ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अत्यावश्यक ई–कमर्श सेवामा प्रहरीको अवरोध

ई–कमर्श सञ्चालकलाई कार्यालयबाटै पक्राउ

२०७७ भदौ, १२  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar काशीराम बजगाईं

काठमाडौं । खाद्यान्नलगायत अत्यावश्यक वस्तुको अनलाइन डेलिभरी गर्दै आएका ई–कमर्श कम्पनीको सेवामा विहीबार प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले ई–कमर्श व्यवसाय सञ्चालन गरिरहेका कम्पनीका केही सञ्चालक तथा कर्मचारीलाई पक्राउ समेत गरेको छ ।

ई–कमर्श सञ्चालकहरूलाई निषेधाज्ञा अवधिभर यस्तो सेवा सञ्चालन नगर्ने शर्तसहित बेलुका छाडिएको थियो ।

यी कम्पनीका सञ्चालकलाई कार्यालयमा गएर तथा कर्मचारीलाई सामान आपूर्ति गर्न जाँदा बाटोबाटै पक्राउ गरेको थियो । बिहीवार काठमाडौंका विभिन्न स्थानबाट खटिएको प्रहरी टोलीले ई–कमर्श कम्पनीका ६५ जना कर्मचारीलाई पक्राउ गरेको थियो ।

बिहीवार दिनभर फुडमाण्डु, फुडमारियो, भोजडिल, सोचेको, युजी केक, पठाओ लगायत विभिन्न कम्पनीका कर्मचारी पक्राउ परे । निषेधाज्ञामा औषधि, खाद्यान्न, इन्धन, ग्याँस, तरकारी, फलपूmल लगायत अत्यावश्यक सेवा सञ्चालन गर्न दिने निर्णय भए पनि प्रहरीले अत्यावश्यक सामग्री डेलिभरी गर्ने कम्पनीका सञ्चालक तथा कर्मचारीलाई पक्राउ गरेको आरोप ई–कमर्श  सञ्चालक कम्पनीहरूको छ । नेपाल ई–कमर्श अनलाइन डेलिभरी सेवा सञ्चालकको साझा फोरमले बिहीवार साँझ विज्ञप्ति निकाल्दै निषेधाज्ञामा उपत्यकाका तीन जिल्ला अधिकारीले जारी गरेको आदेशको बुँदा नम्बर २, ३ र ६ का विपरीत ई–कमर्श कम्पनीलाई कारबाही गरिएकोमा आपत्ति व्यक्त गरेको छ ।

युजी केककी सञ्चालिका निकिता आचार्यका अनुसार उनलाई उनकै कार्यालयमा बेलुका ५ बजे पक्राउ गरिएको थियो । तीनकुनेस्थित प्रहरी कार्यालयका प्रहरीले उनलाई पक्राउ गरी तिनकुने चौकीमा पुर्‍याएको थियो । आफू र आफ्ना कर्मचारीलाई समातिएको आचार्यले बताइन् ।

त्यस्तै, फुडमाण्डुका सञ्चालक मनोहर अधिकारीले खानाको डेलिभरी गरिरहेका आफ्ना सातजना चालकलाई पक्राउ गरिएको जानकारी दिए । ‘खाद्यान्न डेलिभरीमा गएका चालकलाई पक्राउ गरी हामीलाई प्रहरी कार्यालयमा बोलाइएको थियो । यो सेवा सञ्चालन नगर्न चेतावनीसहित छाडिएको छ,’ उनले बताए ।

सोचेकोका सञ्चालक शैलेश लोहनीले बिहान ९ बजेपछि यस्तो सेवा निषेधित गरिएकाले पक्राउ गरिएको जानकारी प्रहरीले दिएको बताए । ९ बजेसम्मका लागि मात्र सेवा सञ्चालन गर्न पाइने निर्णय भएकाले सो समयपछि सेवा सञ्चालन नगर्न आपूmहरूलाई भनिएको उनले बताए ।

बुधवारदेखि थप गरेको निषेधाज्ञामा अत्यावश्यक बाहेकका सेवा बन्द गरिए पनि यी कम्पनीले अत्यावश्यक बाहेकको सेवा सञ्चालन गरेको थाहा पाएपछि चेतावनी दिएर छाडिएको प्रहरीले बताएको छ । पक्राउपछि कम्पनीका सञ्चालकलाई फोन गरेर प्रहरी कार्यालयमा बोलाएर निषेधाज्ञा अवधिभर पुनः यस्तो सेवा सञ्चालन नगर्ने शर्तसहित छाडिएको प्रहरी प्रवक्ता सोमेन्द्र सिंह ठाकुरले बताए ।

प्रहरीले भने अत्यावश्यक भन्दा बाहिरका सामान डेलिभरी गर्ने कम्पनीलाई कारबाही गरिएको बताएको छ । ‘पिज्जा, मोमो, केक, मद्यान्नजन्य सामग्री लगायत डेलिभरी गर्ने चालकलाई कारबाही गरिएको हो, यी अत्याश्यक सेवाभित्र पर्र्दैनन्,’ प्रहरी प्रवक्ता ठाकुरले बताए । खाद्यान्न, औषधिजन्य सामग्री लगायतको सेवालाई कारबाही नगरिएको दाबी उनले गरे । ‘भोलिदेखि यस्तो सेवा सञ्चालन नगर्ने शर्तमा एकपटकका लागि सम्बन्धित सबै चालक र कम्पनीका सञ्चालकलाई छाडिएको छ,’ उनले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

Keshav NS Adhikari

[Aug 28, 2020 07:28am]

डिजिटल नेपालको भाषण गर्नेहरुको रुझान - जनतालाई घरघरमा कोचेर भोकै मार्ने अभियान



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)