ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

राजस्व संकलनमा पुनः असर

२०७७ भदौ, १२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । चारमहीने बन्दाबन्दी खुलेयता सुध्रिएको सरकारको राजस्व संकलनमा पछिल्लो निषेधाज्ञाका कारण पुनः संकुचन आएको छ ।

सरकारले साउनको पहिलो साताबाट बन्दाबन्दी हटाएसँगै चालू आर्थिक वर्षको पहिलो महीना राजस्व असुली लक्ष्यनजीक पुगेको थियो । तर, राजधानी काठमाडौंसहित मुलुकका प्रमुख व्यापारिक तथा औद्योगिक केन्द्रहरू अहिले निषेधाज्ञामा रहेकाले राजस्व संकलन खस्किएको राजस्व प्रशासनका अधिकारीहरू बताउँछन् ।

निषेधाज्ञा अघिसम्म दैनिक २ अर्ब रुपैयाँसम्म पुगेको राजस्व संकलन अहिले स्वात्तै घटेको छ । आन्तरिक राजस्व विभाग र भन्सार विभागअन्तर्गतका कार्यालयहरूबाट अहिले दैनिक १ अर्बसमेत राजस्व उठ्न सकेको छैन ।

भदौ ११ गतेसम्म जम्मा ५ अर्ब ५१ करोड रुपैयाँ मात्रै राजस्व संकलन भएको छ, जुन लक्ष्यभन्दा धेरै न्यून हो । भदौ ३ गते १ अर्ब ९८ करोड रुपैयाँ राजस्व संकलन भएकोमा निषेधाज्ञापछि भदौ १० मा सरकारले रू. ८१ करोडमा चित्त बुझाउनु परेको छ । आन्तरिक राजस्व विभागका महानिर्देशक विनोदबहादुर कुँवर निषेधाज्ञाका कारण मानिसहरू बाहिर ननिस्केका र कर कार्यालयहरूसमेत निर्बाध सञ्चालनमा आउन समस्या परिरहेको बताउँछन् । ‘दैनिक ३० करोड पनि राजस्व संकलन भएको छैन,’ उनले भने ।

भन्सार विभागले समेत राजस्व संकलन प्रभावित बनेको बताएको छ । उत्तरतिरका नाकाहरू सञ्चालनमा नआएको र भारततर्फका नाकाबाट पनि मालवाहक सामान कम आउँदा राजस्व संकलन प्रभावित बनेको भन्सार अधिकारीहरू बताउँछन् ।

‘निषेधाज्ञाका कारण उद्योगहरू प्रभावित हुँदा तिनलाई आवश्यक कच्चा पदार्थ आयातमा कमी आएको छ । त्यसैले पनि राजस्व संकलन प्रभावित बन्यो,’ विभागका एक उच्च अधिकारीले भने ।

स्थानीय प्रशासनले विभिन्न जिल्लामा लगाएको निषेधाज्ञाका कारण विकास निर्माणमा अवरोध हुनुका साथै इन्धन र अत्यावश्यक सामग्री ल्याउने गाडीहरू कम संख्यामा नेपाल भित्रिरहेका छन् । ‘अहिले दैनिक ४० करोडभन्दा बढी राजस्व संकलन भएको छैन,’ विभागको तथ्यांक शाखाका एक अधिकारीले अभियानसँग भने । सरकारी खर्च तथा आम्दानी हिसाब राख्ने महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकले पनि सरकारको आम्दानी पछिल्लो समय घटिरहेको देखाउँछ ।

भदौ १० गतेसम्म सरकारले ६८ अर्ब ८८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यसरी राजस्वमा संकुचन आउनुले संकट व्यवस्थापनमा सरकारलाई थप अप्ठ्यारो पर्न सक्ने देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)