ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भूकम्पले चर्कायो, झरीले भत्कायो

स्थानीय तहसँग छैन राहतको कार्यक्रम, घरको क्षति मूल्यांकन गरी निःशर्त अनुदान दिन पीडितको माग

२०७७ भदौ, ९  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी

पर्वत । पर्वतको फलेवास नगरपालिका–६ देवीस्थानका यामबहादुर थापाको घर २०७२ वैशाख १२ को भूकम्पले सामान्य चर्कियो । प्राविधिक मूल्यांकन अनुसार उनको घर आशिंक क्षतिमा सूचीकृत गरियो । त्यही घर गत साउन ६ गते भत्कियो । खरको छानो रहेको उनको घर निरन्तरको झरीले जगैदेखि भत्किएपछि थापा परिवार समस्यामा परेको छ । बाँसका भाटाले बारबेर गरेर बनाइएको टहरोमा हाल उनको चार जनाको परिवारले गुजारा गर्न थालेको छ ।

सरकारी अधिकारी र जनप्रतिनिधिले उनको भत्किएको घरको फोटो खिचेर लगेका छन् । तर, सहयोग आउने र घर बन्ने कुनै ठेगान नभएको उनको भनाइ । उनको हातमा अहिले प्रहरीले दिएको सर्जमिन मुचुल्का मात्र छ । ‘छिमेकीको बारीमा टहरा बनाएर बसेका छौं,’ उनले भने, ‘अन्नपात, लत्ताकपडा केही बाँकी रहेन । ज्यान मात्रै जोगाइयो ।’ भूकम्पले चर्काएको घर झरीका कारण भत्केपछि थापा परिवार चिन्तित छ ।

सोही ठाउँकी थनकुमारी थापाको अवस्था अझै दयनीय छ । भूकम्पले क्षतिग्रस्त भएको झुपडी टालटुल गरेकी उनलाई कतिबेला घर भत्किने हो भन्ने चिन्ता छ । चारैतिरबाट भित्ता चर्किएर पल्टिने अवस्थामा छ । तैपनि आफू जोखिमपूर्ण रूपमा बस्दै आएको उनले बताइन् । ‘बेस्सरी झरी पर्दा बाहिर निस्किएर बस्छु,’ उनले सुनाइन्, ‘डेड महीनादेखि राति राम्ररी निदाउन पाएको छैन ।’ उनको घर भूकम्पले चर्किएर बस्नै नहुने भए पनि क्षतिको मूल्यांकन भएको थिएन । त्यतिबेला नगरपालिकाबाट एउटा त्रिपाल पाएकी थिइन् । त्यही त्रिपाल छानोमा राखेर घरभित्र पस्ने पानी तर्काए पनि भित्तामा पर्ने पानीको निकास गर्न सकेकी छैनन् । निरन्तरको वर्षाले थप क्षति पुर्‍याएपछि उनको घर जोखिमपूर्ण बनेको छ ।

धनकुमारी र यामबहादुरको मात्रै होइन, स्थानीय माया रिजाल, योगप्रसाद भुसाल, लालबहादुर थापा, देवबहादुर सार्की, सूर्यबहादुर श्रेष्ठ, कृष्णप्रसाद श्रेष्ठ लगायतको घर समेत यो बर्खामा बस्नै नमिल्नेगरी चर्किएका छन् । तर, तत्काल नयाँ घर बनाउन नसक्ने विपन्न परिवारहरू सरकारी सहयोगकोे आशामा छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा गुनासो भरेका उनीहरू नयाँ घर बनाउन अनुदान आउनेमा त्यति विश्वस्त पनि देखिँदैनन् ।

घर भत्किएपछि आफन्तको घरमा बस्दै आएका दुर्गाप्रसाद जैसी सरकारले राहत दिने आशामा भए पनि पूर्ण भरोसामा नरहेको सुनाउँछन् । ‘पालिकामा निवेदन दिएको छु,’ उनले भने, ‘के कति सहयोग आउँछ, थाहा छैन ।’ उनको परिवार छिमेकीको शरणमा छ ।

बर्खामा स्थानीयवासीको घर भत्केपछि फलेवास नगरपालिकाले सबै घरमा पुगेर अनुगमन गरेको छ । नगरपालिकाले यो बर्खामा ३६ ओटा घर पूर्णरूपमा क्षति भएको बताएको छ । सरकारले बाढी पहिरो तथा भूक्षयका कारण क्षति भएका घर पुनर्निर्माणका लागि पनि भूकम्पले भत्काए सरह नै अनुदान दिने सुनेका जनप्रतिनिधिहरू संघीय सरकारको सहयोग
पर्खिरहेको बताउँछन् ।

फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले सरकारले बाढीपहिरोले भत्केका घरका लागि भूकम्पले भत्केको सरह अनुदान दिने निर्णय गरेकाले पीडितलाई तत्काल कुनै राहतको कार्यक्रम सार्वजनिक नगरिएको बताए । ‘पुनर्निर्माण प्राधिकरणसँग हाम्रो कुराकानी भइरहेको छ,’ शर्माले भने, ‘पीडित परिवारलाई प्राधिकरणले सहयोग नगरे कसरी सहयोग गर्ने भनेर सोचिरहेका छौं ।’ पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइमा गुनासो भरेका स्थानीयले आफूहरूको घर भत्किएकाले पूर्णक्षतिमा मूल्यांकन गरी निःशर्त अनुदानको व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)