ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अनलाइन कारोबारले बढायो शेयरबजार

२०७७ भदौ, ९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । शेयर कारोबार अनलाइन केन्द्रित हुँदै जाँदा पछिल्ला केही दिनयता शेयरबजारले सकारात्मक दिशा लिएको छ । कोरोना संक्रमण नियन्त्रणका लागि उपत्यकासहितका विभिन्न जिल्लामा लगाइएको निषेधाज्ञाले अन्य व्यवसाय ठप्प रहँदासमेत शेयरबजार भने अहिले हरियो बनेको छ ।

सोमवार मात्रै नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ अर्ब १३ करोड रुपैयाँभन्दा बढीको कारोबार भयो । बढ्दो कारोबारका बीच नेप्से परिसूचक सोमवार २१ दशमलव २६ अंकले उक्लियो ।

कोरोना महामारीका कारण उद्योग/व्यवसायहरू प्रायः ठप्प रहँदा तथा लगानीका अन्य विकल्प नरहँदा पछिल्लो समय धेरै शेयरबजारमा आकर्षित भएको शेयर लगानीकर्ताहरू बताउँछन् । अनलाइन प्रणालीले घरमै बसी लगानी गर्न सकिने सुविधा दिएकाले निषेधाज्ञाबीच पनि बजारले गति लिएको शेयर लगानीकर्ता दबाब समूहका अध्यक्ष तिलक कोइरालाको भनाइ छ ।

पछिल्लो समय अनलाइन कारोबार प्रणालीमार्फत ९० प्रतिशतभन्दा बढी शेयर किनबेच हुने गरेको नेप्सेले बताएको छ । निषेधाज्ञाका कारण घरबाटै कारोबार गर्नुको विकल्प नरहेको अवस्थामा अनलाइन युजर नेम एवम् पासवर्ड लिने लगानीकर्ताको संख्या पनि बढ्दै गएको तथा तिनीहरू शेयर कारोबारमा सक्रिय हुन थालेको नेप्सेको भनाइ छ ।

अनलाइन प्रणालीबाटै सहज र प्रभावकारी कारोबार गर्न सकिने भएकाले यसको प्रयोगमा लगानीकर्ताको आकर्षण बढ्दै गएकाले पनि बजार चलायमान भएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद बताउँछन् । सोमवारको कारोबारमध्ये ८३ प्रतिशत अनलाइनमार्पmत भएको साउदले बताए ।

घरबाटै अनलाइनको युजर नेम र पासवर्ड लिने प्रणाली तयार पारिएकाले आउँदा दिनमा अनलाइन कारोबार थप विस्तार हुने साउद बताउँछन् । उनका अनुसार हाल अनलाइन कारोबारका लागि युजर नेम र पासवर्ड लिने लगानीकर्ताको संख्या ६० हजार नाघेको छ । अहिले शेयरबजारमा नयाँ र पुराना दुवै खाले लगानीकर्ता सक्रिय भएको पाइएको नेप्सेका अधिकारीहरू बताउँछन् ।

केही समय अघिसम्म अनलाइन कारोबारमा देखिएको समस्या हाल समाधान भएकाले पनि यसको प्रयोगमा लगानीकर्ताको आकर्षण बढेको र यसले बजारमा गति ल्याएको नेप्सेको भनाइ छ ।

‘अहिले लगानीका अन्य क्षेत्र बन्द रहेकाले घरमै बसी शेयरबजारमा लगानी गर्न सकिने भएकाले निषेधाज्ञाबीच पनि बजारले गति लिएको शेयर लगानीकर्ता दबाब समूहका अध्यक्ष तिलक कोइराला बताउँछन् ।

अहिले बजारमा तेजी आउनुमा बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलताको अवस्था भई कम ब्याज दरमै शेयर कर्जा सहज तरीकाले पाउनु पनि प्रमुख कारण रहेको कोइराला बताउँछन् । ‘शेयर कर्जाको सहजताले पछिल्लो समय लगानीकर्ताको सक्रियता बढाएको छ,’ उनले भने ।

अर्कोतर्फ, कतिपय कम्पनीको शेयर मूल्य न्यून रहेकाले तीनको शेयर खरीद गर्न लगानीकर्ता उत्साहित देखिएको नेपाल इन्भेस्टर्स फोरमकी सचिव दुर्गा तिवारी बताउँछिन् ।
निकट भविष्यमा आउने स्टक डिलर कम्पनी र मन्त्रिमण्डल सम्भावित हेरफेरले समेत बजारलाई चलायमान बनाएको तर्क तिवारीको छ ।

सोमवार १ सय ८२ कम्पनीको शेयर कारोबार भएकोमा १ सय ४९ कम्पनीको शेयर मूल्य बढ्यो । कुल कारोबार रकममा सबभन्दा बढी अंश नेपाल पुनर्बीमा कम्पनीले ओगटेको छ । यस कम्पनीको २१ करोड ६० लाख रुपैयाँ बराबरको शेयर कारोबार सोमवार भयो ।

सोमवार होटलबाहेक अन्य सबै समूहको परिसूचक बढेको थियो । सबैभन्दा बढी लघुवित्त समूहको परिसूचक २ दशमलव ३४ प्रतिशतले बढ्यो भने होटेल समूहको परिसूचक शून्य दशमलव शून्य ९ प्रतिशत घट्यो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)