाणिज्य बैंकहरूको कर्जा प्रवाह स्थिति ऋणात्मक देखिएको छ । वाणिज्य बैंकहरूबाट गत असार मसान्तमा थप ८६ अर्ब रुपैयाँको कर्जा प्रवाह भए पनि साउन मसान्तसम्ममा २५ अर्ब रुपैयाँ कर्जा प्रवाह ऋणात्मक देखिएको नेपाल बैंकर्स संघले बताएको छ । संघका अनुसार गत असारसम्म २७ ओटा वाणिज्य बैंकबाट प्रवाहित कर्जाको उठ्न बाँकी रकम रू. २९ खर्ब ३ अर्ब रहेको थियो भने साउनसम्म यस्तो कर्जा २८ खर्ब ७८ अर्ब रुपैयाँ छ ।

थप कर्जा प्रवाह हुन नसक्दा वाणिज्य बैंकको कर्जा वैशाख र जेठमा पनि कर्जा प्रवाह ऋणात्मक देखिएको थियो । गत वैशाखमा कुल कर्जामा १६ अर्ब रुपैयाँले ऋणात्मक भएको थियो । जेठमा भने कुल कर्जामा १३ अर्ब रुपैयाँले नकारात्मक भएको थियो ।

बैंकबाट प्रवाहित कर्जामा संकुचन भएसँगै साउनमा भने निक्षेप संकलनमा समेत कमी आएको छ । असारमा वाणिज्य बैंकहरूले २ खर्ब ११ अर्ब रुपैयाँ थप निक्षेप संकलन गरेर कुल ३४ खर्ब ८७ अर्ब रुपैयाँ पुर्‍याएका थिए । तर, साउनमा ८ अर्ब रुपैयाँले संकुचन आई कुल निक्षेप ३४ खर्ब ७९ अर्ब रुपैयाँ पुगेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)