ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दुःख र पीडा बिर्साउने ‘उडाइनो झरना’

२०७७ भदौ, ११  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारको म्याग्दी पुल तरेर पश्चिम हाडेभीर–सुर्केमेला–बरञ्जा सडक खण्डतर्फ अगाडि बढ्दा बगरफाँटका रमणीय धानका हरिया फाँटहरू कटेपछि ‘उडाइनो झरना’ पुगिन्छ । यही झरना अवलोकन गर्न यहाँ दैनिक २०० जनासम्म आन्तरिक पर्यटकहरू आउने गरेका छन् ।

बेनीबजारबाट म्याग्दी खोलाको काखमा सुन्दर शान्त बगरफाँट बस्ती र शीरबाट झर्ने विभिन्न झरनाहरू हेर्दै करीब २ किलोमिटरको यात्रापछि कोप्रे र उडाइनो झरनास्थलमा पुगिन्छ । करीब २०० मिटर उचाई रहेको कोप्रे छहरा र २५० मिटर उचाई रहेको उडाइनो झरना मुख्य सडकबाट १०० मिटर दक्षिण भागमा अवस्थित छ ।

मुख्य पहाड नै काटिएर अंग्रेजी अक्षर ‘भी’ आकारमा माथिदेखि तल अर्धसोली आकारमा फैलिएको यो झरनाको अवलोकन गर्न पुग्ने जोकोहीको दुःख र पीडा भुल्ने गरेको अवलोकनकर्ताहरू नै बताउँछन् । यस स्थानमा २ ओटा झरना छन्, एउटा ‘कोप्रे’ र अर्को ‘उडाइनो’ ।

यी दुबै झरना विशेषगरी युवायुवतीका लागि खुशीका अनमोल खजाना बनेका छन् । कोरोनाको त्रासबाट आजित बनेका युवायुवतीहरू समेत अहिले यहाँ आएर मनोरम दृश्यको अवलोकन गरेर फर्किने गरेका बेनी नगरपालिका–३ का सदस्य गेमबहादुर घर्तीमगरले बताए ।

बेनी नगरपालिका–२ बगरफाँटमा पर्ने उडाइनो झरना र बेनी नगरपालिका–३ भकिम्लीको दूधेखोलामा पर्ने कोप्रे झरना दुबै वडाका आकर्षक झरना हुन् । बेनी नगरपालिका–३ भकिम्लीको तोराखेतबाट झर्ने उडाइनो झरना र कोप्रे झरना पानीको स्थायी स्रोत नहुँदा हिउँदमा सुक्ने गरेको छ ।

पूर्वाधार विकास र प्रचारप्रसार गर्न सके आकर्षक पर्यटकीय गन्तव्यस्थलका रूपमा विकसित हुँदै गरेको लभहिल, टोड्के, भकिम्लीको स्वर्गाश्रमलगायत स्थानहरू पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीयको भनाइ छ ।

आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्ने सम्भावना भएको झरना करीब २५० मिटर अग्लो छ । झरना सदरमुकाम बेनीबजारदेखि करीव ४५ मिनेटको दूरी र बेनी–बगरफाँट–वरञ्जा सडकअन्तर्गत बगरफाँट गाउँबाट १ हजार मिटर दक्षिणमा पर्दछ ।

म्याग्दीका बुद्धिजीवि एवं इतिहासका अध्येता चन्द्रप्रकाश बानियाँले म्याग्दी नदीको पानी लिफ्ट गरेर भए पनि झरनालाई निरन्तरता दिन पर्ने बताउँछन् । सोही झरनाका कारण सदरमुकाम बेनी र बगरफाँटका मात्रै नभई पुलस्त्य डाँडो, ढोलठाना, मल्लाज, गाजने र टोड्केको समेत प्राकृतिक सुन्दरतामा आकर्षण थपिने उनको भनाइ छ ।

रमणीय जंगलको बीचमा रहेको झरना वरिपरि जंगली जनावर र पुशपंक्षीको बासस्थानसमेत छ । प्राकृतिक स्वरूप नबिग्रने गरी सुविधायुक्त पर्यटकीय पूर्वाधार व्यवस्थापनका लागि योजना बनाएर यसको विकासमा लाग्न स्थानीयले नगरपालिकासँग माग गरेका छन् ।

अन्य दिनभन्दा छुट्टीका दिन यहाँ घुम्न आउनेको संख्या बढी हुने गरेको छ भने किशोर किशोरी र युवा समूहले बढी अवलोकन गर्ने गरेको स्थानीयवासीको भनाइ छ । यी दुई ओटा झरना पर्यटकीयस्थल ‘लब्ली हिल’ पछिको दोस्रो बढी तस्वीर खिचिने स्थान भएको बेनीबाट झरनामा घुम्न आएका छवी आचार्यले बताए ।

पैदल वा सवारी दुबैको प्रयोग गरी पुग्न सकिने यस छहरालाई व्यवस्थित गरी प्रचारप्रसार गर्न सकिए म्याग्दीको पर्यटनमा थप इँटा थपिने उनको भनाइ छ । यहाँ पर्यटकीय पूर्वाधाराको विकास गर्ने हो भने भकिम्ली, बेलढुंगा तथा मंगला गाउँपालिकाको झाँक्रीपानीसम्म पुग्ने आन्तरिक पर्यटको संख्यामा वृद्धि हुने देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)