ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नियमित अन्तरराष्ट्रिय उडानको तयारीमा प्राधिकरण

२०७७ भदौ, ११  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भदौ १७ (सेप्टेम्बर २)देखि अन्तरराष्ट्रिय उडान सञ्चालन तालिका तय गरेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरण सुरक्षित उडानका लागि आवश्यक तयारीमा जुटेको छ ।

मन्त्रालयले मंगलवार नियमित तथा चार्टर अन्तरराष्ट्रिय उडान तालिका, उडान सञ्चालन गर्दा पालना गर्नुपर्ने शर्त र यूएन एजेन्सी र विकास साझेदारहरूको सूचीसमेत संलग्न गरी उडान स्वीकृतिका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको थियो ।

मन्त्रालयको निर्देशनसँगै प्राधिकरणले सरोकारवालाहरूसँग समन्वय गरी आवश्यक तयारी शुरू गरेको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए । ‘उडान त अहिले पनि भएकै छन् । सरकारले १७ गतेदेखि दैनिक ५०० यात्रु नबढ्नेगरी उडान गर्ने निर्णय गरेको छ । त्यसैले एक उडान र अर्को उडानबीचको समय, यात्रुको आवागमन तथा उडान समय सबैलाई ध्यानमा राख्दै विभिन्न प्रोटोकल बनाई उडान गर्न दिइनेछ,’ उनले बताए । क्षेत्रीका अनुसार अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ), विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) तथा प्राधिकरण आफैले बनाएको मार्गनिर्देशनलाई पालना गर्दै उडानको तयारी भएको छ । ‘वायु सेवा कम्पनीहरूले पनि आ–आफ्नै प्रोटोकल बनाएका छन् । तैपनि विमानस्थलमा अनावश्यक भीड नहोस्, स्वास्थ्य प्रोटोकल पालना होस् भनेर ज्वरो नाप्नेदेखि स्यानिटाइजेशन गर्ने तथा सुरक्षाका सबै उपाय अवलम्बन गरिनेछ,’ उनले बताए ।

मन्त्रालयले प्राधिकरणलाई दिएको निर्देशनमा उडान हुनु ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट भएका यात्रुहरू मात्र ल्याउन पाइने, वायुसेवाले पीसीआर नेगेटिभ भएको सुनिश्चित गरेर मात्र बोर्डिङ पास उपलब्ध गराउनुपर्ने लगायत विभिन्न १२ शर्तहरू छन् । यसमा प्राधिकरणले पनि आवश्यक शर्त थपेर वायुसेवा कम्पनीलाई निर्देशन दिन सक्छ ।

सरकारको निर्णय अनुसार पीसीआर परीक्षण सहज भएका मुलुक तथा शहरबाट मात्रै नियमित उडान हुनेछ । मलेशिया, दुबई (यूएई), दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, अमेरिका, क्यानडा र यूरोपेली मुलुकबाट नेपाल आउन अनुमतिप्राप्त नेपाली नागरिक त्यस्तो उडानबाट आउन सक्नेछन् । यस्तै, नेपालस्थित विदेशी नियोगका कूटनीतिज्ञ तथा कर्मचारीहरू, संयुक्त राष्ट्रसंघ, विकास साझेदार संस्थाका कर्मचारी तथा प्रतिनिधि मात्र नेपाल ल्याउन पाइनेछ । तर, पीसीआर परीक्षण सहज नभएका मुलुकबाट भने नियमित उडान नगरी चार्टर मात्र गर्न पाइने निर्णय गरेको थियो । त्यस्ता मुलुक र नियमित उडानका लागि अनुमति नभएका श्रमिक रहेका मुलुकबाट सम्बद्ध नेपाली कूटनीतिक नियोगबाट सिफारिश भएको नामअनुसार यात्रुका लागि चार्टर उडान हुनेछन् ।

‘चार्टर उडान नरोक्नु गलत’  
सरकारले नियमित उडान शुरू गर्ने निर्णय गरे पनि चार्टर उडानलाई निरन्तरता दिइएकोमा व्यवसायीले विरोध गरेका छन् । नियमित उडान शुरू भएपछि चार्टर उडानलाई पनि कायम राख्दा उपभोक्ता ठगिने भएकाले यसलाई तत्काल रोक्नुपर्ने नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष अच्युत गुरागाईंले माग गरे । आफूहरूले पहिलेदेखि नै नियमित उडान शुरू गर्न माग गर्दै आएको भन्दै उनले उक्त माग सुनुवाइ भए पनि चार्टर नरोक्नु गलत भएको बताए । ‘चार्टर नै गर्नु हुँदैन भन्ने होइन, तर केही व्यवसायी र केही व्यक्तिले लाभ पाउन आम उपभोक्ता ठगिने गरी गर्नु हुँदैन भन्ने हो । सरकारले कमिशनको लोभमा चार्टरलाई निरन्तरता दिएको छ । यो गलत हो,’ उनले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)