ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिजनमै थलियो अटोमोबाइलको व्यापार

२०७७ भदौ, ११  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar काशीराम बजगाईं

काठमाडौं । भदौदेखि कात्तिकसम्म बढी चलायमान हुने अटोमोबाइल व्यवसाय यो वर्ष भने सिजनमै थला परेको छ । विगत वर्षमा यस अवधिभित्र अटोमोबाइल व्यवसायीले १० अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्थे । तर, कोरोना महामारी, निषेधाज्ञालगायत कारण यस वर्ष अटोमोबाइल क्षेत्र व्यवसाय धान्न संघर्षरत छ ।

अघिल्ला वर्षहरूमा भदौ लागेसँगै अटोमोबाइल क्षेत्र चलायमान हुन्थ्यो । नाडा अटो मेला, दशैं स्कीमलगायत तयारीमा अटोमोबाइल डिलरहरू व्यस्त हुन्थे । हरेक वर्ष दशैं आउनुअघिको भदौमा अटोमोबाइल एशोसिएशन अफ नेपाल (नाडा) ले नाडा अटो शो आयोजना गर्थ्यो ।

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालका अनुसार अटो शोले अटोमोबाइल व्यवसाय चलायमान बनाउँथ्यो, जसको प्रभाव दशैंतिहारसम्म रहन्थ्यो । तर, कोरोना संक्रमणकै कारण अटो शो यस वर्ष नहुने भएको छ ।

कोरोना संक्रमित बढ्दै जानु र निषेधाज्ञा लम्बिँदै जाँदा तत्काल दशैंमा के कस्ता छूट र स्कीम ल्याउने भन्नेमा अटोमोबाइल कम्पनीहरूले योजना बनाइनसकेको नाडाका पदाधिकारीहरू बताउँछन् ।

कोरोना संक्रमण नियन्त्रण गर्न चैत ११ गतेदेखि देशव्यापी लगाइएको बन्दाबन्दीको समयमा अटोमोबाइल व्यवसाय ठप्पै र≈यो । ४ महीनाको बन्दाबन्दी खुलेपछि नाडाले अटो शोका लागि सामान्य छलफल र कार्ययोजना बनाएको थियो । तर, बन्दाबन्दी खुलेसँगै कोरोनाको संक्रमण झन् बढ्दै गएपछि सरकारले अहिले पुनः काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाएको छ । साथै, मुलुकका प्रमुख शहरहरूमा पनि निषेधाज्ञा जारी छ ।

सवारी विक्रेता कम्पनीहरूका अनुसार बन्दाबन्दीको समयमा सवारीसाधन विक्री शून्यमा झरे पनि साउनको पहिलो सातायता दुईपांग्रे सवारीसाधन विक्रीमा राम्रो वृद्धि भएको थियो भने चारपांग्रे सवारीसाधनको विक्री क्रमशः बढ्ने क्रममा थियो ।

वर्षकै सबभन्दा बढी सवारीसाधन विक्री हुने समय नाडा अटो शोदेखि दशैंसम्मको अवधिका बेला केही राहत मिल्ने सवारीसाधन विक्रेता कम्पनीको अपेक्षा थियो । तर, पछिल्लो निषेधाज्ञाले त्यो अपेक्षामा तुषारापात गरेको छ ।

अघिल्लो वर्ष दशैंतिहारसम्म करीब ५ अर्ब रुपैयाँको आर्थिक कारोबार गरेको अटोमोबाइल व्यवसायलाई अहिले दशैंसम्म धक्का पुगेको नाडा अध्यक्ष दुलालले बताए । ‘नाडा नहुने भयो तर आगामी अवस्था नहेरीकन दशैंका बेला पनि के हुन्छ, यसै भन्न सकिँदैन,’ उनले भने, ‘सरकारले अटोमोबाइल खरीदमा गरेको कडाइ नहटाउने हो भने यसमा लागेका व्यवसायी पलायन हुनुपर्ने अवस्था आएको छ ।’

नाडा अटो शोका संयोजक एवम् नेपालका लागि टाटा मोटर्सको आधिकारिक विक्रेता प्रमुख अपरेटिङ अफिसर (सीओओ) राजनबाबु श्रेष्ठ कोरोना महामारी रोकियो भने वर्षको अन्तिममा नाडा अटो शो गर्ने योजना रहेको बताउँछन् । ‘माघसम्म कोरोना नियन्त्रण हुने अवस्था देखियो भने फागुनमा अटो शो गर्ने हाम्रो योजना छ,’ उनले भने ।

कोरोना संक्रमणकै कारण सवारीसाधनको बजारमा माग नरहेकाले तत्काल दशैंमा के कस्ता छूट र स्कीम ल्याउने भन्नेमा व्यवसायीले योजना बनाइनसकेको श्रेष्ठ बताउँछन् । ‘आगामी केही दिनको अवस्था हेरेर के गर्ने भन्ने निर्णय गर्न सकिएला । अहिले भने व्यवसायीहरू छुट्टाछुट्टै दशैं अवधिमा के गर्न सकिन्छ भन्नेमा अध्ययन गरिरहेका छन्,’ उनले भने ।

नाडा दुईपांग्रे सवारीका लागि संयोजक एवम् नेपालका लागि हिरो मोटर्सको आधिकारिक विक्रेता नेपाल जनरल मार्केटिङका अध्यक्ष अभिक ज्योति नाडापछि नै विभिन्न स्कीम, छूट र विक्री बढ्ने गरेको सुनाउँछन् । अहिले पनि पाइपलाइनमा रहेका सवारीसाधन क्रमशः भित्रिने क्रम जारी रहे पनि अवस्था यही रहे दशैंमा पनि यसले असर गर्ने उनको भनाइ छ । ‘बन्दाबन्दीको राहत नाडा शोमा मिल्छ कि भन्ने थियो । नाडा शो नै नहुने भएपछि अब दशैंमा के हुन्छ, कुर्नुपर्छ । अवस्था यस्तै रहे यसको असर लामो रहन्छ,’ उनले भने ।  

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)