ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

साउनमा पनि विप्रेषण आप्रवाह औसतभन्दा बढी

चालू आवको पहिलो महीनामा भित्रियो करीब रू. ९० अर्ब

२०७७ भदौ, ११  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । कोरोना महामारीका कारण विप्रेषण आप्रवाहमा कमी आउने आकलनविपरीत विप्रेषण औसतभन्दा बढी भित्रिने क्रम जारी रहेको छ । चालू आर्थिक वर्षको पहिलो महीना अर्थात् साउनमा पनि औसतभन्दा बढी विप्रेषण भित्रिएको छ । साउनमा पनि जेठ र असारमा झैं विप्रेषण आप्रवाह उच्च रहेको छ ।

साउनमा करीब ९० अर्ब रुपैयाँ विप्रेषण नेपाल आएको नेपाल रेमिटर्स एशोसिएशनले बताएको छ । आव २०७६/७७ को साउनको तुलनामा यो २० प्रतिशतले बढी हो । गतवर्षको साउनमा ७५ अर्ब ४० करोड रुपैयाँ बराबरको विप्रेषण भित्रिएको थियो ।

साउनमा ९० अर्ब रुपैयाँको हाराहारीमा विप्रेषण आएको अनुमान नेपाल रेमिटर्स एशोसिएशनका अध्यक्ष सुमन पोखरेलको छ । ‘कोरोनाको महामारीका बीच पनि साउनमा आएको विप्रेषण औसतभन्दा बढी देखिएको छ,’ पोखरेलले भने ।

रेमिटर्स एशोसिएशनले असारको तुलनामा विप्रेषण १० प्रतिशतको हाराहारीमा घटेको आकलन गरेको छ । असारमा १०१ अर्ब बराबरको विप्रेषण आएको थियो ।

नेपालमा सामान्य अवस्थामा औसतमा मासिक ७३ अर्ब रुपैयाँको हाराहारीमा विप्रेषण भित्रिने गरेको छ । तर, कोरोना भाइरस नियन्त्रण गर्न नेपालसहित श्रमगन्तव्य मुलुकमा लगाइएको बन्दाबन्दीले गत चैत र वैशाखमा विप्रेषण आप्रवाह औसतभन्दा पनि तल पुगेको थियो ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत चैतमा रू. ३४ अर्ब र वैशाखमा रू. ५४ अर्ब विप्रेषण भित्रिएको थियो । तर, जेठ र असारमा भने विप्रेषणमा सुधार आएको थियो ।

बन्दाबन्दीका शुरूका २ महीनामा वैदेशिक रोजगारीका प्रमुख श्रमगन्तव्यहरूमा समेत बन्दाबन्दी लगाइँदा पैसा पठाउन सक्ने स्थिति थिएन । त्यसैले चैत र वैशाखमा विप्रेषण आप्रवाह घटेको थियो । वैदेशिक श्रमबजारहरू विस्तारै खुल्न थालेपछि भने विप्रेषण आप्रवाहमा सुधार आउन थालेको छ ।

बन्दाबन्दीका कारण हुन्डीजस्ता अनौपचारिक माध्यमबाट रकम आउन कम भएकाले विप्रेषण आप्रवाहमा सोचजस्तो कमी नआएको बताइएको छ । बेलायत, अस्ट्रेलिया, यूएई, कोरियाजस्ता मुलुकबाट आउने विप्रेषणको ठूलो अंश हुन्डीमार्फत नै आउने गर्छ । तर, यस अवधिमा ती मुलुकबाट औपचारिक माध्यमबाट बढी विप्रेषण आएको अध्यक्ष पोखरेलको भनाइ छ ।

पछिल्ला ३ महीनाको विप्रेषण आप्रवाह धेरैले आकलन गरेभन्दा उच्च रहे पनि आउँदा दिनमा यो यसरी नै रहन्छ वा यसमा कमी आउँछ भनेर यकिन गर्न नसकिने रेमिट कम्पनीहरू बताउँछन् । ‘वैदेशिक रोजगारीमा गएका कति नेपाली बेरोजगार भए, कति फर्किन लागेका छन् जस्ता विषयमा ठोस अध्ययन भएको छैन । त्यसैले आगामी दिनमा विप्रेषण आप्रवाहको स्थिति कस्तो हुन्छ अन्योल नै छ,’ एशोसिएशनका महासचिव रीतेश मित्तलले भने । आउने महीनाहरूमा विप्रेषण आप्रवाहमा कमी आउने मित्तलको अनुमान छ । ‘भदौ लागेयताको विप्रेषण आप्रवाह उत्साहपूर्ण छैन,’ उनले भने, ‘तर, यसै हुन्छ भनेर भन्न सकिँदैन ।’

कोरोनाले वैदेशिक रोजगारीमा पारेको प्रभावका कारण गत आवमा विप्रेषण आप्रवाह १० प्रतिशतभन्दा बढीले घट्ने अनुमान थियो । तर, गत आवमा शून्य दशमलव ५ प्रतिशतले मात्र विप्रेषण घटेको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)