ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बीमा कम्पनीहरूमा बढ्यो बीमालेख धितो कर्जाको माग

२०७७ भदौ, १०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । बन्दाबन्दीले सर्वसाधारणको जीवनयापन प्रभावित भएसँगै जीवन बीमा कम्पनीहरूमा बीमालेख धितो कर्जाको माग बढ्न थालेको छ ।

पछिल्लो तथ्यांकले यस्तो कर्जाको माग बढ्दै गएको देखाउँछ । नेपालमा रहेका १९ जीवनबीमा कम्पनीले गत आर्थिक वर्ष बीमालेख धितो राखेर बीमितहरूलाई १२ अर्ब ७९ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् । आव २०७५/७६ मा बीमा कम्पनीहरूले ८ अर्ब ९ करोड बराबरको यस्तो कर्जा प्रवाह गरेका थिए ।

बीमालेख धितो कर्जा बीमा कम्पनीहरूको आम्दानीको स्रोतमध्येको एक हो । कम्पनीहरूले बीमालेख धितो कर्जाबाटै गत आवमा ३ अर्ब ८५ करोड रुपैयाँ ब्याज आम्दानी गरेका छन् ।

जीवन बीमा कम्पनीहरूले आफैले जारी गरेको बीमालेख धितो राखेर बीमितहरूलाई निश्चित ब्याजदरमा कर्जा प्रवाह गर्दै आएका छन्, जुन बन्दाबन्दीयताको समयमा सामान्य अवस्थाको तुलनामा बढ्दै गएको कम्पनीहरूको भनाइ छ ।

‘बन्दाबन्दी हुनुअगाडिको अवस्थामा जुन मात्रामा यस्तो कर्जाको माग हुन्थ्यो, त्यसको तुलनामा अहिले बढी नै छ,’ जीवन बीमक संघका अध्यक्ष शिवनाथ पाण्डेले भने, ‘यसको मुख्य कारण भनेको बन्दाबन्दीको प्रभाव नै हो ।’

बीमितहरूले महामारीको यस समयमा हुनसक्ने आर्थिक समस्या समाधान गर्न पनि यस्तो कर्जा लिने गरेको पाण्डेको बुझाइ छ । ‘हामीले आधिकारिक रूपमा केकति कामका लागि कर्जा चाहियो भनेर प्रश्न गर्दैनौं । तर, अहिले कर्जाको माग भएको भने यसैका लागि नै हो,’ उनले भने ।

बीमितहरूले बीमा गरेको २ वर्षपछि सम्बद्ध बीमा कम्पनीबाट यस्तो कर्जाको सुविधा पाउँछन् । यस सुविधाअन्तर्गत बीमितले सरेन्डर भ्यालु (समर्पण मूल्य) को ९० प्रतिशतसम्म कर्जा पाउन सक्छन् । बीमितले सो अवधिसम्म तिरेको बीमाशुल्क, आर्जित बोनस र बाँकी बीमा अवधिलगायतको निर्धारित सूत्र प्रयोग गरी समर्पण मूल्य निकालिन्छ । पछि बीमितले कर्जा चुक्ता गर्न नसकेको अवस्थामा भने बाँकी रहेको १० प्रतिशत रकमबाट हिसाब मिलान गरी बीमालेख बन्द गर्न सकिने व्यवस्था छ ।

त्यो अनुसार बीमितले कर्जाबापत पाउने पैसा आप्mनै नै हो । कर्जा लिएपछि तोकिएको म्यादमा तिर्नैपर्ने बाध्यकारी व्यवस्था पनि छैन । साथै, कर्जा निकाल्न बैंकमा जस्तो झन्झटिलो प्रक्रिया पनि हुँदैन । यी कारणले पनि बीमालेख धितो कर्जाको माग बढ्न थालेको पाण्डेको भनाइ छ ।

यद्यपि, पछिल्लो निषेधाज्ञाले बीमालेख धितो कर्जा प्रवाहसँगै बीमा व्यवसाय पनि प्रभावित भएको कम्पनीहरूको भनाइ छ । युनियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी निर्देशक (सीईओ) मनोजकुमार लाल कर्णले पछिल्लो निषेधाज्ञाका कारण कर्जा प्रवाहमा पुनः कमी आउन थालेको बताए । ‘निषेधाज्ञा तथा बन्दाबन्दीका कारण कम्पनीहरूको शाखा कार्यालय त्यति सञ्चालनमा छैनन् । आवतजावत पनि त्यति छैन । फलस्वरूप समग्र व्यवसाय प्रभावित भएको छ,’ उनले भने ।

बन्दाबन्दीका कारण कर्जाको ब्याज भुक्तानी अवधि थपिएपछि यसबाट हुने आम्दानी भने अब प्रभावित हुने देखिएको छ । ‘यसै पनि बीमालेख धितो कर्जाबाट सोचेजस्तो फाइदा हुँदैन । किनकी, उक्त कर्जा चुक्ता नहुने सम्भावना पनि छ,’ कर्णले भने, ‘त्यसमाथि बीमा समितिले नै ब्याज भुक्तानीको अवधि बढाएपछि यसबाट हुने आम्दानी पनि प्रभावित हुने देखिन्छ ।’

विशेषगरी बीमितहरूले साना तथा मझौला व्यवसाय गर्ने जस्ता उद्देश्यले यस्तो कर्जा लिने गर्छन् । यसका अतिरिक्त घरखर्च जोहो गर्नेजस्ता काममा पनि यस्तो कर्जा प्रवाह हुने गरेको कम्पनीहरू बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)