ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोनाका कारण बाह्य क्षेत्रमा सुधार

शोधानान्तर बचत उच्च, विदेशी विनिमय सञ्चितिमा सुधार, व्यापारघाटामा कमी

२०७७ भदौ, ९  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ममता थापा

काठमाडौं । कोरोना महामारीले मुलुकको अर्थतन्त्र प्रभावित बने पनि देशको बाह्य क्षेत्रलाई भने बलियो बनाएको छ । आयातमा आएको कमी तथा विप्रेषण आयमा आकलन गरेजस्तो गिरावट नआउँदा गत आर्थिक वर्ष नेपालको शोधनान्तर बचत २ खर्ब ८२ अर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सोमवार सार्वजनिक गरेको गत आर्थिक वर्षको आर्थिक अवस्थाको प्रतिवेदनले नेपालको शोधनान्तर बचत उच्च हुन पुगेको बताएको हो ।

कोरोना महामारी नियन्त्रणका लागि लगाइएको बन्दाबन्दीले मुलुकको निर्यात प्रभावित बने पनि सोही कारण आयातमा कमी आयो । गत आवमा नेपालको आयात अघिल्लो आवको तुलनामा १५ दशमलव ६ प्रतिशतले घटेर ११ खर्ब ९६ अर्ब रुपैयाँ रह्यो । आव २०७५/७६ मा आयात १३ दशमलव ९ प्रतिशतले बढेको थियो ।

गत आवमा कच्चा पाम तेल, कच्चा सोयाबिन तेल, रासायनिक मल, खाने तेल, कम्प्युटर तथा पार्टपुर्जालगायत वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, एमएस बिलेट, सुन, अन्य मेशिनरी तथा पार्टपुर्जालगायत वस्तुको आयात घटेको छ ।

तर, निर्यात भने शून्य दशमलव ६ प्रतिशतले सुध्रिएको छ । ९७ अर्ब ७१ करोडको मालवस्तु नेपालले गत आवमा विदेशमा विक्री गरेको छ । पछिल्लो समय पाम तेल, आयुर्वेदिक औषधि, जडीबुटी, प्लास्टिकका भाँडा, फलपूmललगायत वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, पोलिस्टर यार्न तथा धागो, तयारी पोशाक, उनी गलैंचालगायत वस्तुको निर्यात घटेको छ ।

व्यापारघाटामा संकुचन
आर्थिक वर्ष २०७६/७७ मा कुल वस्तु व्यापारघाटा १६ दशमलव ८ प्रतिशतले संकुचन भई रू. १० खर्ब ९९ अर्ब ९ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो घाटा १३ दशमलव ५ प्रतिशतले वृद्धि भएको थियो । व्यापारघाटाको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात २९ दशमलव २ प्रतिशत रहेको छ । समीक्षा वर्षमा निर्यात–आयात अनुपात ८ दशमलव २ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ६ दशमलव ८ प्रतिशत रहेको थियो ।

विदेशी विनिमय सञ्चितिमा सुधार
विदेशी विनिमय सञ्चिति ३५ प्रतिशतले सुधार भई १४ खर्ब १ अर्ब रुपैयाँ पुगेको छ ।

अहिलेको सञ्चितिले १४ दशमलव ४ महीनाको वस्तु र १२ दशमलव ७ महीनाको वस्तु तथा सेवा आयात धान्न पुग्छ ।

त्यस्तै, गत आवमा चालू खाता घाटा ८७ दशमलव ९ प्रतिशतले घटेर ३२ अर्ब ६ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो घाटा २ खर्ब ६५ अर्ब ३६ करोड रुपैयाँ थियो ।

विप्रेषण आय खासै घटेन

कोरोनाका कारण विप्रेषण आय उल्लेख्य घट्ने अनुमानविपरीत विप्रेषण आप्रवाह ज्यादै कमले घटेको छ । गत आवमा विप्रेषण शून्य दशमलव ५ प्रतिशतले घटेर ८ खर्ब ७५ अर्ब ३ करोड रुपैयाँ भित्रिएको छ । अमेरिकी डलरमा भने विप्रेषण आप्रवाह ३ दशमलव ३ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह १६ दशमलव ५ प्रतिशतले बढेको थियो ।

असार महीनामा मात्रै १ खर्ब १ अर्ब ४ करोड रुपैयाँ भित्रिएको छ । जेठ महीनामा मात्र ९४ अर्ब रुपैयाँ भित्रिएको थियो । नेपालमा सामान्य अवस्थामा मासिक औसत ७३ अर्ब रुपैयाँ हाराहारीमा विप्रेषण भित्रिने गरेको छ ।

बढ्यो महँगी
आर्थिक वर्ष २०७६/७७ मा मुद्रास्फीति ६ दशमलव १५ प्रतिशत रहेको छ । राष्ट्र बैंकको वार्षिक प्रतिवेदनले गत आव (असारसम्मको) खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत मुद्रास्फीति (मूल्यवृद्धि) ८ दशमलव १६ प्रतिशत पुगेको तथ्यांक सार्वजनिक गरेको छ । आव २०७५/७६ मा यस समूहको मुद्रास्फीति ३ दशमलव शून्य ९ प्रतिशतमा सीमित थियो । यसैगरी आर्थिक वर्ष २०७६/७७ मा गैरखाद्य तथा सेवा समूहको वार्षिक औसत मुद्रास्फीति ४ दशमलव ६१ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको मुद्रास्फीति ५ दशमलव ८६ प्रतिशत रहेको थियो ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट समष्टिगत रूपमा वार्षिक मूल्य वृद्धि बढे पनि असारमा आइपुग्दा केही घटेको बताउँछन् । तर, विगत ४ महीनादेखि बन्दाबन्दीले गर्दा अधिकांशको व्यवसाय गुमेको र आम्दानी ठप्प हुँदा उपभोग क्षमतामा कमी आएको भट्ट बताउँछन् ।

सेवा आय बचतमा
कोरोनाका कारण नेपालबाहिर भ्रमणमा जाने र शिक्षाका लागि विदेशी विश्वविद्यालयमा खर्चिने रकममा कमी आउँदा नेपालको सेवा आय बचतमा देखिएको छ । आर्थिक वर्ष २०७६/७७ मा खुद सेवा आय १ अर्ब २२ करोड रुपैयाँले बचतमा रहेको छ जबकि यो अघिल्लो वर्ष १५ अर्ब २३ करोडले घाटामा थियो । सेवा खाताअन्तर्गत भ्रमण आय १९ दशमलव २ प्रतिशतले कमी आएको छ । त्यस्तै, सेवा खाताअन्तर्गत भ्रमण व्यय ४० दशमलव ९ प्रतिशतले घटी ५३ अर्ब १४ करोड रुपैयाँ रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)