ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निषेधाज्ञाको मारमा औद्योगिक क्षेत्र : मुलुकका दुई ठूला औद्योगिक कोरिडोरका उद्योगको उत्पादन क्षमता खुम्चियो

२०७७ भदौ, १२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल author avatar वेदराज पौडेल

वीरगञ्ज/विराटनगर । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले लगाएको निषेधाज्ञाले मुलुकका प्रमुख औद्योगिक कोरिडोरको उत्पादन खुम्चिएको छ । ४ महीना लामो बन्दाबन्दी हटेपछि बढ्न थालेको औद्योगिक गतिविधि पछिल्लो निषेधाज्ञायता सुस्ताएको हो ।

कोरोनाको गम्भीर लक्षणसहितका संक्रमित बढेपछि अहिले ५० भन्दा बढी जिल्लामा निषेधाज्ञा लगाइएको छ । उत्पादनका केन्द्र र मुख्य बजार दुवै प्रभावित भएपछि उत्पादन घटेको उद्यमीहरू बताउँछन् ।

सरकारले बन्दाबन्दी खुकुलो बनाएसँगै उत्पादन बढाएका उद्योगहरूको उत्पादन क्षमता पछिल्लो निषेधाज्ञाले प्रभावित बनेको छ । बारा–पर्सा औद्योगिक कोरिडोरका अधिकांश उद्योगको उत्पादन अहिले क्षमताको २५ प्रतिशतभन्दा तल झरिसकेको वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोधकुमार गुप्ताले बताए ।

त्यस्तै अवस्था मुलुकको अर्को औद्योगिक क्षेत्र, सुनसरी मोरङ औद्योगिक कोरिडोरको पनि छ । पछिल्लो समय विराटनगर, इटहरी, धरान, दमक र बिर्तामोडजस्ता प्रदेश १ का मुख्य व्यापारिक शहरमा कोरोना संक्रमण बढ्न थालेपछि लगाइएको निषेधाज्ञाका कारण उद्योगहरूले आप्mनो उत्पादन ४० प्रतिशत कटौती गर्नुपरेको उद्योगीहरूको भनाइ छ ।

उद्योगमा कार्यरत मजदूरमा कोरोना संक्रमण देखिन थालेपछि सुनसरी मोरङ औद्योगिक कोरिडोरका उद्योगहरूमा मजदूर काममा आउनै छाडेको उद्योगीहरू बताउँछन् । एकातिर कोरोनाको त्रास छ भने अर्काेतिर मजदूर उद्योगमा काम गर्न नआउँदा उद्योगको उत्पादन प्रभावित भएको छ ।

अत्यावश्यकीय उद्योगमा समेत कडाइ
करीब १ महीनादेखि बारा र पर्सा जिल्ला निषेधाज्ञामा छ । वीरगञ्ज कोरोनाको केन्द्रबिन्दु बनेपछि सबैभन्दा पहिला यो कोरिडोर प्रभावित भयो । कोरिडोरका १ दर्जनभन्दा बढी उद्योगमा संक्रमित फेला परेपछि प्रशासनले उद्योग क्षेत्रमा कडाइ गरेको छ ।

यसअघि ४ महीना लामो बन्दाबन्दीका क्रममा सरकारले अत्यावश्यकीय उद्योग चल्न दिएको थियो । अहिले प्रहरी प्रशासनले त्यस्ता उद्योगमा समेत कडाइ गरेको उद्योगीहरूले बताएका छन् । ‘अत्यावश्यकीय सूचीमा राखिएका उद्योगसमेत क्षमतामा चल्न पाएका छैनन् । कच्चा पदार्थ र कामदार पुर्‍याउन कठिनाइ भइरहेको छ । उत्पादन भइहाले पनि बजार छैन,’ गुप्ताले भने ।

उत्पादन क्षमता प्रभावित
बन्दाबन्दी हटेपछि क्षमताको ७० देखि ८० प्रतिशतसम्म चल्न थालेका उद्योगहरू अहिले २५ प्रतिशतभन्दा पनि तल झरिसकेको नेपाल चामल तेल दाल संघका अध्यक्षसमेत रहेका गुप्ताले बताए ।

बन्दाबन्दीमा पूर्ण क्षमतामा चलेका औषधि उद्योगहरू अहिले २५ देखि ३० प्रतिशतमा सीमित भएको उद्योगीहरूले बताएका छन् । ‘कच्चा पदार्थको आपूर्तिमा अवरोध र उद्योगसम्म कामदार लैजान नसक्दा उत्पादन घटेको क्वेस्ट फर्मास्युटिकल्सका सञ्चालक पृथ्वीराज राजभण्डारीले बताए । निषेधाज्ञालगत्तै २ हप्ता बन्द भएको यो उद्योगले त्यसयता आधा कर्मचारी राखेर उत्पादन थालेको छ ।

संक्रमित बढ्न थालेपछि उद्योगमै आवासको व्यवस्था मिलाएर उद्योग चलाउन भनिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए । तर, उद्योगीहरू अधिकांश उद्योगमा मजदूरलाई भित्रै राखेर चलाउने पूर्वाधार नभएको बताउँछन् ।

‘निषेधाज्ञाका कारण भन्सार, ढुवानी र बैंकजस्ता सरोकारका पक्ष पनि प्रभावित भएकाले उद्योगको उत्पादन घटेको छ,’ उद्योगी हरि गौतमले आर्थिक अभियानलाई बताए । भन्सारलाई अत्यावश्यकीय सेवामा राखिए पनि भन्सारका एजेन्टले आलोपालो काम गरेकाले कच्चा पदार्थको आपूर्तिमा समस्या भएको उनको भनाइ छ ।

विराटनगरमा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएपछि तथा संक्रमण समुदाय स्तरमा पैmलन थाल्यो भन्दै महानगरको सिफारिशमा जिल्ला प्रशासन कार्यालय, मोरङले २ साताको बन्दाबन्दी सकिन नपाउँदै निषेधाज्ञा जारी गरेपछि अहिले कोरिडोरका उद्योगहरू प्रभावित छन् । सर्वसाधारणलाई हिँडडुलमा समेत प्रतिबन्ध लगाइएपछि मजदूरसमेत उद्योगसम्म जान पाएनन् । उद्योगका स्थायी मजदूरलाई परिचयपत्र देखाएपछि प्रहरीले छाडे पनि परिचयपत्रविनाका मजदूरलाई प्रहरीले रोकेको थियो ।

तीन साताअघि बूढीगंगा गाउँपालिकामा रहेको आरती स्ट्रीपका २० जनामा कोरोना संक्रमण पुष्टि भएपछि उद्योग शिल गरियो । २ सातापछि निर्मलीकरण गरेर उद्योग खुल्यो तर काम गर्न आउने कामदार घटेका छन् । र, यसले उद्योगको उत्पादन क्षमतमा प्रत्यक्ष असर गरेको छ ।

आरती स्ट्रीपका प्रशासन प्रमुख दिवस नेपालका अनुसार स्वास्थ्य मापदण्ड पालन गरेर अहिले उद्योग सञ्चालनमा आए पनि पहिलेको जस्तो पूर्ण क्षमतामा उद्योग चलेको छैन ।

त्यस्तै, मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाका अनुसार ४ महीनापछि बन्दाबन्दी हटे पनि बजारमा माग नसुध्रिएका कारण उद्योगहरूले उत्पादनमा कटौती गर्नुपरेको हो ।

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले चारमहीने बन्दाबन्दीले थला परेका उद्योगहरू पछिल्लो निषेधाज्ञाले थप समस्यामा परेको बताउँछन् । उनका अनुसार उत्पादन कटौती भएपछि उद्योगमा काम गर्ने मजदूरको रोजगारीसमेत कटौती भइरहेको छ । सुनसरी मोरङ औद्योगिक कोरिडोरमा रहेका सबैखाले ५०० उद्योगमा कार्यरत ५० हजार मजदूरमा १५ प्रतिशतले रोजगारी गुमाइसकेका छन् ।

उद्योग सञ्चालनको वातावरण बनाइओस्
बारा र पर्साका उद्योगीले कोरिडोरका उद्योगमा नमूना पीसीआर परीक्षण गरेर उद्योगको जोखिम वर्गीकरण गर्न सुझाएका थिए । जोखिम मूल्यांकन गरेर उद्योग सञ्चालनको वातावरण बनाउज सकिने उनीहरूको भनाइ छ । तर, संक्रमित भेटिएका उद्योगमा मात्रै परीक्षण भइरहेको छ ।

निषेधाज्ञा मात्रै अन्तिम विकल्प नभएको बताउँदै उद्योग संगठन मोरङका घिमिरे सरकारले कोरोना नियन्त्रणका अन्य उपाय पनि अपनाउनुपर्ने बताउँछन् । निषेधाज्ञाको अवधिमा सरकारले क्वारेन्टाइन, आइसोलेशन र अस्पतालहरूमा सुविधा बढाउनुपर्नेमा त्यो काम नगरेको आरोप घिमिरेको छ । विराटनगर महानगरपालिकामा लगाइएको निषेधाज्ञा उद्योगी, व्यापारी र व्यवसायीलाई धराशयी बनाउनु मात्र गरिएको आरोप विराट व्यापार संघका अध्यक्ष सुजन थापाले लगाए । ‘कोरोना संक्रमणको चेन ब्रेक गर्न हामीले २ साता बन्द गर्न सहमति जनायौं । तर, अहिले बजारमा उत्तिकै भीड छ, निषेधाज्ञा हो कि होइन भन्ने छुट्ट्याउन सकिँदैन,’ उनले भने । स्थानीय प्रशासनबाट समेत सतर्कताका लागि प्रभावकारी काम नहुँदा समुदायमा संक्रमण फैलन पुगेको उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)