पर्वत । पर्वतको कुश्मा नगरपालिका–८ मा कालिज र कुखुरापालन शुरू गरिएको छ । कुश्माका मनोज पौडेल र चन्द्र पौडेल क्षेत्रीको दम्पत्तीले रू. २ करोड लगानीमा यो व्यवसाय शुरू गरेका हुन् । वनमा मात्रै पाइने कालिजको बजार माग राम्रो रहेकाले पौडेल दम्पत्तीले व्यवसायमा लगानी गरेको बताए । ‘एमसी वाइल्डलाइफ, एग्रो एन्ड रिर्सच सेन्टर’ फार्ममार्फत व्यावासायिक उत्पादन समेत शुरू भइसकेको छ ।
‘विशेष गरी कालिजको उत्पादनमा हामी केन्द्रित छौं’, सञ्चालक चन्द्रा पौडेल क्षेत्रीले भनिन्, ‘केही मात्रामा कडकनाथ र स्थानीय जातका कुुखुरापालन पनि गरेका छौं ।’ सञ्चालक पौडेलका अनुसार फार्ममा गत वर्ष १५० ओटा कालिजका चल्ला तथा लोकल कुखुरा, कडकनाथ, लौकाट, टर्की गरी १ हजार ओटा चल्ला ल्याएर पाल्न थालिएको थियो ।
राजमार्ग नजिक र बजारको समेत समस्या नभएपछि यो वर्ष फार्म विस्तार गरेको उनले बताइन् । यस वर्ष ८०० भन्दा बढी कालिज पालिएको छ भने ४ हजार भन्दा बढी अन्य प्रजातिका कुखुरा पालिएको उनको भनाइ छ । यो वर्ष मात्रै ५ हजार ओटा कालिज र १५ हजार भन्दा बढी अन्य जातिका चल्ला विक्री गर्ने योजना रहेको चन्द्राले बताइन् ।
मध्यपहाडी लोकमार्गसँगै फार्म रहेको हुनाले यहाँबाट यात्रा गर्नेहरूले पनि कालिज र स्थानीय जातका कुखुरा खरीद गरेर लैजाने गरेका छन् । वनजंगलमा पाइने कालिज हिजोआज शिकारीले मार्दै गएपछि लोप हुन थालेका छन् । कहीँकतै भेटिए पनि मार्न सजिलो छैन । सरकारले कालिजलाई संरक्षित पंक्षीको सूचीमा राखेपछि मार्न प्रतिबन्द छ ।
कालिजका पारखीहरूलाई फार्ममा पालन गरेको कालिज खुवाउने र व्यवसाय पनि फस्टाउने सोचेर पौडेल दम्पत्तीले हार्डवेयर पसलसँगै कालिजपालन गर्न थालेका उनीहरू सुनाउँछन् । ‘एउटा व्यवसायमा मात्रै अल्झिनु भन्दा फरक–फरक पेशा गर्दा अनुभव पनि बढ्ने र आम्दानी पनि बढ्ने भएकाले यता पनि लागेका हौं’, सञ्चालक मनोज पौडेलले भने, ‘समय मिलाउने आफ्नो हातको कुरा हो ।’ पौडेल दम्पत्तीको हार्डवेयर पसल लकडाउनभर बन्द भयो भने कालिज फार्म भने बन्द भएन ।
यो फार्ममा अरु बेला भन्दा लकडाउनमा धेरै कारोबार भएको मनोजले सुनाए । यो फार्ममा उत्पादित कालिज, कुखुराहरू पोखरादेखि मुस्ताङसम्म पुगेका छन् । फार्मअगाडि होटेल र फ्रेस हाउससमेत सञ्चालन भएकाले जिउँदो किन्नेदेखि मासु लैजाने सुविधा पनि छ ।